रुकुमपश्चिम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–३ ले विवाहमा दिइने निमन्त्रणा कार्डमा बेहुला–बेहुलीको जन्ममिति अनिवार्य रूपमा लेख्नुपर्ने नियम बनाएको छ । वडा कार्यालयले बाल विवाहविरुद्धको कानुन कार्यान्वयनको क्रममा यस्तो कार्य गर्न थालेको सूचनामार्फत जानकारी गराएको हो ।
वडाध्यक्ष केशरमान विकले वडा क्षेत्रमा हुने विवाहको निमन्त्रणा पत्रलाई बाल विवाह, मदिरा र सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि प्रयोग गर्न थालिएको जानकारी दिए । उनले विवाहमा निमन्त्रणा गरिने कार्डमा अनिवार्य रूपमा बेहुला बेहुलीको जन्मदर्ता उल्लेख गरिनुपर्ने बताए । यसका साथै निमन्त्रणा कार्डमा नै विवाह गर्ने घरमा मदिरा र सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने, नगराउने प्रतिबद्धतासमेत उल्लेख हुनुपर्ने वडाध्यक्ष विकले जनाए ।
यस वडामा मदिरा र सुर्तीजन्य पदार्थ निषेध गरिएको छ । वडा अध्यक्ष विकले २०७५ मंसिर २५ गतेदेखि वडामा मदिराजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको र २०७९ मंसिर ५ गतेदेखि सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवनमा रोक लगाइएको जानकारी दिए ।
वडा सरकार बाल विवाहविरुद्धको कानुनी व्यवस्था कार्यान्वयनतर्फ कडाइका साथ लागेको र यसका लागि विवाहको निमन्त्रणा कार्डलाई पनि उपयोग गर्न खोजिएको वडाध्यक्ष विकको भनाइ छ । विवाहको कार्डमा नै यस्तो खबर पठाइएमा बालविवाह नियन्त्रण हुने र सार्वजनिक स्थान तथा समारोहमा मदिरा तथा सुर्तीजन्य पदार्थको प्रयोग बन्द हुने वडा कार्यालयको विश्वास छ । यसअघि वडाले बाल विवाहविरुद्ध अन्तरक्रिया, सचेतना र गाउँमा हुने केही बाल विवाहलाई रोक्ने काम गरेको छ ।
यसैगरी आठबिसकोट नगरपालिका–१४ ले पनि मदिराजन्य पदार्थ नियन्त्रणमा लागेको जनाएको छ । वडाध्यक्ष प्रेम पुनका अनुसार वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था लगायतका सार्वजनिक क्षेत्र वरिपरि मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइएको छ ।
उनले सार्वजनिक क्षेत्रको पाँच सय मिटर क्षेत्रभित्र मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको जनाए । यस सूचनाको बेवास्ता गरिएमा नगरपालिकाको मदिरा नियन्त्रणसम्बन्धी कार्यविधि, २०७५ अनुसार कारबाही हुनेसमेत वडा कार्यालयले जनाएको छ । सार्वजनिक क्षेत्रमा मदिरा सेवनका कारण होहल्ला हुने गरेको, शान्ति सुरक्षामा खलल पार्ने गतिविधि हुने गरेकोले वडाले यस्तो निर्णय गरेको हो ।
प्रतिक्रिया