अर्थतन्त्रमा हस्तकलाको भूमिका

देवेन्द्र थुम्केली

आवश्यकताबाट प्रारम्भ भएर जीवनयापनको अभिन्न अंग बनेको हस्तकलाको महत्त्व समाजमा विशेष रहेको छ । यसले मानिसको सौन्दर्यात्मक मूल्यलाई उजागर गर्दै आकर्षक कलात्मक वस्तुको रुप लिन सकेको छ । प्रकृति, पर्यावरण तथा आहारासँगै अस्तित्व रक्षाका निम्ति गरेको संघर्षको प्रतिफलका रुपमा आएको हस्तकला मानव हृदयको ढुकढुकी बन्न पुग्यो । संवेग र आवेगसँगै भावनात्मक अभिव्यक्तिको रुपमा हस्तकलालाई लिन सकिन्छ । हस्तकलाको अभ्यासबाट नै मानिसले आफूलाई सिर्जनशील र कर्मशील बनाउन सक्यो । साथै मौलिक पहिचानको आधार पनि हस्तकलाले लिन सक्यो ।

मानव जीवन र समाजलाई गतिशील र ऊर्जावान् बनाउँदै सभ्य, सु–संस्कृत र समृद्धिको यात्रामा लैजान पनि हस्तकलाले नै उत्प्रेरित गरेको पाइन्छ । हामीले विश्वका प्रायः सभ्यता र वैभवताका इतिहास पढ्दा यो विषय स्पष्ट हुन आउँछ । कलाले नै चेतनशील समाजको आधार खडा गर्दै चलायमान बनाउने, सभ्यताको उजागर गर्ने, चेतना विकासमा सघाउने, सभ्य समुदायको विकासमा योगदान दिँदै आएको छ । मानिसको पहिचानको आधार हस्तकला हो । हस्तकलाको मौलिकतालाई चिन्न र जर्गेना गर्न सकिएन भने त्यसले मानव समुदायको अस्तित्वलाई स्थापित गराउन सक्दैन । इतिहासको अध्ययन गर्दा पनि विश्वमा विकास भएका विविध सभ्यता र तिनको पृष्ठभूमि हेर्दा कलाको भूमिका प्रधान भएर आएको देखिन्छ । विश्वमा विकसित सभ्यतामा हस्तकलाकै विशिष्ट योगदान छ । मेसोपोटामिया, चिनियाँ, इजिप्ट, ग्रीक, रोमन, सिन्धुघाँटी, नेपालीलगायतका सभ्यतालाई त्यहाँ विकास भएका कलाले नै परिचित गराएका हुन् । नेपालमा पनि हस्तकलाको विकास प्राचीनकालदेखि भएको हो । मौलिकपनमा विकसित हस्तकलाले नेपाललाई कला र सभ्यताको देशका रुपमा चिनाउन सकेको छ ।

नेपालमा हस्तकलाको इतिहास निकै पुरानो छ । प्रमाणिक रुपले हेर्दा पनि दुई हजार वर्षअघिदेखि नै यसको विकास हुँदै आएको छ । नेपालका विभिन्न स्थानमा भेटिएका माटाका भाँडाजन्य सामग्रीबाट यसको ऐतिहासिकता निकै पुरानो र मौलिक रहेको पाइन्छ । तिलौराकोट, लुम्बिनी, मुस्ताङ, दाङ, नवलपरासी, सप्तरी, काठमाडौं उपत्यकालगायतका स्थानमा प्राप्त सामग्रीले नेपालको हस्तकलाको ऐतिहासिक पाटोलाई केलाउन सजिलो बनाएको छ । इतिहासको अध्ययन गर्दा नेपाली हस्तकलाले आत्मनिर्भर बनाउन निकै सघाएको देखिन्छ । जीवनयापनका लागि बनाइने सामानमार्फत् नेपाली समाज प्राचीनकालदेखि नै आत्मनिर्भर थियो । किरात, लिच्छवी, मल्ल एवं शाह शासनकालमा नेपाली हस्तकलाले विदेशमा समेत आफ्नो प्रभाव जमाएको देखिन्छ । तिब्बत, चीन, भारत लगायतका देशमा नेपालमा बनेका हस्तकलाका समान पुगेको देखिन्छ ।

हस्तकला माटो सुहाउँदो र पर्यावरणमैत्री आधारमा विकास भएको हुन्छ । साथै धार्मिक, सांस्कृतिक, सामाजिक तथा प्रकृतिमैत्री दृष्टिले समेत यसको विकास हुँदै आएको छ । वास्तवमा वातावरणीय सन्तुलनमा आदिवासी जनजाति ज्ञान र जीवनपद्धति निकै प्रभावकारी रहँदै आएको छ । यसले सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक तथा धार्मिक सन्तुलनसमेत कायम गर्न मद्दत गरेको छ । साथै हस्तकलाले निश्चित भूगोलमा बसेका मानव समुदायको पहिचानलाई चिनाउन समेत मद्दत गरेको छ ।

यस्तै, पछिल्लो समय देशको आर्थिक उन्नतिमा समेत हस्तकलाको योगदान विशिष्ट रहेको छ । तथ्यले पनि नेपालको अर्थतन्त्रमा यसको योगदानलाई अगाडि नै देखाएको छ । हस्तकलाले मौलिकता बचाउँदै रोजगारी सिर्जनासँगै अर्थतन्त्रमा योगदान दिन सफल भएको छ । नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने महत्तवपूर्ण आधारका रुपमा यसलाई लिन सकिन्छ । नेपालको मौलिकतालाई अर्थतन्त्रमा जोड्ने आधारसेतुका रुपमा हस्तकलालाई विकास गरिनु पर्दछ । सिप विकास र नेपाली माटो सुहाउने सिर्जनामार्फत हस्तकलालाई अगाडि बढाउन सके अर्थतन्त्रमा ठुलो प्रभाव रहन्छ । नेपाली हस्तकलाको बजार आन्तरिक र बाह्य नै हो । पर्यटन व्यवसायको विस्तारसँगै हस्तकलाको बजार फराकिलो बन्दै गइरहेको छ । यसलाई अझै व्यवस्थित र प्रभावकारी बनाउनु पर्दछ । केही नीतिगत अस्पष्टताका कारण यसको बजारीकरणमा प्रभाव देखिए पनि सिर्जनशीलतासहितको गुणस्तरीय कला बनाउन सकिए त्यसले नेपाली हस्तकलाको बजार फराकिलो बन्दै जान्छ ।

खासगरी हस्तकलाको बजार भनेको बाह्य नै हो । चीन, जापान, कोरिया, युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायतका देशमा नेपाली हस्तकलाको रुचि बढिरहेको छ । विशेषगरी चीनमा नेपाली हस्तकलाको व्यापार निकै बढेको छ । हस्तकला क्षेत्रको सबैभन्दा ठुलो चुनौती नीतिगत रुपमा रहेको देखिन्छ । कच्चापदार्थको समस्या, व्यवस्थित बजार, दक्ष जनशक्ति, गुणस्तरीय हस्तकलामा ह्रास आउनु, पुराना प्रविधि जोगाउनु, मौलिकताप्रति नयाँपुस्ताको चासो नजानु, नीतिगत रुपमा राज्यको बलियो आधार नहुनु, प्रदर्शनी, प्रतियोगिता, खोज अनुसन्धान तथा पठनपाठन नहुनु लगायतका पक्ष मुख्य चुनौतीका रुपमा रहेका छन् ।

हस्तकलाको सही ढंगले विकास हुन सकेको भए दिनँहु विदेशिनेको लर्को एयरपोर्टमा देखिने थिएन । यसर्थ देशभित्र विकसित रैथाने शिल्पकला र सिपको संरक्षणमा गरिनु पर्ने मुख्य चुनौती हाम्रासामु विद्यमान छ । प्लास्टिकजन्य सामग्रीको बढ्दो प्रयोग, विदेशी प्रविधि र सामानका आयातले समेत हस्तकलाको क्षेत्रमा नराम्ररी प्रभाव पारेको छ । दक्ष कालिगढको अभाव बढ्दै जानु र विदेशी कामदार ल्याउनुपर्ने अवस्था बढ्दै जानु पनि यस क्षेत्रको चुनौती हो । नेपालमा विकास भएका सिप र ज्ञानलाई अभिलेखीकरण गर्न नसक्नु र त्यसको ब्रान्डिङ गर्ने कार्यमा ध्यान नजानु, हस्तकलाको विकासका लागि प्रचार–प्रसारको कमी, व्यवसायीको पलायन लगायत पनि पछिल्लो समय देखिएका चुनौती हुन् । यसैगरी, शिल्पकला र रैथाने ज्ञानलाई पाठ्यक्रमका रुपमा विकास गरी विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म अध्यापन गराउनु पर्ने र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलाउनु पर्ने अर्को महत्त्वपूर्ण चुनौती पनि छ ।

हस्तकला क्षेत्रमा देखिएको अर्को चुनौती मागको आपूर्ति हो । नेपाली हस्तकलाको अन्तर्राष्ट्रिय बजार ठुलो छ । उदाहरणका लागि परम्परागत काष्ठ तथा धातुका मूर्तिहरूको एसिया र विशेष गरी चीनमा ठुलो माग छ । यसर्थ नेपालमा कला, साहित्य, संस्कृतिका क्षेत्रमा सरकारले आवश्यक सहयोग गर्नु पर्दछ । नेपालको मौलिक पहिचानका रुपमा हस्तकलाले बनाएको शैली नै सम्भावनाको प्रमुख आधार हो । यहाँ सयौं किसिमका हस्तकलाका मौलिक सामान पाइन्छन् । तिनको सही ढंगले पहिचान गरी विकास गर्न सकिएकामा त्यसले आन्तरिक तथा बाह्यबजारमा राम्रो प्रभाव जमाउन सक्छन् । रैथाने शिल्पकला र सिपको प्रवर्धन र संरक्षणका लागि विश्व सञ्जाल (ग्लोबल नेटवर्क) बनाउनु पर्दछ । यसले नेपालको हस्तकलालाई विश्वबजारमा लैजान सघाउँ पु¥याउँछ । साथै, अर्थतन्त्रलाई चलायमान बनाउन र रोजगारी दिन ठुलो सहयोग पुर्याइरहे पनि अझ व्यवस्थित ढंगले काम गर्नसकेमा ठुलो संख्यामा राजगारीमा जोडिने र त्यसले अर्थतन्त्रको ठुलो हिस्सा लिन सक्ने देखिन्छ ।

वास्तवमा हस्तकलालाई रोजगारी र अर्थतन्त्रसँग जोडेर लैजानु पर्दछ । सिप भएका कलाकारलाई अझै सशक्तिकरण गर्दै नयाँलाई प्रशिक्षण दिँदै शिल्पज्ञान हस्तान्तरण गर्नु पर्दछ । शिल्पकला शिक्षालाई दिगो विकाससँग जोड्न जरुरी छ । पछिल्लो समय काठमाडौं विश्वविद्यालयले ‘क्राफ्ट एन्ड डिजाइन’ विषय सुरु गरेको छ । यसले नेपालमा विकास भएका ज्ञान र सिपलाई खार्न मद्दत गर्दछ । नेपालमा शिल्पसम्बन्धी विधा परापूर्वकालदेखि नै चलिआए पनि व्यवस्थित ढंगले पाठ्यक्रमका रुपमा काठमाडौं विश्वविद्यालयले अगाडि सारेको छ । नेपाल संसारभरिबाट मौलिक कला संस्कृति हेर्न आउने खुल्ला विश्वविद्यालय भएको भनिँदै आए पनि संरक्षण र पुस्तान्तरणको अभावका कारण लोप हुने अवस्थामा पुगेको छ । यसलाई पुनः जगाउँदै समाजलाई नै यसप्रति आकर्षित गर्नुपर्दछ । संघ, प्रदेश तथा स्थानीय सरकारले समृद्धिको आधारका रुपमा समेत हस्तकलालाई राखेर नीति नियम बनाउँदै व्यवस्थित ढंगले पुस्तान्तरणको अभियान चाल्नु पर्दछ । शिल्प शिक्षासम्बन्धी पाठ्यक्रम स्थानीय सरकारसँग मिलेर बनाउँदा प्रभावकारी र व्यवहारिक हुन्छ । यसमा विशेष ध्यान दिन जरुरी छ ।

शिल्पकलालाई सिर्जना, शिक्षा र प्रविधिसँगै उद्यमशीलतासँग जोड्नुपर्दछ । साथै हस्तकलालाई पर्यटन व्यवसायसँग जोडेर ठाउँ र आवश्यकताका आधारमा विकास गर्नुपर्दछ । समग्रमा हस्तकला क्षेत्रको सम्बर्धन एवं प्रवद्र्घनका लागि ऐनको व्यवस्था गर्नुपर्ने, कामदारलाई काम गर्नका लागि सहज वातावरणको सिर्जना गर्नुपर्ने तथा मौलिक कलालाई अभिलेखीकरण गर्नुपर्ने जस्ता कार्यलाई प्राथमिकतामा राखेर काम गर्नु पर्दछ । कला र संस्कृति समाज चिन्ने सिर्जनात्मक आँखा हो । मानवले विकास गरेको संस्कृतिलाई त्यही आँखाबाट हामीले संसारलाई बुझ्न र चिनाउनु पर्दछ ।

हस्तकलाले मौलिक पहिचानलाई सम्प्रेषण गर्न महत्वपूर्ण सहयोग गरिरहेको हुन्छ । हस्तकलाले नेपालको प्राचीन वैभवतालाई जीवन्त बनाइराखेको छ । साथै यसले नेपालको इतिहासमात्रै नभएर सांस्कृतिक, धार्मिक, सामाजिक तथा राजनैतिक परिवेशलाई जीवन्त बनाएको छ । मौलिकतालाई जर्गेना गर्न र समृद्ध समाज निर्माण गर्न हस्तकलाको संरक्षण, प्रवद्र्धन, विकास र संवद्र्धनमा राज्यका सबै तहलाई उत्प्रेरित गर्नुपर्दछ ।

प्रतिक्रिया