सहिद रत्न बान्तावाको किन अपमान ?

सहिदहरू रामनाथ दाहाल, रन्तकुमार बान्तवा, ऋषि देवकोटा वा आजाद लगायतहरू नेपालको आमूल परिवर्तन गर्ने उद्देश्य लिई शहादत भएका हुन् । उनीहरूको एउटै र महान् उद्देश्य देश र जनताको हित थियो । चुनावमा जितेर सांसद मन्त्री र प्रधानमन्त्री बन्ने र निजी सुखसयल र सुखभोग गर्ने उद्देश्य तिनको थिएन । उनीहरू अरू सहिदभन्दा पनि महान् उद्देश्यका लागि समर्पित भएका थिए । नेकपा माले र एमालेको उद्देश्य निःश्वार्थ रूपमा देश र जनताको सेवामा समर्पित हुनुपर्छ भन्ने नै मूल अभिप्राय थियो र हो ।

मिथिला पोखरेल

सहिद दिवस पनि विभिन्न अवस्था र अवसरमा मनाइन्छ । प्रजातन्त्र, लोकतन्त्र, मानव र मौलिक अधिकार र गणतन्त्र प्राप्तिका लागि ज्यूज्यान अर्पण गरेको होनाहार नेपाली सुपूत र सुपुत्रीका स्मृतिमा सहिद दिवस मनाउने गरिन्छ । यसको अर्थ सहिदको त्याग र समर्पणलाई औपचारिक रूपमा स्मरण गरेर मात्र हुन्न । उनीहरूको त्याग, समर्पण र आदर्श व्यवहारमा हुबुहु लागू पर्ने संकल्प पनि गर्नुपर्छ । तर, यस्तो विषय बोलीमा मात्र हुँदा राजनीति र नेतामा विकृति बढेको हो । यस विषयमा हाम्रा घरमा हामीले सानो छलफल ग¥यौँ । यस अवसरमा हाम्रा नाति अमन भट्टराई पनि नेपाल घुम्न आएका बेला परेको छ । उनलाई पनि नेपालका सकारात्मक पक्षहरू बताउने र उनी जस्ता युवालाई नेपाल आउन उत्साहित गर्ने खालका गतिविधि पनि हामी गरिरहेका छौँ ।

कतिपय नेता घरमा राजनीतिक कुरा नगर्ने भन्ने पनि सुनेकी थिएँ तर हाम्रा घरमा बेलाबेला विभिन्न विषयमा कुराकानी र छलफल हुने गर्छ । सुरुसुरुमा डा. पोखरेलले नै यस्ता बहस र छलफल घरबाटै सुरु गर्नुपर्छ भनेर सुरु गरेको तर यसमा म आफैँ पनि बानी परेँ । किनभने कहीँ न कहीँ कतै न कतै समाजमा, समूहमा र कार्यक्रममा बोल्नु पर्दा यस्ता घरायसी छलफलले पनि ठूलो सहयोग गर्दो रहेछ । नेता भएर र सभासद भएर मात्र हुँदो रहेनछ । त्यसको गरिमा पनि थाम्न सक्ने हुँदा मात्र पार्टीको प्रभाव बढ्छ, नेता र अगुवा कार्यकर्ताका चरित्र, चिन्तन र व्यवहारले नै जनमत बढाउन सकिन्छ नत्र जो अगुवा उसैमा खराब आचरण र व्यवहार भयो भने प्राप्त जनमत ह्वात्तै घट्छ । अहिले भएको त्यही हो । त्यसैले हामी सबै खालका विभिन्न विषयका बारेमा छलफल गर्छौं । यस्ता विषयमा सामान्य जानकारी हुँदा र कहीँ बोल्नु पर्दा आफ्नै र पार्टीको पनि आबरु राख्न सकिन्छ । अझ घरमा नै जान्ने बुझ्ने मानिस वा गार्जियन हुँदा सरर्र सुनेकै भरमा पनि धेरै कुरा जानिँदो रहेछ ।

हालै अनेम संघ केन्द्रले संघमा युवा महिलाहरूलाई धेरै मात्रामा आबद्ध गर्ने सदस्यता वितरण गर्ने र विभिन्न समितिमा संगठित गर्ने निर्णय गरेको थाहा भयो । तर युवा महिला हुनुभन्दा अघि तिनीहरू बालबालिका थिए । तिनलाई रचनात्मक बनाउन हामीले विभिन्न माध्यमबाट काम सुरु गरे ती सिर्जनात्मक हुने थिए । तिनलाई जनवादी देशभक्त लोकतान्त्रिक भावका कविता, गीत, भाषण कला र मुनाजस्ता बाल पत्रिका पढ्न उत्प्रेरित गरे ती सबै हाम्रा नजिक हुन्थे । तिनलाई सिधै पार्टीगत कुरा सिकाउनु त हुँदैन तर तिनलाई असल, इमानदार, समाजसेवा भावनातिर लगाउनसके ती सबका सब हाम्रा काम र गतिविधिबाट नजिक हुन्थे । झुलाघाट चिवाभन्ज्याङ यात्रामा कतिपय नेतृले बालबालिकासित सेल्फी खिचाएको पनि देखियो तर तिनलाईं प्रसिद्ध गीतकार गायक रामेशका एकाध गीत वा गीतका लाइन सुनाइदिएको भए ती धेरै प्रभावित हुन्थे । हामी त ब्याड नलगाई र नर्सरी नबनाई एक्कैचोटि लहलह बाली लगाउन, फलाउन र घरमा भित्र्याउन चाहन्छौँ । भुइँ छाडेर आकासतिर आँखा लगाउँछौँ । यस्ता कुरा इटहरीको एउटा स्कुलको सञ्चालक समितिको उपाध्यक्ष भएकाले मैले थाहा पाएकी हुँ । मान्छे बनाउने हो भने बालख कालदेखि नै लागि पर्नुपर्छ । काँचो माटोलाई जस्तो आकार दियो त्यस्तै बन्छ । हामी जस्ताले भनेको कस्ले पो सुन्छ र ? काम कसरी कहाँबाट उठाउँदा प्रभावकारी हुन्छ भन्ने जान्दा काम सजिलै छ जस्तो लाग्छ ।

सहिदका बारेमा पनि राम्ररी छलफल गर्दा वास्तविकता थाहा हुन्छ । सहिदहरू रामनाथ दाहाल, रन्तकुमार वान्तवा, ऋषि देवकोटा वा आजाद लगायतहरू नेपालको आमूल परिवर्तन गर्ने उद्देश्य लिई शहादत भएका हुन् । उनीहरूको एउटै र महान् उद्देश्य देश र जनताको हित थियो । चुनावमा जितेर सांसद मन्त्री र प्रधानमन्त्री बन्ने र निजी सुखसयल र सुखभोग गर्ने उद्देश्य तिनको थिएन । उनीहरू अरू सहिदभन्दा पनि महान् उद्देश्यका लागि समर्पित भएका थिए । नेकपा माले र एमालेको उद्देश्य निःस्वार्थ रूपमा देश र जनताको सेवामा समर्पित हुनुपर्छ भन्ने नै मूल अभिप्राय थियो र हो । तर पार्टीको महानतम उद्देश्यअनुसार हामी सबै परिचालित नहुँदा समस्या उत्पन्न भएको हो । नेपालका कुनै पनि पार्टीभन्दा देश र जनताका हितमा इमानदार रूपमा नमुना गरे पनि जबज अनुसार हामी श्रेष्ठ हुन सकिरहेका छैनौँ । त्यसैले गर्दा पार्टीले शुद्धीकरण अभियान सुरु गरेको छ । यसैका लागि हामीले धर्ना अभियान विराटनगरमा गरेका थियौँ । अयोग्यसित आफूलाई तुलना गरेर योग्य छु भनेर हुँदैन । २००७, २०१७, २०३६, २०४६ र २०६२, २०६३ का आन्दोलनमा धेरै नेपाली युवायुवती सहिद भएका छन् ।

आगामी चैत २१ गते सहिद दिवस परेको छ । इलाम जिल्लाको सुखानीमा रत्नकुमार वान्तवासहित नौजवान क्रान्तिकारी देशभक्त प्रगतिशील युवाहरूलाई राजशाही आततायी निरंकुश पञ्चायती व्यवस्थाले क्रूर हत्या गरको थियो । ती सहिदहरूले देश र जनताको भलो साचेर निरंकुश जनघाती सरकारको विरोध गर्नु दोष थियो । ती अमर सहिदलाई सम्झना गरेर वर्षैपिच्छे सहिद दिवस त मनाउँछौँ तर साँच्चै सहिदको त्याग र समर्पणलाई मन, वचन र कर्मले हामी कति लागि रहेका छौँ । यो प्रश्न नेताका सामु राख्न खोजिएको छ, यस लेखमा ।

छातीभरि गोलीका छर्रा लागेर मुखबाट रगत छाद्दै अन्तिम सास फेरिरहेका रत्नकुमार बान्तवाजस्ता सहिदको दर्दनाक दृश्य सम्झना गरिरहने हो हाम्रो चरित्र र चिन्तन धेरै फरक पर्छ । गोली लागेर छियाछिया भएर ढलेको म आर्फैँ र आफ्नै दाजुभाइ हो भनेर सम्झना गर्ने हो भने त्यसले अर्कै प्रभाव पर्छ । पार्टी संस्थापक पुष्पलाल दाजु गंगालालका जीवनका अन्तिम घडीका मार्मिक दर्दनाक दृश्य सम्झेर पार्टी स्थापना गर्दै जीवनभर त्यागमय जीवन जिउनुभयो । सबै सहिदहरूलाई आफ्नै प्रिय पति, पत्नी, भाइ, दाइ र परिवार झैँ भित्री मनबाट स्मरण गर्ने हो भने तिनका सपना साकार पार्न नेताहरू लागि पर्छन् । तर यस खालको जीवन मर्म बोध गर्नुपर्छ । सहिदका श्रीमती र सन्तानहरू, तिनका लालाबालाले जुन पीडा भोगेका छन् । त्यस्तै पीडा बोध गरे पो सभासद् मन्त्री तिनको सपना साकार पार्न मरिमेटेर लागि पर्छन् । आफू नमरी स्वर्गै देखिन्न भनेझैँ बाहिरी मनले भित्री मनको दर्द थाहा हुन्न ।

प्राडा बद्रीविशाल पोखरेलका अनुसार एउटी छोरी जब आफैँ आमा हुन्छे र प्रशव वेदनाको अनुभूति गर्छे तब मात्र आमालाई वास्तवमा चिन्दछे । एउटा छोरो बाबु नभई बाबुको पीडा थाहा पाउँदैन भनेझैँ सहिदको पीडा कि सहिदलाई नै थाहा हुन्छ कि उनकी पत्नी र पति, परिवार र सन्तानलाई थाहा हुन्छ । सहिदको रगतसित साटेर ल्याएको प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र हो भन्ने वास्तविकता थाहा हुनुपर्छ । हामीले पाउने सत्ता, भत्ता, सुविधा र अवसर सबै सबै सहिदका त्याग, बलिदान र रगत मुछिएको छ । कता हो मैले सुनेकी थिएँ जेलनेल र कठोर कारबासमा बसेर बलिदानीपूर्ण संघर्ष गरेर सत्ता परिवर्तन गरेर र सरकारमा पुगिन्छ । अनि यसको माद लाग्छ । यस्ता अवस्थामा तिनै पुरानै कालकोठरीमा भोगेका ती दिनहरू सम्झँदा र त्यस खालका कालकोठरीमा अहिले पनि एक–दुई दिन बस्ता विगतको बलिदान सम्झेर नेताको व्यवहारमा परिवर्तन ल्याउन सकिन्छ । एमाले अरू पार्टीहरूजस्तो सहिदको सपनालाई भजाएर देश र जनताविरुद्ध ब्रम्हलुट मच्चाउने पार्टी होइन तर अहिले जुन र जस्ता जस्ता बेहोरा देखापरेका छन् । यसलाई बेलैमा कठोरतापूर्वक तह नलगाउने हो भने भविष्य धेरै उज्यालो छैन ।

(लेखक अनेम संघ, केन्द्रीय सल्लाहकार हुन्)

प्रतिक्रिया