जनकपुरधाम । माओवादी आन्दोलनमा लागेकाहरूको यतिबेला बेहालको अवस्था छ । तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे जनयुद्धमा लागेका कार्यकर्ताहरूको अवस्था निकै दयनीय बनेको छ ।
भूमिगत जीवन बिताएर आएका र युद्धविरामसँगै खुलारूपमा राजनीतिक गतिविधि गर्दै आएको अहिलेको नेकपा माओवादी केन्द्रले सरकार सञ्चालन गरिरहे पनि पार्टी नेतृत्वले बेवास्ता गर्दा जीविकोपार्जनदेखि स्वास्थ्य उपचारका लागिसमेत धौधौ परिरहेको गुनासो गरेका छन् । तत्कालीन जनमुक्ति सेनाको कम्पनी कमान्डर रहेका दिनेश मण्डल अहिले माओवादी केन्द्र धनुषाको जिल्ला सदस्य छन् ।
२०५६ सालदेखि माओवादीले थालेको आन्दोलनमा धनुषाको मिथिला नगरपालिका–८ स्थित जमुनिबास बस्ने ४३ वर्षीय दिनेश मण्डल २०६१ मा काभ्रेको घर्तीछापमा भएको आक्रमणमा मुख्य भूमिका निर्वाह गरेका थिए । सो युद्धमा उनी तत्कालीन शाही सेनासँग भएको दोहोरो भिडन्तमा घाइते भएका थिए । त्यतिबेला उनको उपचार माओवादीको स्वास्थ्य टोलीले गरेको थियो । उपचारपश्चात निको भई घर फर्किने क्रममा उनलाई सेनाले पक्राउ गरी निर्घात कुटपिट गरेका थिए ।
यातना दिने क्रममा सेनाले उनको जिउमा रोलर चलाएको थियो । जसले गर्दा उनको तिघ्रा, खुट्टा र हातका औँलाहरूले राम्ररी काम गर्न छाडेका छन् । ०६२ सालमा माओवादीले युद्धविराम गरेपछिको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा उनीहरूलाई सरकारले आममाफी दिएपछि उनीसहित सयौँ माओवादी कार्यकर्ताहरू रिहा भएका थिए ।
सोक्रममा उनी पनि रिहा भए । तर, पार्टीले उपचारलगायतमा ध्यान नदिँदा अहिले उनको शरीर थलिएको छ । यससँगै शरीरमा विभिन्न समस्यासमेत देखिएको छ । माओवादी आन्दोलनमा लागेका कार्यकर्ताहरूलाई मूल नेतृत्व वर्गले बेवास्ता गर्दा उपचारदेखि जीविकामा समेत समस्या हुने गरेको पीडित मण्डलले गुनासो गरे । शरीर थलिने, उचरक्तचाप, चिनी रोग, हाडजोर्नी लगायतका रोगबाट उनी ग्रसित रहँदा उनलाई घरायसी कामकाज गर्नसमेत कठिनाइ भएको छ । यस्तै समस्याबाट धनुषाका औरही गाउँपालिका–४ बस्ने ५३ वर्षीय रामएकवाल मण्डल खत्वेको छ ।
करिब तीन सातादेखि उनी बेहोसी हालतमा छन् । उनमा एक्कासि बिर्सिने समस्या देखापरेको छ । उनी पनि माओवादी जनयुद्धमा २०५८ देखि निरनतर सक्रिय थिए । सशस्त्र युद्धका बेला उनी विभिन्न युद्धका मोर्चामा सक्रियताका साथ लागेका र अहिलेसम्म निरन्तररूपमा सक्रिय रहँदा पनि दिनेश झैँ रामएकवालले पनि पार्टीबाट कुनै पनि किसिमको लाभ लिएनन् । न त यसका लागि कुनै नेतालाई भनसुन नै गरे । बरु उनी राजमिस्त्रीको काममा सक्रिय रहेर घरपरिवारको जीविकोर्पाजनमा लागेका थिए ।
तर, जाडोयाममा घर निर्माणको क्रममा छत ढलान गरेर आफ्नो घरमा सुतिरहेको बेला उनी एक्कासि बेहोस भए र उनले आफ्ना घरपरिवारका सदस्यलाई समेत चिन्न छाडेपछि उनको उपचार मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भयो । तर, थप उपचारका लागि रकम नहुँदा अस्पतालले डिस्चार्ज ग¥यो । त्यसपछि उनी घरमै सेन्सलेस अवस्थामा आराममा गरिरहेको उनकी श्रीमती कुन्तीदेवी मण्डलले बताइन् ।
रामएकवाल विरामी पर्दा अहिले कुन्तीलाई समेत ६ सन्तानसहित नौ जना परिवारको घर चलाउन धौधौ परिरहेको गुनासो गरिन् । मस्तिष्कसम्बन्धी समस्याका कारण बेडरेस्टमा रहे पनि अहिलेसम्म माओवादी केन्द्रका कुनै पनि नेताले चासो नलिए भन्दै उनले भनिन्, ‘मर्ने बेला पार्टी नेताले जे भन्यो त्यही ग¥यो, अहिले माओवादीको सरकार छ, प्रदेश सरकारमा पनि सहभागी छ, तैपनि सोधखोज नगर्दा जनयुद्ध कसको लागि भयो भन्ने प्रश्न हामीमाथि खडा भएको छ ।’
रामएकवाल अहिले माओवादी केन्द्र धनुषाको जिल्ला सदस्य छन् । दुई छोरी, एक छोरा, एक श्रीमती रहेका दिनेशले पनि अप्ठ्यारोको बेलामा पार्टी नेतृत्वले वास्ता नगर्दा दुःख लागेकोे गुनासो गरे । विगतमा उनी माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत थिए ।
तर, नेकपा माओवादी केन्द्रका प्रदेश नेता श्याम यादवले पार्टीको हरेक बैठकमा जनयुद्धमा घाइते भएकाहरू, सहिद तथा बेपत्ता परिवारका समस्याहरूको बारेमा आवाज उठाउने गरेको बताए । घाइते तथा समस्यामा परेका पुराना नेता तथा कार्यकर्ताहरूका लागि आफू गम्भीर हुँदै पहलकदमीसमेत लिइरहेको जनाउँदै उनले भने, ‘जिल्ला नेतृत्ववर्गदेखि केन्द्रीय नेतृत्वसम्ममा जनयुद्धका घाइते, सहिद परिवार र बेपता परिवार लगायतकाको अवस्था बारेमा जानकारी गराएको र समस्या समाधानका लागि आफू लागिपरेको छु, नेतृत्वले आश्वासन दिएका छन्, छिट्टै नै समस्या समाधान होला भन्ने आशा छ ।’
माओवादी सशस्त्र विद्रोहमा होमिँदा अनेकौँ नेता तथा कार्यकर्ताहरूको अवस्था नैराश्यतापूर्वक जीवन व्यतित गरिरहेका छन् । मूल नेतृत्व सत्ता र सरकार ढाल्ने बनाउने खेलमा लाग्दा निर्वाचनताका समयमा कार्यकर्ताहरूको घर चहार्ने गरेका छन् । तर अवसर पाउने बेलामा आफन्तजन र आसेपासेलाई सहभागी गराउने गरेकाले पनि मधेस प्रदेशमै पार्टी कमजोर भइरहेको एक नेताले टिप्पणी गरे ।
प्रतिक्रिया