सोसल मिडिया विज्ञापनको स्थायी बजार होइन

नेपाली बजारको ४० प्रतिशत विज्ञापन डिजिटल माध्यम तथा सामाजिक सञ्जालतर्फ गएको देखिन्छ । त्यो नै सबथोक होइन । नेपाली मिडिया जगतको विज्ञापन बजार कमजोर भएको छैन तर सोच मात्रै कमजोर भएको हो । हिजो डिजिटल माध्यम तथा सामाजिक सञ्जाल नहुँदा पनि धेरैजसो विज्ञापन गोरखापत्रमा मात्रै जान्थ्यो ।

सुदीप थापा, अध्यक्ष–नेपाल विज्ञापन संघ

विज्ञापनको वर्तमान बजार

नेपालको वर्तमान विज्ञापन बजार भन्नुपर्दा पछिल्लो समय ग्राहकले हेर्ने प्लेटफर्म फेरिइसकेको अवस्था छ । विज्ञापनदाताहरू तथ्यांक हेरेर कति जनासँग पुग्छ भनेर अध्ययन गरेर विज्ञापन गरिरहेका हुन्छन् । हिजोका दिनमा सम्बन्धका आधारमा विज्ञापनमा लगानी हुन्थ्यो भने, अहिले त्यसबाट आउने प्रतिफलको आधार हेरेर विज्ञापन गर्ने गरिन्छ । मिडियाहरूको संख्या दिनप्रतिदिन बढ्दो अवस्था छ, प्रत्येक दिन नयाँ नयाँ प्लेटफर्म आइरहेका छन् । विज्ञापन एजेन्सीहरूको अस्वस्थ प्रतिष्पर्धाले गर्दा विज्ञापन बजार अहिले प्रभावित अवस्थामा छ । माग धेरै पूर्ति कम भएको हुँदा नकारात्मक प्रतिष्पर्धा भइरहेको छ । जसको कारण वर्तमान विज्ञापन बजार उथलपुथल अवस्थामा छ । नकारात्मक प्रतिष्पर्धा बढेकै कारण सबैलाई टिक्न गाह्रो भइरहेको छ ।

अस्वस्थ्य प्रतिष्पर्धा

एजेन्सी भनेको मध्यस्थकर्ता मात्रै हुन् । जब माग बढ्छ पूर्ति कम हुँदा अस्वस्थ प्रतिपष्र्धा हुने गर्छ । यहाँ सबैलाई टिक्न गाह्रो भइरहेको अवस्था छ । टिक्नकै लागि कतिपय मिडियाहरूले पनि आफ्नो मूल्यलाई एकदमै कम गरिदिएका छन् । मिडिया सेलिङको अनुपात एकदमै ऋणात्मक छ । मध्यमस्तरमा काम गर्ने केही तत्वहरू थप नाफा तथा फाइदा लिन खोज्दा विज्ञापन बजार यो अवस्थामा पुगेको हो । विज्ञापनदाता र मिडियाले आफ्नो लाइन प्रस्ट पारिदियो र सरकारी क्षेत्रबाट नियमन गर्ने हो भने यसरी वीचमा खेल्नेहरू आफँै पाखा लाग्छन् ।

एजेन्सीको भूमिका कति ?

मिडिया बचाइदिन विज्ञापन एजेन्सीहरू खुलेका होइनन् । मिडिया हाउसले आफ्नो बिजनेस गर्ने हो, आफ्नो योजना बनाउने हो । एजेन्सीले आफू बच्ने हो, आफ्नो मिडिया प्लान बनाउने हो । मिडिया र विज्ञापनदाताको बीचमा सन्तुलित भूमिका खेल्ने काम एजेन्सीले गर्ने हो । एजेन्सीले बजारबाट सधँै विज्ञापन ल्याउँदैन, आफूखुसी विज्ञापन बाँड्न पनि सक्दैन । मागको आधारमा, मिडियाको प्रभाव, पाठक, दर्शक श्रोता तथा प्रभावकारिताको आधारमा आफ्नो विज्ञापन गर्न विज्ञापनदाताले भनेको हुन्छ । त्यो विज्ञापन कहाँ रिलिज गर्दा प्रभावकारी हुन्छ भन्ने कुरा एजेन्सीले पनि सिफारिस गर्ने गर्दछ । तीनै निकायले अन्तरसम्बधित रहेर आवश्यकताको आधारमा काम गर्यौँ भने, बजार राम्रो हुँदै जान्छ । विज्ञापन थोरै छ, मिडिया धेरै छन् । एउटा विज्ञापन आउँदा मिडियाहरूबीच नै तानातानको अस्वस्थ छ । त्यसले गर्दा मूल्य एकदमै ऋणत्मक गएको छ । यसमा एजेन्सीको पनि महत्वपूर्ण भूमिका हुनुपर्ने हो तर त्यो पछिल्लो समय नभएको अवस्था छ ।

मुख्य भूमिका कसको ?

नेपाली मिडिया उद्योगले आज पनि नेपालको मिडिया बजार र विश्व बजार बुझ्न सकेको छैन् । विश्वमा मिडिया बजार कस्तो छ, कता जाँदै छ ? नेपाली मिडियाको बजारका विश्लेषणकर्ता को को हुन् ? यो कसले चलाइरहेको छ ? लगायतका कुराहरू नेपाली मिडिया जगतले केलाउन सकेको छैन । विज्ञापन उद्योग मिडिया उद्योग होइन । मिडियाका आफ्नै र एजेन्सीका आफ्नै उत्तरदायित्व छन् । एजेन्सीले मिडियामा आफ्नो बजारको लागि प्रयोग गर्ने हो । मिडियाले आफ्नो मार्केटिङ आफैँले गर्ने हो । कसरी आफ्नो मिडियाको प्रभावकारिता बढाउने ? कस्ता विषयवस्तु (कन्टेन्ट) हाल्ने ? आम बजारको माग के छ ? कस्तो कन्टेन्टले मिडियाको रीच (पाठक) बढ्छ ? भन्ने योजना स्वयं मिडियाले बनाउने कुरा हो ।

जुन मिडियाको पाठक तथा दर्शक श्रोता धेरै छन्, त्यसमा विज्ञापन छाप्न विज्ञापनदाता राजी हुन्छन् । जसको प्रभावकारिता छैन् उसलाई लगानी गर्दैन । यो अवस्थामा मिडिया र विज्ञापनदाताको बीचको पुलको काम विज्ञापन एजेन्सीहरूले गर्ने हो । विज्ञापन बजार बिग्रिनुमा कसको दोष भन्नुभन्दा पनि अब समीक्षा गर्दै आगामी दिनमा थप बिग्रन नदिनेतर्फ सोच्ने समय आएको छ ।

कुनै समय दैनिक समाचारपत्रहरूमा पहिलो पेज र अन्तिम पेजमा विषयबस्तु बलियो हुन्थ्यो, जुन पेजमा विज्ञापन छाप्न पालो कुरेर वा अग्रीम बुकिङ गर्नुपथ्र्यो । एजेन्सी तथा विज्ञापनदाता खुसी नै थिए । बजार उही हो, विज्ञापनदाता उही हुन्, मिडिया र एजेन्सी पनि उही नै हुन् । विज्ञापनको माग मिडियामा बढ्दो, विज्ञापनदाता लगानी बढाउन नाक खुम्च्याउने अवस्था र मिडियाभन्दा अन्य प्लेटफर्महरूमा पाठकको मन गएको कारण बजार बिग्रिएको जस्तो मात्रै हो बाहिर हल्ला भएजस्तो पूर्णरूपमा बिग्रेको छैन । हामी एकदमै प्रस्ट छौँ । माग र पूर्तीको तालमेल नमिल्दा बजारमा अस्वस्थ प्रतिष्पर्धा बढ्यो । एजेन्सी र मिडिया हाउसबीच कसरी डिलिङ भयो ? एजेन्सी र विज्ञापन दाताको बीचमा कसरी डिलिङ भयो ? त्यसमा भर पर्छ । बजार बिग्रेको भन्नुभन्दा पनि मिडिया ह्वात्तै बढ्यो तर विज्ञापनको मात्रा र बजार बढेन ।

सुदीप थापा, अध्यक्ष–नेपाल विज्ञापन संघ

बजारलाई ट्रयाकमा ल्याउन आनको भूमिका

आन विशुद्ध विज्ञापन एजेन्सीको प्रतिनिधित्व गर्ने संस्था हो । हामी एजेन्सी, मिडिया र विज्ञापनदातालाई उत्तिकै सम्मान गर्छौं । जति मिडिया खुले आनले सबै मिडियालाई टिकाउन सक्दैन । खुला अर्थतन्त्र हो कति खुल्दै जान्छन्, कति बन्द हुँदै जान्छन्, कति चल्दै जान्छन् । कि नेपाल सरकारले विज्ञापन बजार हेरेर मापदण्ड बनाएर मिडियालाई पनि नियमन गर्नुपर्यो । आनले भन्न सक्ने भनेको बजार हेरेर मिडियाको संख्या थप्न सरकारले पहल गरोस् । मिडियाको संख्या बढेको बढ्यै छ, तर बजार बढाउन पहल छैन, यस्तो अवस्थामा अस्वस्थ प्रतिष्पर्धा तथा बीचमा अस्वभाविक कमाउन खोज्नेहरू सक्रिय भएका हुन् । आनले बजार सुधारको लागि सुझाव सल्लाह दिनेबाहेक अरू सक्दैन ।

अस्वस्थ बार्गेनिङ रोक्न जरुरी

विज्ञापन बजारलाई व्यवस्थित तथा अस्वस्थ बार्गेनिङ गर्नेहरूलाई रोक्न सरकारी निकाय विज्ञापन बोर्डले नीति बनाएर काम गर्नुपर्दछ । सरकारी निकायले बजार धमिल्याउनेहरूलाई कारबाही गरोस् । हामी कसैलाई दोष लगाउने पक्षमा छैनौँ । नियमनकारी निकायले काम गरे अस्वस्थ प्रतिष्पर्धा रोक्न सकिन्छ । मिडिया बढी हुँदा अनावश्यक मोलमोलाई हुनथालेको हो । मिडियाले पनि देखाउनको लागि विज्ञापन नहालोस्, आफ्नै मूल्यमा हालोस् भन्ने मेरो सुझाव हो । अनावश्यक बार्गेनिङ गरेर बजार बिगार्ने काम गर्नेलाई मिडिया उद्योगले पनि तिरस्कार गर्नुपर्छ ।

विज्ञापन बजार खुम्चिएको छैन

विज्ञापनको बजार खुम्चिएको भन्ने हल्ला गलत हो । सात वर्षअगाडि पनि यही १४÷१५ अर्बको कारोबार हुने गर्दथ्यो, भने आज पनि त्यही नै हो । बजार घटेको छैन । बजार बढेन तर मिडिया बढेका हुन् ।

बजार नबढ्नुको कारण

विज्ञापन बजार नबढ्नुको कारण धेरै छन् । बजारले हरेक १० वर्षमा कोल्टे फेर्छ । अहिले मिडिया क्षेत्र र विज्ञापनको क्षेत्रमा परिवर्तन आउनु जरुरी छ । बजारमा अहिले मिडियाभन्दा डिजिटल प्लेटफर्महरू शक्तिशाली भएर आए । प्रविधिलाई नेपाली मिडियाले उपयोग गर्न सकेन । यसबारे अनुसन्धान गर्न जरुरी छ । सबै प्रकारका मिडियाका आ–आफ्नै भूमिका छन । आज पनि संसारमा प्रिन्ट मिडिया हल्ला भएजति कमजोर भएको छैन । नेपालमा पनि त्यति कमजोर भएको छैन । टिभी तथा रेडियो पनि नेपाल बाहिर त्यति कमजोर भएका छैनन् । हाम्रो मानसिकता कमजोर भइरहेको मात्र हो । नेपाल जत्रो देशमा नौ सय वटा रेडियो, यति धेरै मिडिया आवश्यक थियो त ? सोच्ने बेला भएको छ । सरकारले पनि नेपाली निजी मिडियालाई आफैँ टिक भनेर भनिरहेको छ, जसको कारण अनावश्यक अस्वस्थ प्रतिष्पर्धा भयो कि ? माग अनुसारको बजार बढ्न नसक्ने अवस्थाको कारण खोजी नहुनु नै हाम्रो कमजोरी हो ।

सामाजिक सञ्जालको प्रभाव

पाठक, दर्शक तथा श्रोताको चाहना जता छ विज्ञापनदाताले उतै लगानी गर्नु स्वभाविक हो । जता बढी मानिसको संलग्नता (इन्गेजमेन्ट) हुन्छ त्यतै लगानी गर्नु मार्केटिङ र विज्ञापनको धर्म नै हो । जता बिक्छ त्यता आफ्नो सामाग्री बेच्नु हरेक व्यवसायीको धर्म हो । नेपाल सरकारले विज्ञापन बोर्ड गठन गरेको छ । सरकारले सोसल मिडियालाई बोलाएर लाइसेन्स दिन्छ, मिडियालाई पनि लाइसेन्स बाँडिरहेको छ । व्यक्तिगतलाई पनि लाइसेन्स दिन्छु भन्छ । सरकार प्रष्ट छैन । नेपाली बजारको ४० प्रतिशत विज्ञापन डिजिटल माध्यम तथा सामाजिक सञ्जालतर्फ गएको देखिन्छ । त्यो नै सबथोक होइन् । नेपाली मिडिया जगतको विज्ञापन बजार कमजोर भएको छैन तर सोच मात्रै कमजोर भएको हो । हिजो डिजिटल माध्यम तथा सामाजिक सञ्जाल नहुँदा पनि धेरैजसो विज्ञापन गोरखापत्रमा मात्रै जान्थ्यो । त्यसपछि रेडियो, टेलिभिजनले बजार बढाए । त्यो समय बजार निकै बढ्यो । बजार बढेकै समयमा सोसल मिडियाको इन्गेजमेन्ट ह्वात्तै बढ्यो । मिडियाले सोसल मिडियालाई आफ्नो प्लेटफर्म बनाउन सकेन ।

मिडिया हाउस अब व्यक्तिगत हुनुभएन, उद्योगको रूपमा विकास हुनुर्यो । सोसल मिडिया मिडिया होइन, त्यसले मिडियाको ठाउँ ओगट्न सक्दैन । त्यो त केवल ‘कम्युनिकेट’ गर्ने माध्यम मात्र हो । सोसल मिडिया विज्ञापनको स्थायी बजार होइन । यो केही दिनको लागि मात्रै हो । नेपाली मिडियाले साना तथा मध्यमस्तरका उद्योग तथा लगानीकर्ताको लागि स्पेस नै दिएको छैन । स्टार्टअप बिजनेस गर्नेलाई पनि मिडियाले ठाउँ दिनुपर्यो । प्रमोट गरिदिनुपर्यो । जसले गर्दा मिडियाप्रतिको विश्वास र सकारात्मक प्रभाव बढ्छ । मिडियाले आफ्नो बजार बढाउन आफ्नो मार्केटिङ गर्न जरुरी छ ।

कोभिड अगाडि र पछाडिको विज्ञापन बजार

कोभिड अगाडि र पछाडि बजार हेर्दा मिडियाको संख्या हजारौँ थपियो तर बजार स्थिर रह्यो । कोभिड अगाडिभन्दा कोभिड पछाडि मिडियाको संख्या दोब्बर बन्यो । कोभिड पछाडि बजार केही मात्रामा प्रभावित भएको पक्कै हो । नेपाल सरकार पनि विज्ञापन बजारको ठुलो हिस्सेदार निकाय हो । जसले सूचनालाई सूचनाको रूपमा मात्रै प्रयोग गरिरहेको छ । आफ्नो प्रमोसनको रूपमा विस्तार गर्न सकेन । अहिले सरकारले सूचना तथा विज्ञापनको क्षेत्रमा सात अर्ब खर्च गरिरहेको बताइरहेको छ । निजीले १० अर्ब खर्च गरिरहेको छ । कोरोना अगाडि पनि यस्तै थियो । तर कोरोना पछाडि बजार नबढेको हो । मिडियाले पनि सकारात्मकरूपमा मार्केटिङ गरिदिनुपर्यो, एजेन्सीहरूले पनि सकारात्मक हिसाबले लाग्नुपर्यो । नकारात्मक कुराहरू धेरै भए अझै बजार घट्न सक्छ ।

विज्ञापन एजेन्सीको पहल

विज्ञापनदाताले विज्ञापनलाई मान्दैन भने उसको उद्योग बन्द हुन्छ । मिडियामा विज्ञापन नहाल्दा संकट निम्त्याउने उनीहरूलाई नै हो । एजेन्सीले पनि खाली कमिसनको भरमा आफूलाई टिकाउने हो कि ? विश्वासिलो बनाउने हो भनेर सोच्ने बेला भएको छ । लगानी बढाउनुपर्यो । मिडियाले पनि आफूलाई रूपान्तरण गर्नुपर्यो । आफ्ना ग्राहक किन अन्त मोडिए खोजी गर्नुपर्यो । मिडियाले आफ्नो पनि विज्ञापन गर्नुपर्यो ।

विज्ञापनलाई व्यवस्थित गर्न सरकारले बोर्ड बनाएको छ, यो सुखद् कुरा हो । बोर्डले गर्नुपर्ने काम नगरी अरू अरू कामतिर लाग्नु दुःखद् कुरा हो । नीति निर्माण बनाएर कार्यान्वयन गर्नुपर्ने बोर्डले गठन भएको दुई वर्षसम्म एउटा नीतिसमेत नबनाएर बजार विस्तार कसरी गर्ने भनेर लागेको छ । बजारको विस्तार तथा बजारको चिन्ता गर्ने त हामी निजी क्षेत्र, एजेन्सी, संघ संस्था छँदै छौँ नि । सरकारले बजारको भन्दा नीतिको चिन्ता गर्नुपर्यो । सरकारले सबैलाई उपयुक्त हुने काम गरिदियो भने, अस्वस्थ प्रतिष्पर्धा रोकिन सक्छ । गलत गर्नेलाई कानुनी कठघरामा ल्याउन बोर्डले नीति नियम बनाउनुपर्यो । बोर्डले नीतिको काम छाडेर बजार विस्तारतर्फ लाग्दा बजार झन् अन्योलमा छ । नलाग्नुपर्ने कामतर्फ बोर्ड लागेको छ ।

(सौर्यकर्मी केशव भट्टसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया