अतिक्रमणको चपेटामा पुंगीखोला

चितवन । भरतपुरको मुख्य सहरी क्षेत्र भएर बग्ने पुंगीखोला अतिक्रमणको चपेटामा परेको छ । भौतिक संरचना नै निर्माण गरेर खोला अतिक्रमण गर्ने क्रम बढेपछि भरतपुर महानगरपालिकाले सीमांकन तथा संरक्षणको काम सुरु गरेको हो । महानगरपालिकाले पुंगीखोला सीमांकन तथा संरक्षण समितिसमेत बनाएको छ । अहिले यो समितिले सिमाना छुट्याउने काम गरिरहेको छ । आधाभन्दा बढी नापजाँच गर्दा पुंगीखोलामाथि ५० भन्दा बढी घर परेको महानगरपालिकाका नापी अधिकृत विकास देवकोटाले बताए । उनका अनुसार पुंगीखोला अतिक्रमण गर्नेमा वडा कार्यालयदेखि विभिन्न क्लब रहेका छन् ।

दियालो फुडल्यान्डले पुंगीखोला र सिँचाइको जग्गा गरेर करिब दुई कठ्ठा जमिन अतिक्रमण गरेको उनले बताए । ‘हामीले अहिले नै यति भन्न सक्ने अवस्था छैन । प्रारम्भिक अनुमान गर्दा दुई कठ्ठा हाराहारीमा अतिक्रमण भएको छ’, उनले भने । पर्खाल र टप मात्र पर्ने घरहरूको संख्या धेरै रहेको उनले बताए । खोला र नहरबाट तीन मिटर छाडेर भौतिक संरचना बनाउनुपर्ने हुन्छ । तर, कतिपयले खोलाको सिमानाबाटै घर उठाएका छन् । सीमांकनको काम एक महिनाभित्र सकिने उनले बताए ।

भरतपुर महानगरपालिका–२ स्थित रामकृष्ण टोलका रामकृष्ण गुरुङ २०२५ सालमा लमजुङबाट चितवन झर्दा नारायणगढ क्षेत्रमा फाट्टफुट घर थिए । उनी हाल बस्दै आएको रामकृष्ण टोल छेउबाट पुंगीखोला फराकिलो हुँदै बग्दथ्यो । आजभोलि त्यो फराकिलो खोला उनले देख्न नपाएको बताए । खोला साँघुरिँदै गएको छ । अहिले मानिसले खोला मिच्दै गएका छन् । ‘यहाँ यो खोला कहीँ साँघुरो र कहीँ फराकिलो हुँदै बग्थ्यो’, पूर्वशिक्षकसमेत रहेका गुरुङले भने, ‘अहिले ठुल्ठूला मान्छेले खोला अतिक्रमण गरेर संरचना बनाएका छन् ।’ स्थानीय तहले खोलाको जग्गा संरक्षण गर्नुपर्ने उनले बताए ।

भरतपुर महानगरपालिका–११ गणेशधामबाट सुरु हुने यो खोला वडा–२, ३ र वडा–४ को रामघाट बाह्रघरे हुँदै रामघाटमा पुगेर नारायणी नदीमा मिसिन्छ । साढे ६ किलोमिटर रहेको यस खोला सबैभन्दा बढी वडा–२ मा मिचिएको छ । रामकृष्ण टोल, जलदेवी टोल, समता स्कुल, वडा–२ कार्यालय, मिल्स एरिया, वडा–३ को आनन्दमार्गमा खोला बढी मिचिएको छ ।

भरतपुर महानगरपालिका–२ को वडा कार्यालय पूरै खोलाको जमिनमा पर्दछ । भरतपुर–२ का वडाध्यक्ष मनोज रानाभाट महानगरपालिकाको कार्यापालिकाको बैठकले पारित गरेपछि भवन निर्माण गरिएको बताए । उनका अनुसार खोला र ऐलानी जग्गा गरेर पाँच कठ्ठाको हाराहारीमा वडाले ओगटेको जग्गा छ । यो खोलाको चौडाइ एकनासको छैन ।

सब्जीमण्डी र लायन्सचोकबाट पश्चिमतर्फको एनपिआइ कलेज क्षेत्रमा नक्साको लगतसमेत भएको छैन । यस क्षेत्रमा खोला बगिरहेको क्षेत्रलाई हेरेर लगत संकलन गर्ने एकखालको मौखिक सहमति भएको छ । अन्य स्थानमा ६ देखि ६५ मिटरसम्म फराकिलो भएर खोला बगेको नापी अधिकृत देवकोटाले बताए ।
महानगरपालिकाले अतिक्रमणको चपेटामा परेको पुंगीखोलामा तलाउसहित दायाँबायाँ हरियाली उद्यानसहित सौन्दर्यीकरणका लागि विभिन्न संरचना बनाउने योजना बनाएको छ । अहिले गणेशस्थानबाट कामसमेत सुरु भएको छ । प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम र भरतपुर महानगरपालिकाको साझेदारीमा एक करोडको लागतमा तलाउ निर्माण र हरियाली उद्यानसहित सौन्दर्यीकरणका काम गरिएको छ ।

गुरुयोजनामा उद्यान, फुटपाथ, साइकल ल्यान्ड लगायतका संरचना बन्नेछन् । खोला अतिक्रमण गरेर बनाइएका सम्पूर्ण संरचना हटाइने भरतपुर महानगरपालिका प्रमुख नरेन्द्रकुमार राना बताउँछन् । ‘खोला अतिक्रमण कसैले गर्न पाउँदैन । बनेका संरचना छन् भने सबै हटाइन्छ’, उनले भने ‘वडाको भवन बनेको भए पनि भत्किन्छ ।’ तलाउ निर्माण ६६ लाखमा सक्नेगरी कायाक कन्स्ट्रक्सनले कामको जिम्मा लिएको छ । तलाउ निर्माणपश्चात खोलाको संरक्षण र पर्यटकीय स्थान निर्माण हुने बताइएको छ ।

प्रतिक्रिया