‘न्युजरुम’ भित्रै दलहरूको चलखेल र खटनपटन

नेताहरूले राजनीतिको स्वार्थ पूरा गर्न एउटा भर्याङका रूपमा पत्रकारितालाई प्रयोग गर्ने गरेका छन् । अहिले दर्जनौँ नेताहरू पत्रकारितालाई भर्याङ बनाएर सांसद मन्त्री र राजनीतिमा हालिमुहाली बनाएको देखिन्छ । जुन राजनीतिक पार्टी र तिनका नेताहरूले पत्रकारिताको चरम दुरुपयोग गरिरहेको धेरै उदाहरण दिन सकिन्छ ।

बालकुमार नेपाल

काठमाडौं । एमाले केन्द्रीय कार्यालय बल्खुमा पत्रकारहरूको एउटा अघोषित गोप्य भेला थियो । भेलाको शीर्षक नै पार्टीको तर्फबाट समाचार लेख्न पार्टी समर्थकको भूमिकाका बारेमा थियो । पार्टीको चाहना र पत्रकारहरूको व्यावसायिकताको बीचमा बेलाबेला टक्कर पर्दै आएको थियो । त्यो बेला पनि केही टक्कर परेकै थियो ।

बल्खुको त्यो भेलामा काउन्सिलिङ गर्ने नेता थिए प्रदीप नेपाल । उनी एमालेका तत्कालीन प्रचार विभाग प्रमुख थिए । उनी प्रचार परिचालनमा त्यसबेलाको सबै पार्टीका नेता मध्ये उनी ‘नम्बर वान’ मानिन्थे । उनले पत्रकारहरूको मन जितेकै थिए । पार्टीको पनि मन जितेकै थिए । उनले भनेपछि पत्रकार र पार्टीका नेताहरू कसैले पनि नाइनास्ती गर्दैनथे ।

बल्खुको त्यो छलफलमा छानिएका पत्रकारहरू मात्रै निम्तालु थिए । एमाले बिटमा समाचार लेख्ने मध्य पनि एमालेका सदस्यहरूलाई बोलाइएको थियो । त्यसमा केही पार्टीका सदस्यता दिने निर्णय भएका तर औपचारिक रूपमा शपथ नलिइसकेकालाई पनि बेलाइएको थियो । त्यो बोलाइएका मध्य राजधानी दैनिकमा एमाले बिट हेर्ने, तर एमालेको सदस्यता दिने निर्णय भएर पनि औपचारिकता दिन बाँकी रहेका मात्रिका पौडल लगायतलाई बोलाइएको थियो । पौडेल त्यसबेला पत्रकारितामा उदाउँदो पत्रकारका रूपमा थिए, त्यसैले राजधानी दैनिकबाट उनलाई बोलाइनु स्वभाविक थियो ।

लामो समय नेपाल र पत्रकारहरूबीच देशको समसामयिक राजनीतिमा छलफल भयो । प्रदीप नेपालले संकटकालको विषयमा समाचार लेख्ने विषयमा एमालेका सदस्यको भूमिकाका विषयमा प्रकाश पार्दै पार्टीको आन्तरिक राजनीतिको बारेमा पनि धेरै बिफ्रिङ गरेका थिए । त्यसबेलासम्म समाचार बन्ने एउटा कुरा पनि आएको थिएन । तर, समाचार बन्ने एउटा चिज नेपालले फुत्त मुखबाट फुत्काए । त्यो थियो जारी माओवादी युद्ध र संकटकाल । उनले यस विषयमा यो तपाईंलाई जानकारी मात्र हो समाचार नलेख्नु होला भन्दै एउटा कुरा फुत्काए – त्यो थियो संकटकाल । उनको भनाइ थियो – हाम्रो पार्टीको महासचिव (त्यो बेला एमालेको पार्टी प्रमुख नै महासचिव हुन्थे) माधवकुमार नेपाललाई संकटकाल लम्ब्याउन सेनाले दबाब दिइरहेको छ । देशमा संकटकाल लम्ब्याउन नहुने विषयमा दलहरूले दबाब दिइरहेका थिए । यस्तो बेलामा एमालेजस्तो प्रमुख पार्टीका महासचिव माधव नेपाललाई यस्तो दबाब आएको समाचार प्रकाशित हुनु नै सनीसनी थियो । माधव नेपाल र सेनाबीचको यो भित्री कुराको समाचार आएपछि एमालेभित्र पनि केही बहस र विवादको विषय बन्यो । देशको राजनीतिमा अर्को तरंग आएको थियो । त्यसको भोलिपल्ट नै माधव नेपालले त्यो समाचारको खण्डन गरे । तर, सेनाले भने संकटकाल लम्ब्याउन दबाब दिएको कुरा सही भएर नै निस्क्यो ।

यो समाचार प्रकाशित भएपछि पार्टीको आन्तरिक कुरा किन बाहिर ल्याएको भन्दै एमालेले मात्रिका पौडेलमाथि सक्दो कारबाही गर्ने इरादा लियो । उनले पार्टीको सदस्यता प्राप्त गरेको तर औपचारिक रूपमा शपथ नलिएकोले शपथ नलिन सम्बन्धित कमिटीलाई निर्देशन दिइयो र लामो समय उनको शपथ रोकियो । उनले समाचार लेखेको विषयमा यो ठीक कि बेठीक भनेर पनि पक्ष र विपक्षमा बहस भयो । अन्तिममा पत्रकारिता पेसा नै मुख्य भएकोले त्यो समाचार लेखेको ठीक हो भन्नेमा धेरैले सहमति जनाए ।

एमालेले पौडेललाई कारबाही गर्न टेक्ने ठाउँ नभेटेपछि राजधानीका व्यवस्थापन पक्षलाई दबाब दिएर उनको बिट ‘चेन्ज’ गर्न लगायो । समाचार प्रकाशित भएको एक साताभित्र उनको बिट ‘चेन्ज’ भयो र एमाले बिटबाट उनलाई हटाएर जिल्ला ब्युरोमा सारियो । जुन बेला पत्रकारिता र राजनीतिक समाचार भनेको नै एमाले, कांग्रेस, माओवादी र दरबार मानिन्थे । त्यो बेला यी बिटहरू धेरैपटक समाचारको फूल फुल्ने बारीजस्तै थिए । यो बिटबाट कसैलाई हटाउनु भनेको नै जगेडामा राख्नुजस्तै मानिन्थ्यो ।

त्यसैले पार्टी कारबाही गर्न नपाएको एमालेले व्यवस्थापनलाई भनेर मात्रिकाको बिट चेन्ज गर्न लगाएर कारबाहीको धित मारेको थियो । नेपाली पत्रकारिताको विकास हुँदै जाँदा आइपरेका यस्ता घटना हुन् । यो त केवल प्रतिनिधि घटना मात्रै हो । यस्ता दर्जनाँै घटना ठूला सञ्चार माध्यमका ‘न्युज रुममा’ भएका छन् । आफ्नो अनुकूल नहुने र आफूलाई अप्ठ्यारो पार्ने खालको समाचार आउने बित्तिकै राजनीतिक पार्टीको नेतृत्व च्यानल खोज्दै मिडिया हाउसमा प्रवेश गथ्र्यो र अहिले पनि प्रवेश गर्छ । मिडिया हाउसमा फैलँदै गरेको यो ‘स्लो पोइजन’ अहिले पनि देखिने गरेको छ । जो अहिले पनि भित्रिरूपमा न्युजरुमभित्र दलगत हस्तक्षेप र खटनपटन जारी नै छ ।

माओवादी संकटकालमा एकातर्फ सम्पादकको कुर्सीमा देखिने गरी सेना बसेको हुन्थ्यो भने अर्कोतर्फ पार्टीको नेतृत्व न्युजरुमको खटनपटन र कार्य विभाजनमा समेत नदेखिने गरी प्रवेश गरिरहेको हुन्थ्यो । एउटा यस्तो समय आएको थियो जुन बेला पार्टीको पक्षमा मात्र समाचार कसरी लेख्ने भनेर पार्टी कार्यालमा निकट पत्रकारहरूलाई घोकाइन्थ्यो । पत्रकारहरूको कमजोरी पनि यो हुन्थ्यो कि उनीहरू पनि कुनै न कुनै पार्टीमा झुकाव राख्थे । पार्टी नेतृत्वले आफैँले पत्रिका सञ्चालन गरेको र आफ्नो कार्यकर्ता पार्र्टीको प्रचार गराउन पठाएको जस्तो अनुभूति हुने गरी त्यस्तो कमजोरीको फाइदा उठाउँथे ।

विशेष गरी नेपालको राजनीतिमा केही समय अघिदेखि प्रभाव राख्दै आएका कांग्रेस, एमाले, माओवादीको समर्थक पत्रिका कुन बार कुन प्रकाशित हुन्छन् भनेर औँला गनेर हिसाबकिताब गर्नुपर्ने अवस्था थियो । नेपाल अधिराज्यको संविधान, २०४७ घोषणा भइसकेपछि नेपाली प्रेसले स्वतन्त्र, मर्यादित, जवाफदेही र अनुशासित हुँदै संविधान अनुसार सूचनाको हकलाई नागरिकको मौलिक हकको रूपमा स्थापित ग¥यो । तर, पत्रकारिताको महत्व बुझेका दलहरूले नेपाली पत्रकारितालाई संविधानमा स्वतन्त्र र निष्पक्ष बनाइदिए पनि पत्रकारलाई भने पार्टीकारिताको अभ्यासमा लगाए । बहुदलीय व्यवस्थासँगै खुलेका दलहरूले आआफ्ना संगठन निर्माण गर्ने क्रममा पत्रकारहरूको संगठन बनाए । र, स्वतन्त्र पत्रकारिताको घाँटीमा पार्टीकारिताको घण्टी बाँधी दिए । जुन काम आज पर्यन्त जारी छ ।

अहिले पत्रकारकै आधा दर्जन संगठन छन् जो प्रत्यक्ष रूपमा नेपालका राजनीतिक दलका आवाजलाई मुखरित गर्छन् । नेपाल प्रेस युनियन, प्रेस चौतारी, समाजवादी प्रेस संगठन, क्रान्तिकारी पत्रकार संघ (हाल प्रेस सेन्टर) लगायत यस्ता आधा दर्जन संगठन छन् जसले स्वतन्त्र पत्रकारितालाई होइन पार्टी पत्रकारितालाई मलजल गरिरहेका छन् । प्रत्यक्ष अप्रत्यक्ष रूपमा अहिले सञ्चालनमा आएका सञ्चार माध्यममा दल र तिनका नेतृत्वको लगानी र सिद्धान्त रहेको कुरा घाम जत्तिकै छर्लंग छ ।

नेपालमा अहिलेसम्म जति पनि पत्रकार र तीनका संस्थाहरू छन ती मध्ये २० प्रतिशत पनि स्वतन्त्र छैनन् । कुनै संस्था स्वतन्त्र होला तर, त्यहाँ कार्यरत पत्रकार स्वतन्त्र छैनन् । पत्रकार हुनु भनेको विवेकशून्य र विचारशून्य भने होइन, उ, देशको हरेक विषयमा चासो राखेकोले राजनीति बुझ्नु अनिवार्य हो र राजनीतिमा कतै झुकाव पनि उसको मौलिक अधिकारको कुरा हो । तर, पत्रकारको हिसाबमा भने यो झुकाव नदेखिनुपर्ने हो । जसरी जुत्ता फुकालेर घरभित्र वा मन्दिरभित्र प्रवेश गरिन्छ त्यसैगरी त्यो विचार त्यही फुकालेर पेसा कर्ममा लाग्नुपर्ने हो । तर, नेताहरूले राजनीतिको स्वार्थ पूरा गर्न एउटा भ¥याङका रूपमा पत्रकारितालाई प्रयोग गर्ने गरेका छन् । अहिले दर्जनौँ नेताहरू पत्रकारितालाई भ¥याङ बनाएर सांसद मन्त्री र राजनीतिमा हालिमुहाली बनाएको देखिन्छ । जुन राजनाीकि पार्टी र तिनका नेताहरूले पत्रकारिताको चरम दुरुपयोग गरिरहेको धेरै उदाहरण दिन सकिन्छ ।

यो अत्यन्त डरलाग्दो विषय हो । राणाशासन, पञ्चायत, बहुदल र गणतन्त्रसम्मको यात्रामा नेपाली पत्रकारिता कहीँ न कतैबाट प्रभावित भइरह्यो, पक्षधरामुक्त हुन सकेन । भनिन्छ प्रेस र प्रजातन्त्र एकअर्काका परिपूरक हुन् । राणाशासन, पञ्चायती शासन, बहुदलीय व्यवस्था, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा जुनै व्यवस्था र पद्दतिसँग प्रत्यक्ष जोडिएर जनताको आवाज मुखरित गर्ने भनेकै पत्रकारिता थियो र रहनेछ । तर, यसलाई प्रत्यक्ष रूपमा जनताको, राष्ट्रको पक्षमा उभ्याउनु आजको चुनौती हो ।

पत्रकारिताका नाममा वर्तमान समयमा उदाएका पार्टीकारिता, स्वार्थकारिता, भाइरलकारिता, युट्युबकारिताले समाज र देशलाई सही दिशानिर्देश गर्न सक्दैन । पत्रकारिता स्वतन्त्र हुनुपर्छ त्यसमा दुईमत छैन । २०७४ सालको संविधानले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गरेको छ । पक्कै पनि नेपाली पत्रकारिता भयरहित छैन । राणा शासनकालदेखि पञ्चायत, २०४६ पछिको बहुदल, २०५२ सालपछिको १० वर्षे माओवादी जनयुद्ध, जनआन्दोलन २०६२÷०६३ र अहिले २०७२ सालमा जारी भएको संविधान र त्यसपछिका दिनसम्म पनि नेपाली पत्रकारिता र पत्रकार भयरहित हुन सकेका छैनन् ।

राणाकालमा राणाहरूको आँखामा नेपाली पत्रकारिता तारो भयो । पञ्चायत कालमा राजा महेन्द्र र तीनका मतियारले अंकुश लगाए । बहुदलीय व्यवस्थामा पनि दलहरूले कुनै न कुनै रूपमा हस्तक्षेप गरे । २०५२ सालमा तत्कालीन माओवादीले सशस्त्र जनयुद्ध सुरु गर्दा त नेपाली सञ्चार क्षेत्र सबैभन्दा नराम्ररी प्रताडित भयो । त्यो बेला नेपाली पत्रकारिता राज्य र विद्रोही दुवै पक्षबाट प्रताडित भयो । करिब तीन दर्जन बढी पत्रकारको हत्या भयो । यसमा राज्य पक्ष जसले स्वतन्त्र र भयरहित पत्रकारिताको ग्यारेन्टी गर्नुपर्दथ्यो उसैबाट पत्रकारको हत्यासम्म भयो । यस क्रममा पत्रकारहरूले शारीरिक, मानसिक, आर्थिक, भौतिक यातना भोगे ।

नेपाली पत्रकारिता भयरहित हुन नसक्नुमा राज्य, परिस्थिति र कालखण्ड जति जिम्मेवार छ, स्वतन्त्र पत्रकारिता गर्ने भन्दै कुनै व्यक्ति, विचार र सिद्धान्तको खोल ओढेर पत्रकारिता गर्ने पद्दति त्यत्ति नै जिम्मेवार छ । एउटा पत्रकार कुनै पार्टी र सिद्धान्तप्रति आस्थावान हुनु उसको स्वतन्त्रताको अधिकार हो । तर, उसले गर्ने पत्रकारिता कुनै एकल पार्टी, सिद्धान्त र विचारधाराबाट मात्रै प्रवाहित हुनुहँुदैन । उसको कलमले कालोलाई सेतो र सेतोलाई कालो देख्नु हुँदैन । कालोलाई कालै भन्नुपर्छ सेतोलाई सेतै भन्नुपर्छ । यहाँ कतिपय यस्ता पत्रकारिता गर्नेहरू छन् जो पत्रकारिताको मूल्य र मान्यतालाई धोती लगाएर अनैतिक क्रियाकलाप गर्दै समाजमा पत्रकारिताको धज्जी उडाइरहेका छन् । अहिले मिडियासंकट आउनुमा यो प्रवृत्ति पनि कतै न कतै जिम्मेवार छ ।

आजकल सञ्चार माध्यमबाटै पनि पत्रकारहरू भयभित भएका छन् । आफ्नो रोजगारी कतिखेर जान्छ भन्ने भय लिएर पत्रकारहरू कलम चलाउन बाध्य छन् । पेसागत सुरक्षा र ग्यारेन्टी नहुँदा महिनौँ काम गरेर पनि त्यसको पारिश्रमिक नपाइकन भोकभोकै पत्रकारिता गर्नुपर्ने अवस्था छ । दिनभर घामपानी, जाडोगर्मी नभनी ज्यानको जोखिम मोलेर गरेको पत्रकारिताबाट कमाएको आम्दानीले बेलुका घरमा गएर परिवारसँग हँसिलो मुद्रामा एक गाँस मिठो खान सक्दैन भने त्यसले गरेको पत्रकारिताको अर्थ छैन । जसरी भोको पेटले राजनीति गरिँदैन भनिन्छ, त्यसैगरी भोको पेटले पत्रकारिता पनि गरिँदैन । व्यावसायिक पत्रकारिता आजको अपरिहार्यता हो । अहिले राम्ररी अनुसन्धान गरियो भने ७० प्रतिशत सञ्चार गृहका पत्रकारहरू जो दिनभर आफ्नो ज्यानको पर्वाह नगरी फिल्ड रिपोर्टिङमा खटिन्छन् उनीहरू कहिले जागिर जाने हो भयमा काम गरिरहेका छन् ।

प्रतिक्रिया