दुग्ध उत्पादक सहकारी संस्थाले बुझाए १० बुँदे ज्ञापनपत्र

गौर । दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड रौतहटले १० बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।
जिल्लाका दूध उत्पादक किसानहरूले उत्पादन गरेको दूध विभिन्न सहकारी संस्थामार्फत संकलन गरी दुग्ध विकास संस्थानअन्तर्गत बिक्री वितरण गर्दै आएकोमा ६ महिनादेखि भुक्तानी नदिएको भन्दै दुग्ध उत्पादक सहकारी संस्था चन्द्रपुरले जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाएको हो ।

सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद अधिकारीको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको छ । बुझाइएको ज्ञापनपत्रमा नेपाल सरकारद्वारा तोकिएको मूल्यभन्दा कम मूल्य आफूखुसी तोक्ने गरेको, नियमित रूपमा दूध खरिद गर्नुपर्नेमा सो नगरेको, ६ महिनादेखि बाँकीरहेको नौ करोड रुपैयाँ भुक्तानी नदिएको आरोप लगाइएको छ ।

नेपाल सरकारसँग गएको मंसिर २६ मा भएको सहमति सम्झौता कार्यान्वयन नभएकोले ध्यानाकर्षण गराउनका लागि ज्ञापनपत्र बुझाइएको अध्यक्ष अधिकारीले बताए ।

१० बुँदा माग राख्दै बुझाइएको ज्ञापनपत्रमा दुग्ध किसानहरूको स्वामित्वमा रहेको दुग्ध विकास सस्थान अन्तर्गत हेटाँैडा दुग्ध वितरण आयोजना लगायतका अन्य निजी डेरी उद्योगहरूले विगत ६ महिनादेखि रोकेको नौ करोडभन्दा बढी रकम शीघ्र भुक्तानी हुनुपर्ने, बहाना बनाएर आफूखुसी तोकिएको मूल्य तुरन्त खारेज गरी नेपाल सरकारले तोकेको मूल्य कायम गर्नुपर्ने, किसानले घोषित तथा अघोषित रूपमा भोगिरहेको मिल्क होली डे बन्द गरिनुपर्ने उल्लेख गरिएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार २०८० साउनदेखि पुस मसान्तसम्म १ अर्ब ४३ करोड ८९ लाख २३ हजारको दुग्धजन्य पदार्थ आयात भएकोमा सो बन्द गराई स्टकमा रहेको दुग्धजन्य पदार्थलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने व्यवस्था गर्नुपर्ने, किसानको लागत मूल्य घटाउन सबै पालिकामा किसानले पाउने गरी दूध लिटरमा अनुदान १० रुपैयाँ लागू गर्ने, पशु आहार, पशु औषधिसहित सम्बन्धित बस्तुको मूल्य राज्यले अविलम्ब नियन्त्रण गरिनुपर्ने सहितका १० सूत्रीय माग रहेको छ ।

माग पूरा नभएमा दूध उत्पादक किसानहरूले आन्दोलन गर्ने चेतावनीसमेत ज्ञापनपत्रमा उल्लेख छ ।

प्रतिक्रिया