काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा अध्यक्षमा उम्मेद्वारी दिने औपचारिक निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा माओवादीका तर्फबाट उम्मेद्वारी दिने निर्णय गरेको हो । राष्ट्रिय सभा अध्यक्षमा उम्मेद्वारी दिने निर्णयले गठबन्धनमा कुनै असर नपर्ने माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । यसपटक राष्ट्रिय सभाका अध्यक्षमा उम्मेद्वारी दिने औपचारिक निर्णय गर्ने यो नै पहिलो पार्टी बनेको छ । अरू पार्टीले औपचारिक रूपमा निर्णय गरेका छैनन् ।
सापकोटाले कांग्रेस महासमिति बैठकको निर्णयबारे बैठकमा छलफल भएको भन्दै आगामी निर्वाचनमा गठबन्धन नगरी एक्लै लड्ने पनि निर्णय यसअघि नै गरिएको उनले बताए । गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन विषय भएको उनको भनाइ छ । बैठकले १ चैतमा गर्ने भनिएको मधेस–तराई राष्ट्रिय जागरण अभियान १५ चैतदेखि र हिमाल पहाड मधेस राष्ट्रिय अभियान १५ वैशाखदेखि गर्ने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।
स्थायी समितिको जारी बैठक र त्यो भन्दा अघि पनि नेकपा माओवादी केन्द्रका नेताहरूले राष्ट्रिय सभा अध्यक्ष नछोड्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि दबाब दिँदै आएका थिए । सो अनुसार बुधबार सो पार्टीले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेद्वारी दिने औपचारिक निर्णय गरेको हो ।
आगामी फागुन २९ गते तय भएको चुनाव आउन १३ दिन बाँकी हुँदा सो पार्टीले यस्तो निर्णय गरेको हो । ‘अध्यक्षलाई साथीहरूले खबरदारी गर्नुभयो’, माओवादी सचिव दीनानाथ शर्माले भने, ‘हाम्रो अध्यक्ष एकदमै दिलदार हुनुहुन्छ । उहाँको उदारपन फेरि देखिनुभएन ।’
राष्ट्रिय सभाका सदस्यको निर्वाचनअघि सत्ता गठबन्धनमा अध्यक्षको पद कांग्रेसलाई दिनुपर्ने समझदारी भएको भनिएको थियो । तर, कोशी प्रदेशमा राष्ट्रिय सभाका उम्मेद्वारमध्ये माओवादीकी चम्पादेवी कार्की पराजित भएपछि माओवादीले कांग्रेसमाथि औँला उठाउँदै आएको छ ।
कोशीमा सरकार बनाउँदा नै कांग्रेससँग बिच्किएको माओवादी राष्ट्रिय सभाको निर्वाचनमा थप सशंकित भएको थियो । अहिले उसले संवैधानिक परिषद्मा भोलि उपस्थितिविहीन हुन सक्ने सम्भावनालाई देखाएर राष्ट्रिय सभा अध्यक्षका लागि अडान राख्नुपर्ने बहसलाई मध्यनजर गरेर यस्तो निर्णय गरेको पार्टीका नेताहरूले बताएका छन् ।
कांग्रेसको हालै सकिएको महासमिति बैठकमा प्रस्तुत दस्तावेज र केही निर्णयले पनि माओवादीलाई सतर्क बन्नुपर्ने ठाउँमा पु¥याएको नेताहरूको भनाइ छ । गठबन्धनका दुबै दलबीच केही समयदेखि बिस्तारै चिसो पस्दै आएको छ । ललितपुरको गोदावरीमा सम्पन्न कांग्रेसको महासमिति बैठकमा महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत सांगठनिक प्रस्तावले माओवादीलाई थप तरंगित बनाएको थियो ।
आगामी चुनावमा कुनै दलसँग पनि गठबन्धन नगर्ने, रुख चिन्हमै मत हाल्न दिने थापाको प्रस्ताव केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने गरी सर्वसम्मतिले पारित भएको घोषणा महासमितिबाट गरिएको थियो । सो अनुसार कांग्रेसको निर्णयलाई काउन्टर दिँदै माओवादीले पनि आगामी चुनाव एक्लै लड्ने निर्णय गरेको नेताहरूले बताएका छन् । यस्तै, कांग्रेसको महासमिति बैठकस्थल बाहिरपट्टि हिन्दूराष्ट्रको माग गर्दै हस्ताक्षर संकलन भएको थियो । जसमा केन्द्रीय सदस्य शशांक कोइरालासहित १२ सयले हस्ताक्षर गरेका छन् । यसले माओवादी नेताहरू थप झस्किएका छन् ।
स्थायी समिति सदस्य ओनसरी घर्तीका अनुसार बैठकमा गम्भीर रूपमा कांग्रेसको निर्णयको भित्री आशय प्रष्ट पार्न नेतृत्वको ध्यानाकर्षण भएको छ ।
माओवादी जनयुद्धलाई ‘ध्वंसात्मक घटना’ भनेर कांग्रेसका केही नेताको अभिव्यक्ति स्वभाविक नभएको कुरा पनि बैठकमा उठेको उनले बताइन् ।
‘संविधानविरुद्ध धावा बोल्ने गरी कांग्रेसले निर्णय गरेको छ, यसले गठबन्धनको सहमति र सहकार्य ब्रेक गर्ने काम ग¥यो’, घर्तीले भनिन्, ‘२०६३ सालमै माओवादीको जनयुद्ध स्वीकार गरेर कांग्रेसले माओवादीसँग सहकार्य गरेको होइन ? त्यसबेला जनयुद्ध मान्ने, अहिले नमान्ने हुन्छ ? यसले कांग्रेसले निहुँ खोजेको देखियो, यसबारे प्रष्ट धारणा आउनुपर्छ ।’
स्थायी समिति सदस्यहरूले कांग्रेसका पछिल्ला गतिविधिबाट सतर्क रहन प्रचण्डको बारम्बार ध्यानाकर्षण गराएका थिए । ५९ सदस्यीय राष्ट्रिय सभामा १८ सांसद रहेको माओवादी पहिलो दल हो । त्यही भएर पनि माओवादी नेताहरू अध्यक्ष पाउनुपर्ने बताइरहेका छन् । नेपाली कांग्रेसका नेताहरू भने यसअघि नै राष्ट्रिय सभाको अध्यक्ष पाउने समझदारी भइसकेकाले तलमाथि गर्न नहुने तर्क गर्छन् ।
यतिसम्म कि कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने गरी राष्ट्रिय सभा सदस्यको उम्मेद्वार बनाइएको उनीहरूको दाबी छ ।
गठबन्धनका प्रमुख दल कांग्रेस र माओवादी केन्द्र दुवैले राष्ट्रिय सभाको अध्यक्ष दाबी गरेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले दुई खालका रणनीति अपनाएको देखिन्छ ।
पहिलो, गठबन्धन टुटाउने उपयुक्त अवसरलाई उपयोग गर्ने, अर्थात् ढोक्सा थाप्ने । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका शेखर कोइराला पक्षीय नेता केदार कार्कीलाई समर्थन गरेर एमालेले ‘ढोक्सा’ थापेको थियो । यद्यपि, गठबन्धन फुटाउने त्यो योजना त्यसै घटनाबाट सफल हुन सकेन । गठबन्धन दलले कार्कीलाई नै समर्थन गरेपछि एमाले कोशी सरकारबाट बाहिरिसकेको छ ।
यसपटक एमालेले माओवादी वा कांग्रेस कुनै दलका उम्मेद्वारलाई मत दिने सम्भावना छ । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्ला दिन भइरहेको भेटले ‘मिल्न सक्ने बाटो’को खोजी भइरहेको देखिन्छ । माओवादी–एमाले मात्र मिल्दैमा राष्ट्रिय सभा अध्यक्ष चुनाव जित्न भने सम्भव छैन । राष्ट्रिय सभा अध्यक्ष जित्न कम्तीमा ३० मत ल्याउनुपर्छ । माओवादीका १८ र एमालेका १० सांसद छन् । नपुग्ने मत जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादीलगायतलाई मिलाउनुपर्छ । एमाले अध्यक्ष ओलीसँग एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मिल्न तयार हुने सम्भावना क्षीण छ । यस्तो बेला उपेन्द्र यादव नेतृत्वको जसपाको साथ लिन सकिने एमाले विश्लेषण छ ।
प्रतिक्रिया