मिडियामाथि विश्वास बढाउनु अहिलेको आवश्यकता

वर्तमान स्थितिमा विकासशील देशमा संचारको विभिन्न किसिमको कमी कमजोरी स्पष्ट देखिन्छ । समयसमयमा सञ्चार माध्यमकै आलोचना पनि हुने गरेको छ । क्षणिक लोकप्रियताको चाहनाले कतिपय अवस्थामा बदनामी पनि हुने गरेको देखिन्छ ।

राम विश्वास राय

सामान्य अर्थमा विचार, भावना तथा सूचनाको संप्रेषण नै सञ्चार (media) हो । जसले व्यक्तिगत, सामाजिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक, आर्थिक, व्यापारिक, सांस्कृतिक कूटनीतिक, सम्बन्ध, आविष्कार प्रगतिसहित घटना दुर्घटना जनसमुदायमा पु¥याउने गर्दछ । राज्यको चौथो अंग एवं आवाजविहीनको आवाज पनि यसलाई भन्ने गरिन्छ । जनताको दुःख, सुख, समस्या, पीडा निरन्तर उठाउने गरेको र समाधानका लागि सम्बन्धित निकायलाई ध्यानाकृष्ट गराउने गरेकोले नै यसलाई देशको चौथो अंगको रूपमा लिइने गरिएको पाइन्छ । आजको आधुनिक युगमा सञ्चारविना मानव जाति प्राणवायु विनाको जगतजस्तै हुन जान्छ ।

मिडिया शब्द ल्याटिन भाषाबाट प्रयोग र प्रचलनमा आएको हो । जसको अर्थ मध्य (between) हुन्छ । एक अंग्रेज लेखक मार्सल मकलूहनका अनुसार ‘संचार (media) मनुष्यका लागि त्यो साधन हो, जसले त्यसलाई पनि प्रभावित गर्न सक्छ जो आमनसामने सम्पर्कमा छैन ।’ यस भनाइले एकातिर यसको व्यापकतालाई समेटेको छ भने अर्कोतिर यसको महत्वलाई पनि स्पष्ट पारेको छ ।

हुन त आदिकालदेखि नै विभिन्न रूपमा सञ्चारको उपयोग हुँदै आएको देखिन्छ । कुनै जमानामा टाढा आफ्नो संवाद पुर्याउन परेवाको प्रयोग पनि गरेको देखिन्छ । काग, सुगा र अन्य पंक्षीको उपयोग भएको लोकगाथाहरूमा उल्लेख गरेको पाइन्छ । यी बाहेक सञ्चारले बिस्तारै व्यवस्थित रूप धारण गर्दै जाँदा पनि विभिन्न माध्यमहरूको विकास भइसकेको छ । पारम्परिक माध्यमको रूपमा आदिकाल, जुनबेला मानव जातिमा त्यति चेतनाको विस्तार भएको थिएन, त्यो बेला बोली, हाउभाउ, इशाराले विचार, भावना एवं सूचनाको आदानप्रदान गरिन्थ्यो । विस्तारै नाच, गान, भजन, कीर्तन, नाटक जस्ता क्रियाकलापको माध्यमबाट सञ्चार हुन थाल्यो । जब मुद्रित सञ्चार माध्यमको विकास भयो तब यसले यस दुनियाँमा क्रान्ति ल्याएको मानिन्छ ।

सञ्चारले बिस्तारै फड्को मार्ने क्रममा पत्रिका, किताब, पोस्टर, पम्पलेट, ब्यानर आदिले सञ्चारको दुनियाँमा अझ टेवा पु¥याए । यसैगरी विद्युतीय माध्यमले आधुनिक युगको वरदानको काम गरेको छ । इन्टरनेट, इमेल, वेबसाइट, रेडियो, टेलिभिजन, सेटेलाइट, अडियो, भिडियो मोबाइल आदिजस्ता सञ्चारका माध्यमले सञ्चारको गतिलाई विकसित गरेको छ । यसले हरेक पक्षजस्तै आर्थिक, राजनीतिक, आध्यात्मिक, कृषि, व्यापारिक, मनोरञ्जन, पर्यटन आदिलाई सफल बनाउनमा ठूलो भूमिका खेलेको पाइएको छ । सर्वसाधारणलाई यी र यस्ता जानकारीमा सहजता प्रदान गरेको छ । मानिस आज घरमा बसीबसी आफ्नो लायक कारोबार व्यवसाय दुनियासँग गर्न सक्ने माहौल तथा वातावरण सञ्चारले विस्तार गरेको छ ।

मिडियामाथि सबैको र सबै क्षेत्रको भरोसा रहे पनि यो समस्यामुक्त भने छैन । यसले आफ्नै किसिमका समस्याहरू भोगिरहेको छ । कतिपय समस्या मिडियाका आफ्नै समस्या हुन् भने कतिपयचाहिँ अन्य क्षेत्रको समस्याबाट प्रभावित समस्या हुन् । अझ केही समस्याहरू मिडिया आफैँले निर्माण गरेका छन् । अत्यधिक दबाब तथा प्रभावका कारण खोजपत्रकारिता कमजोर हुन गएको छ । समस्या देखाउने, समस्या निर्माण गर्ने तथा समस्या बढाउनमा पनि मिडियाको भूमिका नदेखिएको होइन । यी र यस्ता समस्या पनि मिडियाले नै समाधान गर्नुपर्नेहुन्छ । साथै सञ्चारको सही सदुपयोगको लागि जनचेतनाको बिस्तार हुनुपर्ने आवश्यकता रहेको देखिन्छ । मिडियासम्बन्धी बलियो तथा नियमनकारी प्रशासनिक निकायको आवश्यकता छ । विभिन्न सामाजिक संजाल तथा अनुमतिविहीन मिडियालाई रोक्नुपर्ने देखिन्छ । समाजमा नकारात्मकताको विस्तार गर्ने तर अनुशासन भएन भन्नेजस्ता दोहोरो भूमिकामा देखिने अश्लीलता, गालीगलौज र अमर्यादित शब्द तथा चित्रलाई प्रकाशन प्रसारणमा व्यापक निगरानीको जरुरी रहेको छ । मिडियाकर्मी हुँ वा मिडिया छ भन्दैमा कानुनले बन्देज गरेका गलत अभिव्यक्ति तथा मन्तव्यमा कडा निगरानी नगर्ने भन्ने हँुदैन । शान्ति, विकास तथा परिवर्तनका लागि नै पत्रकारिता केन्द्रित हुुनुपर्छ । सम्बन्धित निकायलाई खबरदारी गर्ने निहुँमा निरन्तर नकारात्मक सामग्री प्रस्तुत गर्दा सञ्चार माध्यमप्रति नै नकारात्मक दृष्टिकोण सर्वसाधारणको हुने हुन्छ । तत्काल बिकाउभन्दा पनि दीर्घकालीन टिकाउ सामग्री र पत्रकारिता नहुनु पनि विशाल समस्याको रूपमा रहेको छ ।

अन्त्यमा हामी सञ्चारलाई सही सदुपयोग ग¥याँै भने हामी पक्का हाम्रो समाज, देश वा सिंगो विश्वलाई स्वर्ग बनाउन सक्छाँै । यसका लागि हामी जागरूक बनी जनचेतना फैलाउनुपर्ने हुन्छ । अचेल पनि सही सदुपयोग नगरेकोले हाम्रो समाजमा सञ्चारप्रति आस्था र विश्वासमा ह्रास हुँदै गइरहेको छ । हामीले हाम्रो पुस्तामा पाएका यस्ता प्राविधिक वरदानको सही सदुपयोग गर्न जान्ने हो र आफूसँग भएका ज्ञान जानकारी बाँड्ने गर्नुपर्ने हुन्छ । किनकी ज्ञानको हस्तान्तरणले आफूमा भएका त्रुटी सच्याउन सकिनेछ । वर्तमान स्थितिमा विकासशील देशमा सञ्चारको विभिन्न किसिमको कमीकमजोरी स्पष्ट देखिन्छ । समयसमयमा सञ्चार माध्यमकै आलोचना पनि हुने गरेको छ । क्षणिक लोकप्रियताको चाहनाले कतिपय अवस्थामा बदनामी पनि हुने गरेको देखिन्छ ।

सञ्चारकर्मीमाथि हातपात, कुटपिट तथा दुव्र्यवहार सञ्चार क्षेत्रको ठूलो समस्या हो । यसलाई कुनै पनि सभ्य समाजको परिचायक मान्न सकिँदैन । सञ्चारकर्मीमाथिको दुव्र्यवहारले समाजको योग्यतामाथि प्रश्न त उठाउँछ नै साथै सञ्चारमाथि पनि नकारात्मक दृष्टिकोण निर्माण गर्दछ । यस्ता क्रियाकलापको नियन्त्रण तथा निवारण अरू क्षेत्रबाट हुने आश गर्न सकिँदैन, मिडियाबाटै हुन सक्छ ।

सञ्चारको क्षमता नकारात्मक दृष्टिकोण वा सकारात्मक दृष्टिकोण निर्माण गर्ने पनि हो । आफ्नो देशप्रति, आफ्नो कर्मप्रति र आफ्नो समाज तथा संस्कृतिप्रति सकारात्मक भाष्यको निर्माण गर्ने हो भने सञ्चार माध्यमले देशभक्तिको ठूलो भाव प्रवाह गर्न सफलता प्राप्त गर्न सक्छ । यस देशबाट युवाशक्ति विदेश पलायन हुनुपर्ने मनोविज्ञानको निर्माण हुनुमा मिडियाको भूमिका पनि जिम्मेवार रहेको छ ।

सामाजिक, आर्थिक, भौतिक, अभौतिक, आध्यात्मिक, सांस्कृतिक, मनोञ्जनात्मक आदि क्षेत्रको निर्माण वा विनाश सबै यसकारण पनि सञ्चारको परिधिभित्र पर्दछन् कि गोयबल्सले भनेका छन् – कुनै असत्य कुरालाई सय चोटी सत्य भन्नुहोस्, मानिसलाई त्यो सत्य नै लाग्न थाल्छ । यसैगरी कुनै राम्रो कुरालाई पनि खराब र कुनै खराब कुरालाई पनि राम्रो बताउन वा बनाउन मिडियाले अत्यन्त सबल भूमिका निर्वाह गर्न सक्छ । आखिरमा मानिसले विश्वास गर्ने भनेको मिडियामाथि नै हो । अनि मिडियामाथि नै मानिसको अविश्वास बढ्ने वातावरण निर्माण हुने हो भने विश्वास गर्ने ठाउँ कतै रहला ? मिडियाले यस विश्वासको संकट नबेहोरोस् । मधेसका मिडियाले अझ बढी विश्वास प्राप्त गर्न सफल होउन् ।

प्रतिक्रिया