नेपाली इतिहासको गौरवशाली दिन

आज हामी प्रजातन्त्र दिवस मनाउँदै छौँ । किनकी जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिन हो फागुन ७ । १ सय ४ वर्षे जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनको स्मरणमा हरेक वर्ष प्रजातन्त्र दिवस मनाउने गरिन्छ । यसपटक हामी ७४औँ प्रजातन्त्र दिवस मनाउँदै छौँ । २००७ फागुन ७ गते स्थापना भएको प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको पनि १५ वर्ष पुगिसकेको छ । निरंकुश राणाशासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्ने संघर्ष तथा बलिदानीको शृंखला लामो छ । मलुकका अहिलेसम्मका सबै राजनीतिक उपलब्धि २००७ सालको क्रान्तिको जगमा प्राप्त भएका हुन् । राजनीतिक उपलव्धीको दृष्टिले मात्रै होइन राष्ट्रियताका दृष्टिले पनि नेपाल एकीकरण पछिको सबैभन्दा महत्वपूर्ण दिन भनेको २००७ फागुन ७ गते सम्पन्न जनक्रान्ति नै हो । मेचीदेखि महाकाली र हिमालदेखि तराईसम्मका सबै जनतालाई ‘आफू नेपाली हुँ, आफ्नो देश नेपाल हो’ भन्ने यथार्थता अवगत गराएको २००७ सालको जनक्रान्तिले नै हो । २००७ सालसम्म पनि नेपाल भनेर काठमाडौं उपत्यकालाई मात्रै चिनिन्थ्यो । उपत्यका बाहिरबाट ‘नेपाल’ प्रवेश गर्दा भिसा चाहिन्थ्यो । उपत्यका बाहिरका रैतीहरूको पहिचान नेपालीका रूपमा थिएन । उपत्यकाका रैतीहरूलाई मात्रै नेपाली भनिन्थ्यो । नेपाल संयुक्त राष्ट्रसंघको सदस्य थिएन । नेपाली भाषालाई गोरखा भाषा भनिन्थ्यो ।

नेपाल एकीकरणपछि हाम्रा पुर्खाहरूले गरेको सबैभन्दा महान काम हो, ‘२००७ सालको जनक्रान्ति ।’ यही महान कामको प्रेरणा भावी पुस्तासम्म प्रवाह गर्न हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । ताप्लेजुङका शेर्पादेखि कञ्चनपुरका थारूसम्म र दार्चुलाका व्याँसीदेखि झापाका राजवंशीसम्मलाई एउटै टेबुलमा राखेर गठन गरिएको पार्टी नेपाली कांग्रेसको अगुवाइमा २००७ सालको क्रान्ति भएको हो । त्यसभन्दा अघि सम्पूर्ण नेपालीहरूको प्रतिनिधित्व गर्ने एउटै संयन्त्र नेपालमा बनेको थिएन । पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण गरे पनि जनस्तरमा एकीकरण हुन बाँकी नै थियो । जसरी नेपाली कांग्रेस गठनका लागि झापादेखि दार्चुला र ताप्लेजुङदेखि कञ्चनपुरका जनता एक ठाउँमा उभिएका थिए त्यसरी नै सबै क्षेत्र, जाति तथा तह तप्काका जनता एउटै मोर्चामा खडा भएर २००७ सालको जनक्रान्ति सम्पन्न गरे । भूगोलको एकीकरण गरिसक्दा नसक्दै पृथ्वीनारायण शाहको निधन भयो । सामाजिक एकीकरणको काम अघि बढाउन त्यसपछिका शासक लामो समयसम्म चुके । यही सन्दर्भमा नेपाली कांग्रेसको उदय भयो । जसरी पृथ्वीनारायण शाहको कदम इतिहासको माग थियो, त्यसरी नै नेपाली कांग्रेसको उदय तथा २००७ सालको जनक्रान्ति पनि इतिहासको माग थियो ।

२००७ सालको जनक्रान्ति नेपाल एकीकरणकै निरन्तरता थियो । एकीकरणको कदम अघि नबढेको भए सायद नेपाल भन्ने देश नरहन पनि सक्थ्यो । यसैगरी २००७ सालमा क्रान्ति नभएको भए नेपालको हालत तिब्बत, कश्मीर तथा सिक्किमको जस्तो हुन्थ्यो, नभए भुटानको जस्तो त पक्कै हुन्थ्यो । प्रजातन्त्रको घोषणा गर्ने क्रममा राजा त्रिभुवनले भनेका थिए, ‘अब मुलुकको शासन व्यवस्था जननिर्वाचित प्रतिनिधिहरूले निर्माण गर्ने संविधान बमोजिम चल्नेछ ।’ तर केही महिना बित्दानबित्दै राजा त्रिभुवनले जनक्रान्तिका उपलव्धीमाथि धोकाधडी सुरु गरे । राजा भएको देशमा जननिर्वाचित प्रतिनिधिले संविधान बनाउन नमिल्ने कु तर्क राजाहरूले गरे । राजनीतिक उपलव्धी खोसिए पनि जनचेतनारूपी उपलव्धी खोस्न संभव भएन । त्यसपछिका ५५ वर्षको निरन्तर संघर्षपछि जनआन्दोलन २०६२–२०६३ मार्फत जनताले आफ्ना लागि आफँै शासन व्यवस्था तय गर्ने अधिकार लिइछाडे । धोकाधडीमा संलग्न राजतन्त्रलाई सदाका लागि बिदा गर्दै जनताले गणतन्त्र स्थापना गरे । त्यसैले फागुन ७ लाई कर्मकाण्डका रूपमा मात्रै नभएर वर्तमान उपलव्धीको गाथा सन्तान दरसन्तानसम्म सुनाइरहने पर्वका रूपमा लिनुपर्छ । शासन सत्तामा पुगेका जनप्रतिनिधिहरूबाट केही त्रुटी भएका छन् । सुशासन छैन, आर्थिक समृद्धिको एजेन्डा नारामा मात्रै सीमित भएको छ । शासन सत्तामा व्यक्तिगत स्वार्थ हावी भएको छ । तर, यसको दोषी लोकतन्त्र होइन, शासन पद्धति होइन ।

प्रतिक्रिया