एक दिवसीय क्रिकेट : क्यानडा–११ विरुद्ध नेपाल ‘ए’ दुई विकेटले विजयी

काठमाडौं । दोस्रो एक दिवसीय क्रिकेटअन्तर्गत आज भएको खेलमा क्यानडा–११ लाई दुई विकेटले हराउँदै नेपाल ‘ए’ विजयी भएको छ ।

यो जितसँगै नेपाल ‘ए’ ले तीन खेलको शृङ्खलालाई १–१ को बराबरीमा ल्याएको छ । पहिलो खेलमा क्यानडा–११ ले नेपाललाई चार विकेटले हराएर विजयी भएको थियो । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल बिहीबार खेलिने छ ।

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा–११ ले ४९.५ ओभरमा सबै विकेट गुमाउनुअघि २४० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपाल ‘ए’ ले ४९.१ ओभरमा आठ विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो ।

नेपाल ‘ए’ का लागि दुई ब्याट्सम्यानले अर्धशतकीय पाली खेले । कप्तान सन्दीप जोराले उत्कृष्ट अर्ध शतक बनाए । चौथो नम्बरमा क्रिज समाल्न आएका सन्दीपले ६६ रन बनाए । उनले ७४ बलको सामना गरी एक छक्का र सात चौका पनि हिर्काए ।

नियमित कप्तान विनोद भण्डारी मंगलबारको खेलमा अनुपस्थित रहेपछि सन्दीपले कप्तानको जिम्मेबारी पाएका थिए । बसिर अहमदले पनि टोलीका लागि अर्धशतकीय पाली खेले । उनी ५२ रनमा अविजित रहे । पाँचौं नम्बरमा क्रिज समाल्न आएका बसिर अहमदले ७३ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए ।

टोलीका लागि राशिद खानले पनि उत्कृष्ट पाली खेले । उनले ४७ रन बनाए । राशिद खानले ५१ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । कप्तान सन्दीप आउट भएपछि बसिर अहमद र राशिद खानले नै जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै नेपाललाई जिततर्फ डोर्याएका थिए ।

नेपाल ‘ए’ का लागि ओपनर ब्याट्सम्यान अर्जुन कुमालले पनि ४० रनको योगदान गरेका थिए । उनले ५७ बलमा ६ चौका प्रहार गरे । अर्का ओपनर मयान यादव भने खाता खोल्नुअघि पहिलो बलमा नै पेभेलियन फर्किएका थिए ।

तेस्रो नम्बरका ब्याट्सम्यान शेर मल्ल पनि सात रनभन्दा अगाडि बढ्न सकेनन् । किरण ठगुन्ना पनि १३ रन बनाउँदै पेभेलियन फर्किएका थिए । रिजन ढकाल एक रनमा अविजित रहे । क्यानडा–११ का बलर अमर आलिद, साहिद अहमदजाई र निखिल दत्तले दुई–दुई विकेट लिए । साद जाफर र हर्ष ठाकेरले पनि एक–एक विकेट हात पारे ।

त्यसअघि भ्रमणकारी टोली क्यानडा–११ लाई ओपनर ब्याट्सम्यान द्वय एरोन जोन्सन र श्रीमन्था विजयरत्नेले गतिलो सुरुआत दिलाएका थिए । उनीहरुले ६४ रनको साझेदारी गरे । एरोन जोन्सनले ३६ र श्रीमन्था विजयरत्नेले ४१ रन बनाए ।

चौथो नम्बरका ब्याट्सम्यान नवनित धालिवालले टोलीको खातामा ४६ रन थपे । उनले जिम्मेबारीपूर्वक ब्याटिङ गर्दै ६० बलमा एक छक्का र ६ चौका हिर्काए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका श्रेयष मोभाले अर्ध शतक बनाए । उनले ६८ रन बटुले । मोभाले ८२ बलमा पाँच चौका हिर्काए ।

नेपाल ‘ए’ का बलर साहब आलमले तीन विकेट लिए । उनले १० ओभरमा एक मेडन राख्दै ३८ रन खर्चिए । शेर मल्ल र रासिद खानले पनि दुई–दुई विकेट हात पारे । सागर ढकाल र बसिर अहमदले पनि एक–एक विकेट लिए ।

प्रतिक्रिया