महेन्द्रनारायण निधीको १०३औँ जन्मजयन्ती मनाइयो

धनुषा । गान्धीवादी नेता भनेर चिनिने नेपाली कांग्रेसका संस्थापक मध्येका नेता स्व.महेन्द्रनारायण निधीको १०३औँ जन्मजयन्ती उनको गृह सहर जनकपुरधाममा मनाइएको छ । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगर कमिटीको आयोजनामा उनकै नामबाट स्थापित महेन्द्रनारायण निधी मिथिला सांस्कृतिक केन्द्रमा ओयोजित एक समारोहमा वक्ताहरूले नेपाली कांग्रेस आफ्ना अभिभावकको अनुहार मात्र होइन, विचार र सिद्वान्त बिर्संदै जानाले पार्टीको कमजोर भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि कांग्रेसका वयोवृद्व नेतासमेत रहेका मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले भने, ‘म वहाँसँगै जेलमा थिएँ, म भन्थँे पहिला तपार्इं खाना खाइहाल्नोस् बुढो हुनुहुन्छ । वहाँले भन्नुहुन्थ्यो होइन, तिमि जवान युवा पहिला खानुपर्छ शरीरको माग र अझै धेरै लडनु पनि छ, हामी त नखाए पनि हुन्छ ।’ निधिले भनेको कुराको स्मरण गर्दै प्रदेश प्रमुख मिश्रले उहिलेको कांग्रेसमा आपसी माया र सद्भाव रहेको बताउँदै अहिलेको कांग्रेसमा त्यो नरहेकाले पार्टी यस्तो हुँदै गएको बताए ।

आफूलाई अन्य पार्टीबाट धेरै राम्रो अवसरहरू आए पनि जन्मदाताले भनेको पार्टीमै बसेकाले आज प्रदेश प्रमुखको सम्मान पाइरहेको उनले सुनाए । कार्यक्रममा प्रदेश सांसद तथा पूर्वमन्त्री रामसरोज यादवले निधीजी जस्तो सदस्य आफू जिल्ला सभापति हुँदा पाउनु आफ्नो लागि शौभाग्य भएको भन्दै कुनै प्रसंगमा निधी जी जस्ता व्यक्तित्वले पार्टी सभापतिका रूपमा आफूसँग माफीसमेत मागेको बताए । पहिलाको नेतामा अनुशासन, संस्कार र महानता रहेकै कारण आफूभन्दा सानालाई समेत सम्मान गर्ने गरेको स्मरण गराए ।

उनले भने, ‘वहाँको अर्को नाम शीतल निधि पनि थियो । तर वहाँ प्रजातन्त्र विरोधीहरूका लागि दन्किरहेको आगो सरह र अहिंसा मात्र होइन, परी आएका वेला हिंसावादी पनि हुनुहुन्थ्यो ।’ २००७ सालमा जनमुक्ति क्रान्ति हुँदा कांग्रेसको मुक्ति बाहिनी सेनाले वीरगञ्ज, विराटनगर, जनकपुर क्षेत्र कब्जा गरेपछिको यस क्षेत्रको घोषित सरकारका प्रमुखसमेत बनेका निधी प्रजातान्त्रिक आन्दोलनको अगुवा कमान्डर रहेका स्मरण उनले गराए ।

अर्का प्रदेश सांसद कुमरकान्त झाले कांग्रेसका केहीलाई कांग्रेसीले नै हराएर के फाइदा हुन्छ ? भन्ने प्रश्न गरे । स्व.निधी देशको प्रधानमन्त्री बन्नसक्नु भएन त के भयो ? भन्दै उनले कुनै पनि प्रधानमन्त्रीभन्दा कम सम्मान वहाँलाई नरहेको बताए । सो अवसरमा पार्टीका धनुषा सभापति योगेन्द्र पजियारले कार्यक्रममा को कहाँबाट आए मूल्यांकन हुन्छ भन्दै टिकटका लागि मात्र होइन, पार्टीको कार्यक्रममा भावनासहित आउन आग्रह गरेका थिए ।

प्रतिक्रिया