मधेसका मुख्यमन्त्रीले तेस्रोपटक पाए विश्वासको मत

यादवको पक्षमा ६९, विपक्षमा ३५ सांसद

जनकपरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । १ सय ७ सदस्यीय प्रदेशसभामा ६९ जना सांसदले उनको पक्षमा मतदान गरेका थिए भने ३५ जना सांसदले उनको विपक्षमा मतदान गरे ।
नेकपा एमाले र जनमत पार्टीले मुख्यमन्त्री यादवको विपक्षमा मतदान गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा १ सय ४ जना सांसद उपस्थित भएका थिए । गत माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएपछि र समर्थनसमेत फिर्ता लिएपछि मुख्यन्त्री यादवले तेस्रोपटक विश्वासको मत लिएका हुन् ।

जसपाका यादव गत पुस २७ गते मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । यसअघि एमाले सरकारबाट बाहिरिएपछि गत जेठ ३० गते मुख्यमन्त्री यादवले दोस्रोपटक विश्वासको मत लिएका थिए ।

मुख्यमन्त्री यादवले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतपाउँ भनी राखेको प्रस्तावमा बोल्दै प्रदेशको पहिलो तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता सरोज यादवले गठबन्धनमा रहेका दलहरू मुटुमाथि ढुंगाराखी हाँस्नु प¥या छ भन्ने अवस्थामा रहेको टिप्पणी गरेका थिए ।

उनले यथास्थितिलाई अस्वीकार गर्ने हिम्मत गरेको भन्दै जनमत पार्टीलाई धन्यवाद दिए । मुख्यमन्त्रीबाहेक अरू कसैले सरकार चलाइरहेको आभाष नभएको उनले आरोप लगाए । यद्यपि उनले मुख्यमन्त्री इमानदार व्यक्तित्व रहेको पनि बताए ।

गठबन्धनकारी र राष्ट्रिय गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका नेता कृष्ण यादवले वर्तमान सरकारको कामकारवाहीबाट आफूहरू खुसी नरहेको बताए । ‘६ वर्षको जसपा नेतृत्वको सरकारवाट मधेसी जनता खुसी छैनन् र हामी पनि खुसी छैनौँ’, उनले टिप्पणी गरे ।
अन्य पार्टीका नेताहरूले पनि मधेस सरकारको कार्यसम्पादन कमजोर हुँदा जनतामा असन्तु्ष्टि मात्र नभई संघीयता नै खतरातर्फ गइरहेको भन्दै आलोचना गरेका थिए ।

दलका नेताहरूले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री यादवले मन्त्री हुँदा सबै ठिक र नहुँदा बेठिकजस्ता कुरा नगर्न एमाले र जनमत पार्टीका नेताहरूलाई आग्रह गरेका थिए ।
बैठकको प्रारम्भमा जनमत पार्टीले मुख्यमन्त्रीको उपस्थितिमै सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा सहउपकुलपतिसमेत रहेका शिक्षामन्त्री माथि सांघातिक आक्रमण भएको भन्दै मुख्यमन्त्रीको जवाफ र माफी खोज्दै १० मिनेट बैठक अवरुद्ध पारेका थिए । मुख्यमन्त्रीले अगामी बैठकमा जवाफ दिने सहमति जनाएपछि बैठक अगाडि बढेको थियो ।

प्रतिक्रिया