शिशु चोरीका घटना

थापाथलीस्थित प्रसूति अस्पतालबाट २६ दिने शिशु लिएर फरार महिला मनकुमारी सिंह ठकुरीलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । शनिबार प्रहरीले मनकुमारी सहित उनका श्रीमान नरेन्द्र मल्ल र दिदी शारदा शाहीलाई पनि पक्राउ गरेको छ । दैलेख घर भएका उनीहरु काठमाडौंको काँडाघारीमा बस्दै आएका थिए । शुक्रबार मनकुमारी बच्चा चोरी गरी नाटकीय रुपले फरार भएकी थिइन । ‘सीसीटीभी फुटेज’का आधारमा चोरी भएको २४ घण्टा भित्रै अपराधीलाई नियन्त्रण गर्न प्रहरी सफल भएको हो । चोरी गर्ने मनकुमारी सुत्केरीको अभिनय गरेर घरमै बसेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

त्यसैले सुत्केरीको अभिनय गर्न मद्धत पु¥याउने उनका श्रीमान तथा दिदीलाई पनि मतियारको आशंकामा पक्राउ गरिएको हो । आफ्नो कोखबाट सन्तान जन्मने संभावना नरहेकोले शिशु चोरी गरेको प्रारम्भिक बयान मनकुमारीले दिएको प्रहरीले जनाएको छ । तर थप अनुसन्धान हुन भने बाँकी छ । किनकी बच्चा चोरी गरेर विक्रि गर्ने धन्दा तराई क्षेत्रतिर फष्टाउँदै गरेको समाचार आउने गरेका छन् । केही समय अघि यस्तै अभियोगमा विराटनगरका एक जना डाक्टर समेत पक्राउ परेका थिए । कोसी अस्पतालका पूर्वमेसु डा. तपेश्वरलाल कर्णले अविवाहित जोडीबाट जन्मिएका शिशुलाई मोटो रकम लिएर निःसन्तान दम्पतीलाई बेच्ने धन्दा नै गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

बच्चा चोरीका घटना छिमेकी देश भारतमा निकै धेरै हुने गरे पनि नेपालमा भने यस्ता समाचार खासै आउँदैनथे । पाँच वर्ष अघि बुटवलबाट हराएका तीन जना बालक भारतको केरलामा फेला परेपछि नेपालमा पनि यो अपराध भित्रभित्रै फैलिएको आशंका गरियो । कतिपय विद्यालयहरुले सूचना नै जारी गरेर अभिभावकलाई सचेत गराए । तर नेपाल प्रहरीले भने यस्तो अफवाहको पछि नलाग्न आग्रह गर्दै विज्ञाप्ति नै जारी ग¥यो । नागरिकले भरोषा गर्ने भनेको प्रहरी प्रति नै हो । तर विगत पाँच वर्ष यताका समाचार हेर्ने हो भने बच्चा चोरी हुने क्रम बढेको देखिन्छ । उदाहरणका लागि २०७६ असारमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रसूति वार्डबाट १३ दिने नवजात शिशु चोरी भयो । प्रहरी, चिकित्सकको प्रयासमा केही समयपछि धरानका २ महिला बच्चा चोरीको आरोपमा पक्राउ परे भने हराएको बच्चा पनि सशकुल फेला परे । यसैगरी २०७८ माघमा जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने अमीर राइनका सात महिनाका छोरा अख्तर राइनलाई लिएर भाग्दै गर्दा चार जना रंगेहात पक्राउ परेका थिए । २०७९ असारमा जनकपुरधाम उपमहानगरपालिका– ७ भ्रमरपुरा बस्ने हरिओम चौधरीका ४ बर्षीय छोरा सोहनकुमार चोरिए । चोरिएको दुई सातापछि प्रहरीले बच्चासहित एक महिलालाई पक्राउ ग¥यो ।

बच्चाको चोरी विभिन्न उद्देस्यका लागि हुने गरेको छ । फिरौती माग्ने उद्देस्यले बच्चा चोरी हुने घटना पुरानै हुन् । बन्धक बनाएर काममा लगाउने उद्देस्यका लागि बच्चा चोरी हुने गरेका घटना पनि पुरानै हुन् । यस्ता घटना तराईको नेपाल–भारत सीमावर्ती क्षेत्रमा बढी हुने गरेका थिए । तर पछिल्ला बर्षहरुमा सन्तानका रुपमा अपनाउन तथा निसन्तान दम्पत्तिलाई विक्रि गर्नका लागि बच्चा चोरी गर्ने घटना बढेका छन् । बच्चा जन्माउनको दुखले अर्कैका पेटमा बच्चा हुर्काउने र जन्माउने ‘सेरोग्रेसी मदर’को अवधारणा समेत सुरु भइसकेको छ । यो प्रक्रिया अली महंगो र झण्झटिलो भएका कारण अर्काको बच्चा चोरी गर्ने र विक्रि गर्ने अपराध बढेको छ । यस्तो अपराध भोलीका दिनमा अझै बढ्ने संभावना देखिन्छ । राजीखुशीले नै आफ्नो बच्चा विक्रि गर्ने घटनाहरु पनि देखिएका छन् । यस्ता घटनाका विषयमा समाचार आउन पनि सहज छैन । बच्चा चोरीका घटना नियन्त्रणका लागि अस्पतालको सुरक्षा प्रवन्धलाई थप मजबुत बनाउनु जरुरी छ ।

केही वर्ष अघि ललितपुरको पाटन अस्पतालमा उपकरण मर्मत गर्न आउने व्याक्तिको भेषमा आइसियु कक्षमा छिरेका दुई जना अपराधीहरुले २० लाख ७९ हजार ८ सय ७ रुपैयाँमा खरिद गरेको अल्ट्रासाउन्ड मेसिन नै चोरेर लगेका थिए । अपराधीहरु डाक्टर वा नर्सको भेषमा प्रवेश गरेर सहजै बच्चा चोर्न सक्ने अवस्था कतिपय अस्पतालमा छ । अहिले सम्म यस्ता घटना थोरै मात्रै देखिएको हाम्रो सुरक्षा प्रवन्धका कारण भन्दा पनि भगवान भरोषाका कारण हो ।

प्रतिक्रिया