बागमती साकोस समिट हुँदै

काठमाडौं । यही फागुन १६ र १७ गते ‘वाग्मती प्रदेश साकोस समिट–२०८०’ हुने भएको छ । वाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघ (वाग्मती प्रोस्कून)ले समिट आयोजना गरेको हो । भक्तपुरको गठ्ठाघरमा हुने समिटमा वाग्मती प्रदेशका १३ वटै जिल्लाका ३०० सहकारीकर्मीको सहभागिता रहने वाग्मती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले जानकारी दिए ।

‘सहकारी सुदृढीकरणको आधार : सहकार्य, एकता र विश्वास’ भन्ने मूल नाराका साथ समिट आयोजना गरिएको छ । संघसंस्थाका सञ्चालक तथा व्यवस्थापकको क्षमता विकासका निम्ति नयाँ विषयमा बहस चलाउने, सहकारीका असल अभ्यासलाई धेरै संस्थामा पुर्‍याउने, अभियानमा ऐक्यबद्धता कायम गर्ने र सहकारी संस्कृतिलाई विशिष्ट संस्कृतिका रूपमा बचाइराख्ने समिटको उद्देश्य छ ।

‘बचत संघहरूको ऐक्यबद्धता कायम गर्न, साझा धारणा विकास गर्न र अभियानलाई सही बाटो देखाउने उद्देश्यका साथ समिटको आयोजना गरिएको हो । समिटमा सहकारी क्षेत्रको वर्तमान समस्याका बारेमा पनि व्यापक छलफल हुनेछ,’ उनले भने, ‘वाग्मती प्रदेशमा पनि समुदाय र सदस्यकेन्द्रित सहकारीहरू प्रशस्त छन् । ती संस्थाहरूमा समस्या आउन नदिन र अहिले देखिएको समस्याको निराकरणको लागि मार्गप्रशस्त गरौँ भन्ने सोचका साथ यो समिटको आयोजना गरिएको हो ।’ वाग्मती प्रदेशमा करिब आठ हजार बचत तथा ऋण सहकारी संस्था छन् ।

प्रतिक्रिया