१७ सय ५५ ऋणीमा डिप्रोक्स लघुवित्त कटहरियाको ४२ करोडभन्दा बढी लगानी

रौतहट । कटहरिया–सामाजिक उत्तरदायित्वअन्तर्गत डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड कटहरिया शाखाको वित्तीय साक्षरता एवं केन्द्र प्रमुखको गोष्ठी बिहीवार सम्पन्न भएको छ ।

कटहरिया नगरपालिका– ५ स्थित रहेको विवाह मण्डप भवनमा एकदिने गोष्ठी आयोजन गरिएको हो । कटहरिया नगरपालिकाकी उपप्रमुख रिता देवी यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो ।

कटहरिया शाखाअन्तर्गतका केन्द्र प्रमुखहरुलाई वित्तीय साक्षरता तथा बैंकिङ कारोबारमा हुने अपराध (सम्पत्ती सुद्धिकरण), कर्जा तथा बचतको महत्व, कर्जाको सही उपयोग, लिएको कर्जा कति लिने र कसरी तिर्ने, संस्थाले उपलब्ध गरेका कर्जा नीति, नेपाल राष्ट्र बैंकको पहिलो श्रेणीको संस्था नीति र व्यवसायीक बन्नको लागि आवश्यक पर्ने विभिन्न तालिमहरु लगायतका विषयहरुको बारेमा जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको डिप्रोक्स लघुवित्त कटहरिया शाखाले जनाएको छ ।

संस्थाको उदेश्यको बारेमा सहभागिहरुलाई भिडियोमार्फत समेत जानकारी गराइएको थियो । सो कार्यक्रममा कटहरिया शाखाअन्तर्गत ८ वटा पालिकाबाट ७५ जना केन्द्र प्रमुख महिलाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागिहरुले यस्ता कार्यक्रमले समाजमा लघुवित्त विक्तिय संस्थाविरुद्ध फैलाइएको अफवाह हटाउन मदत पुग्ने विश्वास व्यक्त गरेका थिए । अन्य वक्ताहरुले लघुवित्त संस्थाले विना धितो ऋण दिने भएकाले नेपालमा गरिबी उन्मूलनमा लघुवित्तको ठूलो भूमिका रहेको उल्लेख गरेका थिए ।

विना धितो ७ लाखसम्म ऋण उपलब्ध गराउने भएकोले लघुविक्त संस्था सबैको हकहितका लागि फाइदाजनक रहेको धारण राखेका थिए । कार्यक्रममा सहभागी बौधीमाई नगरपालिका– २ इनरवा केन्द्र नम्बर १४५ की प्रमुख रेखा कुमारी पटेलले गाउँघरमा पुरुषमाथि निर्भर रहेका पिछडिएका महिलाहरुको हकमा लघुवित्त संस्था वरदानको रुपमा स्थापित भएको बताइन् ।

उनले भनिन्, ‘हामी लघुवित्त संस्थाबाट जुन प्रायोजनको लागि ऋण उठाएका छौँ ।’ त्यसमा खर्च नगरी अन्य शीर्षकमा खर्च गरेको कारण अहिले ऋण तिर्न नसक्ने अवस्था उत्पन्न भएको उनले बताइन् । ‘अहिले जुन ऋण काढेर ऋण सघाउने मानसिकता बसेको छ, त्यसलाई परिवर्तन गर्नुपर्दछ’, उनले भनिन् ।

लघुवित्त बैंकले सानो सानो व्यापार गराएर आफ्नो खुट्टामा उभिन सिकाएको उनले बताइन् । उनले लघुवित्त केवल कर्जाको लागि नभइ बचत गरेर आफ्नो भविष्य सुरक्षित राख्ने भरपर्दो माध्यम रहेको बताइन् ।
यता कार्यक्रममा बैंकिङ अपराध तथा साक्षरतासम्बन्धी जानकारी मधेस प्रदेश प्रमुख देशबन्धु चौधरीले गराएका थिए ।

कार्यक्रममा कटहरिया शाखा प्रबन्धक बैजु दासले स्वागत मन्तव्य व्यक्त राखेका थिए । वि. स २०७० साल जेठ २१ गते कटहरिया बजारमा स्थापना भएको यस शाखामा २ हजार ८ सय ९५ सक्रिय सदस्य रहेका छन् ।

१७ सय ५५ जना ऋणीमा संस्थाले ४२ करोडभन्दा बढी लगानी गरेको जनाइएको छ । सो अवसरमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका मधेस प्रदेश प्रमुख देशबन्धु चौधरीसहित अनुगमन अधिकृत सूर्य विष्ट, लगायत केन्द्रका प्रमुखहरु, लघुवित्तका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया