पत्रकारिता जगत बलियो भए संघीयता मजबुद हुन्छ : सभामुख मण्डल

धनुषा । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले पत्रकारिता जगतलाई बलियो बनाए मात्र संघीयतालाई मजबुत हुने बताएका छन् । राष्ट्रिय समाचार समितिको ६३औँ वार्षिकोत्सवको उपलक्ष्यमा मधेस प्रदेश कार्यालयले आइतबार जनकपुरधाममा आयोजना गरेको ‘सघीयतामा पत्रकारिता र रासस’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले पत्रकारिता जगतमा भएको कमीकमजोरीलाई सुधार गर्दै देश, जनता तथा संविधानको पक्षमा जिम्मेवार बन्न आवश्यक भएको बताए ।
उनले राष्ट्रिय समाचार समिति आफैँमा समाचारको ठूलो स्रोत रहेको बताउँदै यसका समाचारहरू जहिले पनि सत्य तथ्यमा आधारित हुने गरेको र यसप्रतिको जनविश्वासलाई अगामी दिनमा अझ बढी बलियो बनाउँदै जाने आशा व्यक्त गरे । जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले नेपालको पत्रकारिता सहर केन्द्रित हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै गाउँका जनताको पीडा तथा जनजीविका विषयमा बढी समाचार बाहिर ल्याउन आवश्यक भएको बताए ।

यस्तै कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डले सामाजिक सञ्जालको बढ्दो प्रयोगले पत्रकारिता क्षेत्रमा धेरै चुनौती थपिँदै गएको बताउँदै पत्रकारिताको हितका लागि भए पनि यसको पुनर्संरचना हुन जरुरी रहेको बताए । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले राष्ट्रिय समाचार समितिले आधिकारिक समाचार दिने प्रमुख संस्थाको रूपमा रहेकाले जनकपुरधाम उपमहानगरपालिकाले रासससँग मैथिली भाषाको बुलेटिन प्रकाशनमा सहकार्य गरेर काम गर्न तयार भएको बताए ।

यस्तै आमसञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले मुलुकमा संघीयता, समावेशीता सहितका विषयमा विगतमा आमसञ्चार जगतले खेलेको भूमिकाका कारणले मुलुकमा अहिलेको अवस्थामा पुगेको बताए । उनले सञ्चार जगतको संरक्षण गर्ने दायित्व तीनै तहका सरकारको भएको पनि बताए । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जीतेन्द्र महासेठले पत्रकारिता क्षेत्रले सरकार तथा नागरिकका बीचमा पुलको रूपमा काम गर्ने गरेको बताउँदै पत्रकारहरू जहिले पनि तटस्थ भएर कलम चलाउन आवश्यक भएको बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रिंकु गायत्री मिश्रले संघीयता ल्याउनमा सञ्चार जगतको भूमिका महत्वपूर्ण भए पनि अहिले मिडिया क्षेत्र अप्ठ्यारोमा पर्दा संघीयताका पक्षधरले ध्यान नदिनु चिन्ताको विषय भएको बताइन् ।

नेपाल पकार महासंघ धनुषाका अध्यक्ष मनिका झाले पत्रकारहरू अहिले पत्रकारिता क्षेत्रबाट पलायनको अवस्थामा पुग्दा सरोकारवाला निकाय मूकदर्शक बन्नु चिन्ताको विषय भएको बताउँदै विज्ञापन बजारमा व्यापक अनियमितता हुने गरेको आरोप लगाइन् । राष्ट्रिय समाचार समिति मधेस प्रदेशका प्रमुख टीकाराम सोनारको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार एवं गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक सीताराम अग्रहरी, वरिष्ठ पत्रकार हिमांशु चौधरी, रेडियो नेपालका संवाददाता अजय कुमार झा, राससका महोत्तरी प्रतिनिधि गोपाल बराल सहितका वक्ताहरूले बोलेका थिए ।

प्रतिक्रिया