पैसामुखी पत्रकारिताले निम्त्याएको संकट

अहिले सुन्छु मिडियामा संकट आएको छ । व्यापार बिजनेस घटेको छ । पत्रकारहरू निकालिएका छन् । यो सबै आर्थिक पाटोसँग जोडिएको छ । पत्रकारिता नै आर्थिकमुखी भएपछि आर्थिक संकट आउने बित्तिकै पत्रकारितामा पनि संकट आउँछ नै । अब अलिकति हाम्रो पालाको जस्तो निष्ठा र तपस्यातिर ध्यान पु¥याउने हो कि ! पत्रकारिता त तपस्या पनि हो ।

भैरव रिसाल

हिजो निष्ठा र आस्थाले पत्रकारिता चलेको थियो आज त्यो सबै हरायो । त्यो हराएपछि आउने परिणाम यही हो । अहिले निष्ठा कम व्यावसायिक बढी भयो । व्यवसाय भएपछि आम्दानी एकनास हुँदैन, घटबढ भइहाल्छ । आम्दानी घटेपछि संकट आउने नै भयो । अहिले पत्रकारिता होइन पैसाकारिता प्राथमिकतामा प¥यो ।

अहिले पत्रकारितामा विश्वसनीयताको कमी छ । कुन समाचार सही हो कुन गलत हो भन्ने छुट्याउन भोलिपल्ट खण्डन आउँछ कि आउँदैन भनेर कुर्नुपर्छ । अर्कोतिर राजनीतिक नेताले पत्रकारिता र पत्रकारको चरम दुरुपयोग गरे । यसले पनि पत्रकारितालाई विश्वासबाट टाढा बनाउन भूमिका खेलेको छ । ऊ बेला एउटा खबर अखबारमा निस्कँदाखेरि प्रधानमन्त्रीले समेत चासो राख्ने, सोधखोज गर्ने चलन थियो । त्यसले गर्दा पत्रकारिताको मान्यता समाजमा राम्रो थियो । समाजमा पत्रकार भनेपछि अलि इज्जत गर्थे, पत्याउँथे ।

अहिले पत्रकार बढी खर्चालु पनि भए, घाँटी हेरेर हाड निल्दैनन् । ऊ बेला साइकल चढ्दा के के न पाइयोजस्तो हुन्थ्यो, दंग परिन्थ्यो अहिले सबलाई गाडी चाहिएको छ । गाडी पनि सामान्य हो र ? महँगा महँगा । हालखबर दैनिकमा काम गर्दा सय रुपैयाँसँगै तलब र प्रयोग गर्नलाई एउटा साइकल पाउँदा म दंग परेको थिएँ । यो २०१३ सालको कुरा हो । । त्यसबेला एउटा साइकल आफ्नो मातहतमा हुनु भनेको अहिलेको अवस्थामा गाडी त के हेलिकोप्टर आफ्नो भए बराबर हुन्थ्यो ।

संस्कृत पाकशालामा पढ्न बसेको बेला भाडामा लिएर साइकल सिकेको काम लाग्यो । राष्ट्रिय नाचघर जमल नजिकैको साइकल पसलमा एक घण्टाको १० पैसामा साइकल भाडामा पाइन्थ्यो । त्यसबेला साइकल भाडामा लिएर घुम्ने चलन थियो । म पनि त्यतिखेर साइकलमा खुब घुमेँ । साइकल पाएपछि म यति सक्रिय भएँ कि बिहानदेखि साइकल लिएर नेताकहाँ पुगेँ, कुराकानी गरेँ । दैनिक २५–३० किलोमिटर साइकलमा हिँडिन्थ्यो । सम्पादक दाताराम शर्मा पनि साइकलमा हिँडनुहुन्थ्यो ।

हुन त त्यसबेला जमाना पनि सस्ता थिए । मेरो एक सय रुपैयाँ तलब हुँदा पनि म दुई–तीन जना पाल्न सक्थेँ । धेरै सस्तो थियो । कोठाभाडा, बजार भाउ सस्तो थियो । एक सय रुपैयाँले म, श्रीमती, एउटा भाइसहित चार जना बसेर खान पुग्थ्यो । पछि २०२० भदौमा राससमा जागिर खाँदा सुरुको तलब २ सय २५ रुपैयाँ थियो । चार वर्षपछि प्रमोसन भएर राससको चिफ रिपोर्टर भएँ । २०४२ वैशाख १ गते राजीनामा दिएर निस्केको हुँ म ।

उहिलेको पत्रकारिता

उहिलेको पत्रकारिता भनेको दौडधुप, मान्छेसँग भेटघाट, स्रोत सुरक्षा नै मुख्य हुन्थे । मैले पनि स्रोतको सुरक्षा इमानदारीका साथ गरेँ । स्रोतसँग कुरा गर्दा यो मैले भनेको नभन है भनेपछि कहीँ पनि भनिनँ । त्यतिले गर्दाखेरी मेरो स्रोतले मलाई पत्याउने गर्थें । त्यसबेला समाचार दिन स्रोत असाध्यै डराउने । कतिपय पत्रिकाले गलत समाचार दिने मात्रै होइन, स्रोतको पनि सुरक्षा नगरिदिने रहेछन् । त्यसैले स्रोतले समाचार दिन डराउने रहेछन् । पत्रकारितामा स्रोतलाई विश्वासमा लिनु नै ठूलो कुरा हो । गोपनीयताको शंका नभएपछि उनीहरूले मलाई गोप्य समाचार दिन्थे ।

फिल्ड रिर्पोटिङ

अहिले फिल्डमै गएर रिर्पोटिङ गर्ने चलन कम भएको छ । प्रविधिका कारण हो कि किन हो पत्रकार अल्छी भएको देख्छु म त । म त नेपालभित्र त धेरै ठाउँ घुमेको छु । देशका ७५ जिल्ला (अहिले ७७ जिल्ला) पुगेको छु । जिल्लाबाट समाचार पठाउन असाध्यै गाह्रो थियो । कस्तो अप्ठ्यारो थियो भने तीन सय अक्षरको समाचार दिनुपर्ने, त्यो पनि आकाशवाणीबाट । त्यो तीन सय अक्षरमा के समाचार दिने ? समस्या हुन्थ्यो । तीन सय अक्षर मात्रै पठाउन पाइन्थ्यो । तीन सय शब्दभन्दा बढी नलिने, आकाशवाणीको नियमै त्यस्तै । नयाँ पुस्ताको पत्रकारितामा दौडधुप कम भयो । भौतिक रूपमा भेटघाट र कुराकानी नगरी गाँठी कुरा आउँदैन । सूचना त छ तर समाचारको गुदी छैन । अहिलेको पत्रकारिता त असाध्यै यान्त्रिक पत्रकारिता हँुदै गएको छ ।

अचेल समाचारमा ज्यान छैन

पहिला निष्ठाको पत्रकारिता थियो, अहिले पैसाको पत्रकारिता भयो । मचाहिँ निष्ठाको पत्रकारिता गर्नेमा परेँ । मेरो ओरिएन्टेसन नै त्यो भयो । अब व्यावसायिक पत्रकारिता भएपछि व्यापारिक पत्रकारिता हुँदो रहेछ । पैसाप्रधान पत्रकारिता भयो । अहिले जे जत्रो अक्षरमा लेखे पनि सरकारले सुन्दैन । त्यो बेला टंकप्रसाद प्रधानमन्त्रीले बोलाएर समाचारका बारेमा मलाई नै सोधेका थिए कतिपटक । त्यसबेला समाचारको कत्रो महत्व थियो । पत्रकारको महत्व थियो । मेरा अहिलेका पुस्ताका साथीले त्यो इज्जत राखिदिए हुन्थ्यो भन्यो, त्यो देखिँदैन । आजकल समाचार त छ तर समाचारमा प्राण छैन । पत्रकारिताको अहिले ज्यान नै छैन । विधागत हिसाबले अहिले विविधता पनि छ । तर मुख्य कुरा पत्रकारितामा जुन ज्यान हुनुपर्ने हो त्यो छैन । ज्यान नभएको लास त कति थरी छ, कति थरी । परिस्थितिअनुसार विधागत त होला । तर, पहिले ज्यान नै चाहियो, लुगा के लायोभन्दा पनि ज्यान चाहियो । जीवन्तता चाहियो । अहिले हेर्दा हाम्रो पत्रकारिता लुगा लगाएर चिटिक्क त होला तर ज्यान छैन । । विश्वास र विश्वसनीयता सुरक्षित हुनुपर्ने हो पत्रकारितामा । मेरो अध्ययनमा त्यस्तो विश्वसनीयता छैन अहिले । अहिलेको पत्रकारिता त मान्छेले पत्याउन छाडे ।

अहिलेको पुस्ता सबै कुराको हिसाब पैसामा खोज्छ । अवसर पनि त हो पत्रकारिता । मेरै कुरा गर्दा सरकारी जागिरमा नाम निस्केपछि पञ्चायत विरोधीको विल्ला नभिराई जागिर दिएको भए जागिरे हुन्थेँ होला । घुस खाइन्थ्यो कि खाइन्नथ्यो थाहा छैन । के थाहा ? घुस खाएर बुढेसकालमा पशुपति पो धाइन्थ्यो कि ? लोक सेवामा नाम निक्लेर पनि जागिर नदिएपछि म पत्रकारितामा लागेँ । पत्रकारितामा लागेर मेरो कुनै अवसर गुमेको होइन, बरु अवसर पाएको छु । यही पेसामा लागेर देश विदेश घुम्ने अवसर पाएँ । आफ्नै खर्चले घुम्न परेको भए मेरो झिटीझाम्टोले पनि पुग्ने थिएन । मेरो सम्पर्क सम्बन्ध पनि यति हुने थिएन । देशले चिन्यो, समाजले चिन्यो । मैले पनि देश र समाज चिन्ने अवसर यही पेसाबाट पाएको हुँ । नत्र मलाई कसले चिन्थ्यो ? यसलाई पैसामा तुलना गर्न मिल्छ ? मिल्दैन । जागिर खाएर पैसा कमाएका र अहिले रिटायर्ड भएका थुपै्र छन् देशमा, तर तपाईंजस्ता साथीहरू मलाई खोज्दै आउनुहुन्छ । यही हो सम्पत्ति ।

स्वच्छताको कुरा

अनावश्यक आकांक्षाले मानिसलाई पथभ्रष्ट बनाउँछ, त्यस्तो आकांक्षा राख्नु भएन । पत्रकारितालाई स्वतन्त्र, स्वच्छ र विश्वसनीय बनाउन पत्रकार नै इमानदार हुनुप¥यो । ऊ आफैँले विश्वासिलो बनाउने हो यो क्षेत्रलाई । सर्वप्रथम त ऊ आफैँ विश्वासिलो हुन पर्याे । चाँडै मोटर चढ्ने आकांक्षा राख्नु भएन । पत्रिका पपुलर भएर, बिक्री भएर मोटर चढे त ठिकै छ त्यसमा विरोध छैन । तर, पहिले नै अब पत्रकार हुनलाई मोटर चाहिने मानसिकताले कसरी स्वतन्त्रता दिन्छ ?

अर्को कुरा, सत्य कुरा मात्र रिपोर्टिङ हुनुप¥यो । रिपोर्टरले विषयवस्तु छान्न सक्नुपर्छ र छान्ने स्वतन्त्रतता पाउनुपर्छ । सरकारी होस्, चाहे निजी क्षेत्रको होस् पत्रकारिता भनेको पत्रकारिता नै हो त्यो स्वतन्त्र हुनुपर्छ ।

हाम्रा मिडिया पारदर्शी भएनन् । मिडियामा पारदर्शिता हुनुपर्छ । पत्रकारिता स्वयं पारदर्शी भएन भने अरू पारदर्शी हुनुपर्छ भन्ने नैतिक धरातल गुम्छ ।
अहिले सुन्छु मिडियामा संकट आएको छ । व्यापार बिजनेस घटेको छ । पत्रकारहरू निकालिएका छन् । यो सबै आर्थिक पाटोसँग जोडिएको छ । पत्रकारिता नै आर्थिकमुखी भएपछि आर्थिक संकट आउने बित्तिकै पत्रकारितामा पनि संकट आउँछ नै । अब अलिकति हाम्रो पालाको जस्तो निष्ठा र तपस्यातिर ध्यान पु¥याउने हो कि ! आखिर पत्रकारिता त तपस्या पनि हो ।

प्रस्तुति : भरतराज पोखरेल

प्रतिक्रिया