बाराको पत्रकारिता पहिले र अहिले

पछिल्लो चरणमा पत्रकारिताप्रतिको विश्वास गुम्दै गएको छ । स्थानीय मात्रै होइन मूलधारका सञ्चारमाध्यम नै सङ्कटमा परिरहेका छन् । नयाँ नयाँ प्रविधि र सामाजिक सञ्जालका कारण पनि मूलधारका मिडियाको भविष्यमाथि प्रश्न उठिरहेका छन् । पत्रकारिताको पछिल्लो चासो र चिन्ताको विषय पनि यही हो ।

बिदुर खड्का

बारा मात्रै होइन अहिले समग्र पत्रकारिता पहिलाको भन्दा भएको छ । पहिलाको पत्रकारितामा एक पक्षीय रुपमा लेख्न लगाइन्थ्यो भने अहिलेको पत्रकारितामा स्वतन्त्रता भएकोले अहिले पत्रकारिता पेशामा रहेर हक अधिकारको बारेमा मज्जाले खुलेर लेखन सकिने अवस्था छ । सुरु सुरुमा बारा जिल्लामा २ वटा रेडियोको स्थापना भएको थियो भने ति रेडियोहरुले पनि सरकारको गुनगान गाउनु पर्ने अवस्था थियो । तर आजभोली बारामा करिब १७ वटा रेडियोको स्थापना भएको छ । तर पछिल्लो समय केही रेडियो बन्द छन् ।

२०५२मा मैले पत्रकारिता शुरु गर्दासदा पेपरमा हातले समाचार लेखेर फ्याक्स गर्नु पर्ने अवस्था थियो । अहिले मोबाईल ल्यापटपमा लेखेर सजिलै संग मेल लगायतका प्रविधिको सुरुवात भएकोले आज भोलि समाचार लेखेर सजिलै केहि मिनेटमै पठाउन सकिन्छ । समाजको समग्र बिकासमा पत्रकारिताको भूमिका अहम् छ । सामाजिक जागरण, गलत गर्नेका बिरुद्ध रखवारी, सकारात्मक कार्यहरुको उजागर, नकारात्मक पक्षको पर्दाफास गरेर पत्रकारहरुले पत्रकारिताका माध्यमबाट सामाजिक जवाफदेहिता बहन गरिरहेका हुन्छन् । अर्काे तर्फ आम नागरिकहरुको अधिकार प्राप्तिका लागि सञ्चार पैरवी गरेर अधिकारमुखि अवधारणाबाट पनि अगाडी बढेको पाईन्छ । परिवर्तनशील समय अनुसार पत्रकारिताको महत्व झन बढेर गईरहेकोछ ।

राज्यले पत्रकारितालाई चौथो अंग भनेता पनि आम नागरिकले पहिलो अंगको रुपमा पत्रकारितालाई लिइरहेका छन् । किनभने यहि अंगबाट अन्य अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका गुह्य कुरा र सकारात्मक÷नकारात्मक कुरा आम नागकिहरुले थाहा पाउँछन् । पत्रकारिताको माध्यमबाट प्राप्त राम्रा, नराम्रा कुराहरुबाट नागरिकले आ—आफ्नो दृष्टिकोण बनाउँछन् ।

पछिल्लो समय बारा जिल्लामा रहेका रेडियो पत्रपत्रिका र अनलाईनको अवस्था दयनीय रहेको छ । सरकारले रेडियो अनलाईन पत्रपत्रिकालाई स्थापित गर्नको लागि खासै नीति नलिएपछि अहिले बाराको पत्रकारिताको अवस्था दयनीय भएको छ । स्थानीय तहले मिडिया प्रवर्धन गर्नको लागि चाल्नु पर्ने कदम चाल्न नसकेपछि अहिले बाराका कतिपय रेडियो बन्द भईसकेका छन् भने कति रेडियो बन्द हुने अवस्थामा छन् । बाराका स्थानीय तहले चोर बाटो अपनाएर स्थानीय मिडियालाई नदिइ केन्द्रका मिडिया र आफ्नो आसेपासेलाई बिज्ञापन दिने गरको कारण बारामा अहिले रेडियो अनलाईन पत्रपत्रिकाको अवस्था दयनीय बन्दै गएको हो ।

छापा सञ्चार माध्यम, रेडियो, टेलिभिजनले मात्रै पत्रकारिताको भूमिका निर्वाह गर्न सक्ने अवस्था छैन अहिले । इन्टरनेटको बढ्दो बिकासले अनलाइन, फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालले सूचनामा नागरिकहरुको पहुँच ह्वात्तै बढाईदिएको छ । सामान्य व्यक्तिले पनि अहिले सञ्चारकर्मीको भूमिका निर्वाह गर्न सक्छ, गरेको छ । जसबाट नागरिक पत्रकारिता शुरुवात भएको महसुस गर्न सकिन्छ । यसले एकातिर समाजलाई सुसुचित गर्ने काम गरेको छ भने अर्काे तर्फ भ्रम फैलाउने काम पनि भईरहेको छ । लोकप्रियताका कारण पत्रकारितामा आकर्षण बढेको छ तर बुझेका, पढेका व्यक्तिहरुको आगमन पत्रकारितामा नहुँदा विवेक शुन्य भिड पत्रकारितामा लागिरहेको छ ।

पत्रकारितामा राजनीतिक प्रभाव बढ्दो छ । पत्रकारिता गरिरहेकाहरुले महासंघको सदस्यता पनि उतिकै आवश्यक पर्छ । तर, आज भोलि बारामा पत्रकारितामा आउनको लागि कुनै राजनीतिक दलको संगठन संग आबद्ध हुने क्रम पनि बढेको हो । तर खासमा महासंघको सदस्यताको लागि कुनै पार्टीको संगठनमा समावेश हुनु पर्ने जरुरी छैन । तर महासंघको आफ्नो संगठनको बर्चश्व बढाउनको लागि नै पार्टीको संगठनमा रहेकालाई मात्र सदस्यता दिने क्रम बढेको छ ।

पत्रकारिता गरेर नाम, दाम कमाउन सफल पत्रकारहरुको संख्या ठूलो छ । कुरा यति हो, नाम र दाम कमाउनका लागि काम गर्नु पर्दछ । थोरै काम गरेर सबै भन्दा चाँडो सबैसँग परिचित हुने, चर्चित हुने कुनै पेशा छ भने त्यो पत्रकारिता नै हो । पत्रकारितामा लाग्नेहरुलाई आम नागरिकले बौद्धिक, क्षमतावान व्यक्तिको रुपमा मात्र नभई सेलिब्रेटिकै रुपमा लिने गर्दछन् । नेपाल विकासोन्मुख देश हो यसले विकासको गति समात्दैछ । विकासका सबै कार्यहरुमा सञ्चारगृह र पत्रकारको उपस्थिति र निगरानी जरुरी छ । किनभने विकासमा आर्थिक कारोबार जोडिएको हुन्छ, आर्थिक चलखेल भयो, आर्थिक हिनामिना भयो, पारदर्शीता भएन भने विकास अघि बढ्न सक्दैन ।

अहिलेको पत्रकारितालाई हेर्ने हो भने पत्रकारिता गरेर जीविकोपार्जन गर्न त्यति सजिलो छैन । पत्रकारिता गरेर जीविकोपार्जन गर्नको लागि कुनै नेता,सांसद ,विधायकको गुनगान गनुपर्छ । यदि तपाईले यस्तो गर्नु भयो भने मज्जाले पत्रकारिताबाट जीविकोपार्जन गर्न सक्नुहुन्छ तर समाजको नजरमा तपाई पत्रकारको रुपमा रहीरहन भने कठिन छ । त्यसैले पत्रकारिता पेशालाई मार्यादित र बनाउन यस्ता विकृतिबाट जोगाउन जरुरी हुन्छ । पत्रकारिता त्यति सजिलो र सहज पेशा होइन ।

सत्यतथ्य घटनाहरूमा आधारित रही सञ्चारमाध्यमबाट आम नागरिकलाई जानकारी गराउनु नै पत्रकारिताको मूल धर्म हो । पत्रकारिता घटनाहरुको अनुसन्धान विवरणलाई विभिन्न शैलीबाट गरिने सङ्कलन, लेखन, सम्पादन, सरलीकरण र प्रस्तुतीकरण पनि हो । पत्रकारिताको मूल्य–मान्यता भनेकै सत्यतथ्य सूचना सम्प्रेषण गर्नु हो । पछिल्लो चरणमा पत्रकारिताप्रतिको विश्वास गुम्दै गएको छ । स्थानीय मात्रै होइन मूलधारका सञ्चारमाध्यम नै सङ्कटमा परिरहेका छन् । नयाँ नयाँ प्रविधि र सामाजिक सञ्जालका कारण पनि मूलधारका मिडियाको भविष्यमाथि प्रश्न उठिरहेका छन् । पत्रकारिताको पछिल्लो चासो र चिन्ताको विषय पनि यही हो । पत्रकारिताप्रतिको विश्वासलाई जीवन्त राख्न पत्रकार, सञ्चार गृह स्वयं पनि सच्चिन तयार हुनुपर्नेछ । पत्रकारिताको अवस्था, चुनौती र सम्भावनाका विषयमा सुक्ष्म वहस र विश्लेषणसहित अघि बढ्नु पर्ने आवश्यकता छ । पछिल्लो समय प्रविधिमा आएको बाढीका कारण पत्रकारिताको अवस्था, पत्रकारिताको विकास र दायरा बढेसँगै समस्या र चुनौती पनि बढेका छन् । नयाँ प्रविधिको सदुपयोग गर्दै समयसापेक्ष पत्रकारिताको अभ्यास गर्न जरुरी छ ।

(अखिलेश यादवसंगको कुराकानीमा आधारित)

प्रतिक्रिया