राजनीतिक र आर्थिक क्षेत्रमा महिलाको सहभागिता हुनुपर्छ : अध्यक्ष यादव

रौतहट । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले राष्ट्रको विकासको लागि महिलाको राजनितिक र आर्थिक क्षेत्रमा समान अवसर हुनु जरुरी रहेको बताएका छन् । उनले महिला–पुरुषको समान अधिकार र अवसर नभएसम्म समतामूलक समाजको विकास हुन नसकिने बताए ।

प्रजातन्त्र दिवसको अवसर परेर राजदेवी मिडिया सेन्टर रौतहटले मंगलवार रौतहट जिल्लाको सदरमुकाम गौरमा आयोजना गरेको ११औँ जिल्लास्तरीय महिला साइकल दौड़ प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै अध्यक्ष यादवले पितृ सत्तात्मक सोचको कारण नै अहिलेसम्म महिला पछि पारेको जिकिर गरे ।

महिला सशक्तिकरणको लागि महिला साइकल दौड़ प्रतियोगिताले सकारात्मक सन्देश दिएको बताउँदै अध्यक्ष यादवले सामाजिक परिवर्तनको लागि विभिन्न क्षेत्रमा पुरुष जस्तै महिलालाई सहभागिता गराउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य रञ्जू ठाकुरले महिलालाई समान अधिकार र अवसर दिए पुरुषभन्दा अगाडि बढ्न सकिने बताइन् । बालिकाहरुले गरेको प्रदर्शनले आफू हर्षित भएको भन्दै उनले खेलकुदको विभिन्न प्ररूपमा बालिकालाई सहभागी गराउनुपर्ने अभिभावकहरुलाई आग्रहसमेत गरिन् ।

उक्त खेलकुदमा १४० जना सहभागीमध्ये छनोट भएर फाइनलमा सहभागी भएका २० जनामा गौर नगरपालिका– ५ की चञ्चला कुमारी प्रथम, राजदेवी नगरपालिका– ७ की रानी कुमारी यादव दोस्रो र गौर नगरपालिका– ४ की बबिता कुमारी तेस्रो भएका छन् । विजेतालाई ५० हजार नगदसहित शील्ड, दोस्रो स्थान प्राप्त गर्नेलाई ३० हजार नगदसहित शील्ड र तेस्रो स्थान प्राप्त गर्नेलाई नगद २० हजारसहित शील्ड र प्रमाणपत्र जसपा अध्यक्ष यादवले पुरस्कृत गरेका हुन् ।

फाइनलमा भाग लिएका लक्ष्मी पटेल, अंशु पटेल, सिमरिखी कुमारी साह, गुड्डी कुमारी, सोफिया खातून, शारदा कुमारी, सुगन्धा कुमारी, कमली कुमारी साह, मौसम कुमारी पासवान, रीता कुमारी, अमिता कुमारी, अनिशा कुमारी साह, गुड़ी कुमारी, अञ्जली कुमारी, आँचल मिश्रा, नन्दनी झा र प्रीति कुमारी साहलाई सान्त्वना पुरुस्कार स्वरुप एक–एक थान साइकल दिइएको छ ।

आयोजक संस्थाका अध्यक्ष रामपुकार पटेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा मधेस प्रदेश सरकारका खानेपानी राजयमन्त्री अब्बुल कलाम आजाद फूलबाबु, पूर्वकृषि राजयमन्त्री योगेन्द्र यादव, पूर्वप्रदेश सांसद रामकिशोर यादव, गौर नगरपालिकाका पूर्वउपप्रमुख किरण ठाकुर लगायतका वक्ताहरुले आ–आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया