जनकपुरधाममा इन्टर कलेज क्रिकेट प्रतियोगिता हुने

धनुषा । जनकपुरधाममा यही फागुन १९ गतेदेखि दोस्रो इन्टर कलेज क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । खेलाडी उत्पादन गर्ने उद्देश्यले आगामी शनिबारदेखि दोस्रो इन्टर कलेज क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेको न्यू भिजन नेपालका अध्यक्ष अम्भुप्रसाद साहले बताए । प्रतियोगिता न्यू भिजन नेपाल र जनकपुर स्पोर्टस क्लबको आयोजनामा हुन लागेको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दे अध्यक्ष साहले धनुषाबाट दीपक गुप्ता, अनिल मण्डल र हरिशंकर साहपछि कोही राष्ट्रिय क्रिकेट टिममा नपरेकाले क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागेको बताए ।

टी–२० फम्र्याटमा हुने प्रतियोगितामा विभिन्न १६ वटा कलेजले भाग लिने र त्यसमा २३ वर्षभन्दा कम उमेरका खेलाडी रहने साहले बताए । साहका अनुसार विभिन्न १६ वटा टिमलाई चार वटा भागमा विभाजन गरेर लिग म्याच हुने र त्यसपछि क्वाटरफाइनल, सेमिफाइनल र फाइनल हुनेछ । प्रतियोगितामा करिब नौ लाख खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया