परम्परागत चिनियाँ औषधि बनाउन प्रत्येक वर्ष मारिन्छन् लाखौँ गधा

पानी बेचेर आफ्नो जीविकोपार्जन गर्न स्टिभ आफ्ना गधाहरूमा निर्भर थिए । पानी भरिएका २० वटा जर्किन ग्राहकहरूसम्म पु¥याउन उनी तिनै गधालाई भारी बोकाउँथे । छाला काढ्न आफ्ना गधा चोरिएपछि उनको काम नै बन्द भयो ।

उनी त्यो दुःखद् दिन झल्झली सम्झिन्छन् । उनी बिहान उठेर सधैँ झैँ घरबाट निस्केर खेतमा गधा लिन गएका थिए । उनी नैरोबीको बाह्य भागमा बस्छन् । ‘तर मेरा गधा खेतमा थिएनन्’, उनले भने । ‘मैले त्यस दिनभरि, रातभरि र भोलिपल्ट पनि दिनभरि खोजेँ तर फेला पार्न सकिनँ ।’ हराएको तीन दिनपछि उनलाई एक साथीले गधाहरूको हाडखोर भेटिएको भनी खबर दिए । ‘गधा मारेर तिनको छाला काढिएको थियो ।’
अफ्रिका तथा यी जनावरहरूको ठूलो जनसंख्या भएका अन्य क्षेत्रहरूमा गधा चोरीका यस प्रकारका घटना सामान्य बन्दै गएका छन् । स्टिभ र उनको पशुधन विश्वभरि विवादित बनेको गधाको छालाको व्यापारको सिकार बने ।

चीनमा माग, अफ्रिकामा चोरी

स्टिभका गधा किन मारिए भनेर बुझ्नचाहिँ उनको सहर नैरोबी र देश केन्याबाट धेरै टाढा जानुपर्छ । चीनमा ‘अजिआउ’ भनिने परम्परागत औषधि बनाउनका लागि गधाको छाला र त्यसमा पाइने जिलाटिन नामक पदार्थको ठूलो माग छ ।

चीनमा अजिआउले शरीरलाई स्वस्थ र जवान राख्ने विश्वास गरिन्छ । यो बनाउनका लागि गधाका छाला उमाली त्यसबाट जिलाटिन निकालिन्छ र त्यसबाट धुलो, झोल वा चक्की बनाइन्छ वा खानामा राखी खाइन्छ ।

गधाको छाला व्यापारको विरोध गर्नेहरूले त्यस्तो परम्पराले स्टिभजस्ता गधामार्फत् जीवन निर्वाह गरिरहेकाहरूलाई पीडित बनाएको औँल्याउँछन् ।
सन् २०१७ देखि यसविरुद्ध अभियान चलाइरहेको अन्तर्राष्ट्रिय संस्था डंकी स्याङ्चुअरीले आफ्नो नयाँ प्रतिवेदनमा अजिआउ बनाउनका लागि संसारभरि प्रत्येक वर्ष ५९ लाख गधाको वध हुने गरेको बताएको छ । बिबिसीले यो तथ्यांक स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन । अजिआउ उत्पादनका लागि ठ्याक्क कति गधाको छाला काढिन्छ भनेर पत्ता लगाउन निकै कठिन छ ।

पूरै अफ्रिकामा प्रतिबन्धको सम्भावना

संसारका ५ करोड ३० लाख गधामध्ये आधाजसो अफ्रिका महादेशमा छन् । तर अफ्रिकी देशहरूमा गधा संरक्षणसम्बन्धी कानुनमा एकरूपता छैन । केही देशले गधाको छाला निकासी गर्न दिन्छन् भने केही देशले दिँदैनन् । तर, महादेशभरि नै बजारको उच्च माग र उच्च मूल्यका कारणले गधा चोरीका घटना बढेका छन् र डंकी स्याङ्चुअरीले गधाहरूको छाला निकासी गैरकानुनी भएको देशबाट कानुनी भएको देशमा तस्करी हुने गरेको बताएको छ ।

तर, अब भने गधाको घट्दो संख्यालाई दृष्टिगत गर्दै अफ्रिकाका सबै राष्ट्र र ब्रजिलले पनि गधाको वधमा प्रतिबन्ध लगाउने तयारी गरिरहेका छन् । डंकी स्याङ्चुअरीका लागि नैरोबीमा काम गर्ने सोलोमन ओन्यांगोको अनुमानमा सन् २०१६ देखि २०१९ सम्मको तीन वर्षे अवधिमा केन्याको आधा गधा छालाका लागि मारिएका थिए ।

यी जनावर ग्रामीण भेगमा बस्ने गरिब समुदायका मानिसका मेरुदण्ड हुन् र मानिस, पानी, खाद्यवस्तु र अन्य सामान बोक्नका लागि अपरिहार्य छन् । त्यसैले पनि छाला व्यापारका लागि यिनको बढ्दो हत्या देखेर विज्ञ र अभियानकर्मीहरू आत्तिएका छन् । केन्याका धेरै मानिस छाला व्यापारविरोधी गतिविधिमा सक्रिय हुन थालेका छन् ।

गधावधमा अनिश्चितकालीन अफ्रिकाव्यापी प्रतिबन्धको विषयलाई आगामी फेब्रुअरी १७ र १८ मा हुने अफ्रिकी संघको सम्मेलनको एजेन्डामा पनि समावेश गराइएको छ । यसलाई सकारात्मक रूपमा लिँदै स्टिभले यो कदमले यी जनावरहरूलाई बचाउने आशा लिएका छन् । ‘नत्र आगामी पुस्ताले गधा नै देख्न पाउने छैन ।’

व्यापार बन्द होला कि ठाउँ सर्ला ?

तर अफ्रिका र ब्रजिलमा बन्द भएपछि व्यापार अन्यत्र सर्ने हो कि ? अजिआउ उत्पादकहरूले पहिले छालाका लागि चीनकै गधाहरू प्रयोग गर्थे । तर कृषि तथा ग्रामीण मामिला मन्त्रालयका अनुसार सन् १९९० र २०२१ का बीच त्यस देशमा गधाको कुलसंख्या १ करोड १० लाखबाट २० लाखभन्दा कममा झ¥यो । यही अवधिमा अजिआउ सीमित वर्गको विलासिताको वस्तुबाट सर्वत्र उपलब्ध लोकप्रिय औषधि बन्यो ।

यो बढ्दो माग र घट्दो आपूर्तिले गर्दा चिनियाँ कम्पनीहरूले गधाको छालाको लागि विदेशी स्रोतहरू खोज्न थाले । गधावधशाला अफ्रिका, दक्षिण अमेरिका र एसियाका विभिन्न स्थानमा खुल्न थाले । यसले अफ्रिकामा व्यापार गर्न दिनु हुने र नहुने पक्षमा विवाद उत्पन्न गरायो ।

गधाको मासु खान वर्जित रहेको इथियोपियामा सरकारले सार्वजनिक विरोध र सामाजिक सञ्जालमा आक्रोशपश्चात् सन् २०१७ मा देशका दुई वधशालामध्ये एक बन्द गरायो ।
सन् २०२२ मा तान्जानिया, आइभरी कोस्ट लगायतका देशहरूले पनि गधावध र छाला निर्यातमा बन्देज लगाए । तर, चीनको छिमेकी पाकिस्तानमा भने गधाको छाला व्यापार हुन्छ ।

गत सालको अन्त्यतिर स्थानीय सञ्चारमाध्यमले ‘उत्कृष्ट नस्लका’ गधा उत्पादन गर्न देशमा पहिलो ‘आधिकारिक गधा प्रजनन फार्म’ खोलिएको जनाएका थिए ।

मरेको गधा बढी मूल्यवान ?

गधाको छाला व्यापारमा ठूलो रकम रहेको छ । सिड्नी विश्वविद्यालयका चीन–अफ्रिका सम्बन्धका प्राध्यापक लरेन जनस्टनका अनुसार चीनको अजिआउ बजारको आकार सन् २०१३ मा ३ अर्ब २० करोड अमेरिकी डलरको थियो । त्यो बढेर सन् २०२० मा ७ अर्ब ८० करोड अमेरिकी डलर बन्यो ।

जनस्वास्थ्यविद्, पशुकल्याण अभियानकर्मी तथा अन्तर्राष्ट्रिय अपराध अनुसन्धानकर्ताहरूका लागि पनि यो चिन्ताको विषय बनेको छ । अध्ययनले गधाको छालाका साथ अन्य अवैध वन्यजन्तुका अंगहरूको पनि ओसारपसार हुने गरेको देखाएको छ । प्रतिबन्ध लगाएमा यो व्यापार बन्द नभई भूमिगत हुने पनि धेरैको चिन्ता छ ।

राष्ट्रिय नेताहरूका लागि यो विषय एउटा आधारभूत प्रश्नको वरिपरि घुम्ने गरेको छ । विकासशील अर्थतन्त्रलाई मरेको गधाबाट बढी फाइदा हुन्छ कि जीवित गधाबाट ? ‘मेरो समुदायका अधिकांश मानिस साना किसान हुन् र उनीहरूले आफ्ना उत्पादन बजारमा बेच्न गधाको प्रयोग गर्छन्’, स्टिभले भने । उनी पानी बेचेर चिकित्साशास्त्र पढ्न पैसा जोहो गर्दै थिए ।

डंकी स्याङ्चुअरीका प्रमुख पशुचिकित्सक फेथ बर्डनले संसारका धेरै ग्रामीण भेगका बासिन्दालाई यी जनावर ‘नभई नहुने’ बताइन् । यी बलिया र बहुउपयोगी हुन्छन् । ‘गधाले झन्डै २४ घण्टासम्म पानी नपिई काम गर्न सक्छ र कुनै समस्यामा नपरीकन पछि पानी पिई छिट्टै पुरानै अवस्थामा फर्किन सक्छ ।’

तर, यति धेरै गुण भएको गधाको छिटो र सजिलो प्रजनन हुन सक्दैन । त्यसैले छालाको लागि यसलाई मार्ने कार्य बन्द नभए यस पशुको संख्या झन् घट्ने र गरिबहरूको जीवनको एक महत्वपूर्ण आधार गुम्ने अभियानकर्मीहरू बताउँछन् ।

हामीले गधा हत्या गर्नका लागि पालेका होइनौँ’, ओन्यांगोले भने । प्राध्यापक जनस्टनले गधाहरूले हजारौँ वर्षदेखि ‘गरिबहरूलाई बोक्दै आएको’ बताइन् । ‘यिनले बालबालिका र महिला बोक्छन् । यिनले जिसस गर्भमा हुँदा मेरीलाई बोकेका थिए ।’ आफ्नो परिवारले पालेको गधा चोरिँदा सबैभन्दा बढी महिला र केटीहरूलाई नोक्सान हुने पनि उनले बताइन् ।

‘गधा नभए परिवारमा महिलालाई गधा बनाइन्छ’, उनले भनिन् । विडम्बना के हो भने गधालाई मारेर बनाइने अजिआउको उपभोग धनी चिनियाँ महिलाले गर्छन् ।

अजिआउ किन लोकप्रिय

अजिआउ हजारौँ वर्ष पुरानो औषधि हो । यसले रगत ‘बलियो’ बनाउने, निदाउन सघाउने, प्रजनन क्षमता बढाउने विश्वास गरिन्छ । तर, सन् २०११ मा प्रसारण भएको टेलिभिजन कार्यक्रम ‘एम्प्रेस इन द प्यालेस’ ले यसको लोकप्रियता ह्वात्तै बढायो ।

‘त्यो निकै चतुरतापूर्वक गरिएको ‘प्रडक्ट प्लेसमन्ट’ थियो’, जनस्टनले बताइन् । ‘त्यस कार्यक्रमले महिलाहरू सुन्दर र स्वस्थ रहन, छाला स्वच्छ राख्न र प्रजनन क्षमता बढाउन अजिआउ सेवन गरेको देखायो । यो ‘अभिजात्य नारीत्व’ को प्रतीक बन्यो । तर, दुःखको कुरा के हो भने यसले अफ्रिकामा नारीहरूकै जीवन नष्ट गर्दै छ ।’

उमेरले २४ वर्ष पुगेका स्टिभलाई आफ्नो गधा गुमाउँदा जीवन र जीविकोपार्जनको माध्यम पनि गुमेको लागिराखेको छ । ‘म त अन्योलमा छु’, उनले दुःख प्रकट गरे ।

नैरोबीको एक स्थानीय पशुकल्याण संस्थासँगको सहकार्यमा ब्रुक नामक परोपकारी संस्थाले शिक्षा वा रोजगारीका लागि गधा आवश्यक परेका स्टिभजस्ता युवाहरूका गधा खोज्ने काम गर्छ । तर, डंकी स्याङ्चुअरीकी जानेक मर्क्स अजिआउ बनाउने कम्पनीहरूले पनि आफ्नो दायित्व पूरा गर्नुपर्ने ठान्छिन् ।

‘अजिआउ कम्पनीहरूले गधाका छाला खरिद गर्न पूर्ण रूपले बन्द गरेको र प्रयोगशालामा कोलाजेन उत्पादन गर्नेजस्ता अन्य दीर्घकालीन विकल्प अवलम्बन गरेको हेर्न चाहन्छौँ । त्यसका लागि सुरक्षित र प्रभावकारी विकल्पहरू पहिलेदेखि नै उपलब्ध छन् ।’

डंकी स्याङ्चुअरीका नायब कार्यकारी पनि रहेकी बर्डनले छाला व्यापार ‘अमानवीय’ पनि रहेको बताइन् । ‘तिनको चोरी हुन्छ, तिनलाई हजारौँ किलोमिटर हिँडाइन्छ, खोरमा कोचिन्छ र अरू सबै गधाका अगाडि मारिन्छ’, उनले भनिन्, ‘हामीहरूले तिनको पक्षमा बोल्न आवश्यक छ ।’

यता स्टिभलाई भने ब्रुकले एउटा नयाँ पोथी गधा उपलब्ध गराएको छ । उनले त्यसलाई ‘जोय लकी’ नाम दिएका छन् । किनभने त्यसलाई पाएर उनी आफूलाई खुसी (जोय) र भाग्यमानी (लकी) अनुभूति गरेका छन् । ‘यसले मलाई मेरो सपना पूरा गर्न सहयोग गर्छ भन्ने मलाई लाग्छ’, उनले भने, ‘अनि यसको सुरक्षा म सुनिश्चित गर्छु ।’

भारतमा पनि गधा चोरीका घटना

त्यस्तै भारतको राजस्थानमा पर्ने हनुमानगढ जिल्लामा गधा चोरीका घटना दोहोरिन थालेपछि प्रहरी प्रशासन हैरान भएको छ । प्रहरीले अरू काम छोडेर गधा चोर्नेहरूलाई समात्नेतर्फ ध्यान केन्द्रित गर्नुपरेको छ ।

गधा चोर पत्ता लगाउन प्रहरीले छुट्टै टोली बनाएको छ भने मानिसहरूलाई आफ्ना गधा घरभित्रै राख्न सुझाव दिइएको छ । हनुमानगढको खुईयाँ थाना क्षेत्रका कैयौँ गाउँमा डिसेम्बर १० तारिखयता गधा चोरी भएको भन्दै प्रहरीमा लगातार उजुरी पर्न थालेको हो ।

खोजी गर्न माग गर्दै धर्ना

कैयौँ दिनसम्म त्यसबारे सुनुवाइ नभएपछि गोठालाहरूले गधा खोज्न माग गर्दै स्थानीय जनप्रतिनिधिसहित प्रहरी चौकीअगाडि धर्ना सुरु गरे । चोरी भएका गधाहरूको खोजी १५ दिनभित्र गरिदिने प्रहरीको आश्वासनपछि उनीहरूले धर्ना अन्त्य गरे । तर, डिसेम्बर २९ को राति फेरि एउटा गाउँ मन्द्रपुराबाट थप ६ वटा गधा हराए । सो क्षेत्रका गोठालाहरू त्रसित छन् र चोरी भएका गधाको खोजी गर्न माग गरिरहेका छन् ।

नोहरका एसपी विनोद कुमारले बिबिसीसँग भने, ‘पहिलोपटक यस्तो भएको छ । दुई–तीन ठाउँबाट गधाको चोरीबारे सूचना आएको छ । कसैका चार वटा त कसैका पाँच वटा गधा चोरिएका छन् । खोजीका लागि हामीले टोली परिचालन गरेका छौँ, हाम्रो प्रयास जारी छ ।’

देवासरका एक गोठालेले आफ्ना तीन वटा गधा चोरी भएको बिबिसीलाई बताए । ‘डिसेम्बर ९ तारिखदेखि गधाको चोरी हुन थालेको हो । हाम्रो गाउँमा मात्रा अहिलेसम्म १६ वटा गधा चोरिएका छन्’, उनले भने ।

खोजीका लागि प्रहरीले के गर्दै छ ?

गधा चोरीका घटना बढ्न थालेपछि गोठालाहरूसँगै धर्ना दिन पुगेका एक पञ्चायत समिति सदस्य मंगेज चौधरीले भने, ‘गधा चोरीका घटनालाई लिएर हामी कैयौँपटक प्रहरीकहाँ गयौँ तर प्रहरीले चार दिनको समय माग्यो । पछि कुनै सीप नचलेर हामीले डिसेम्बर २८ तारिख दिनभरि थानाअगाडि धर्ना दियौँ । त्यसपछि एसपीले खोजीका लागि १५ दिनको समय माग्नुभयो ।’
मन्द्रपुरा ग्राम पञ्चायतका प्रतिनिधि शरिफ मोहम्मदका अनुसार अहिलेसम्म विभिन्न गाउँबाट गरी ७६ वटा गधा हराएका छन् । उजुरीपछि प्रहरीहरू डिसेम्बर २७ को राती १५ वटा गधा समातेर थानामा ल्याई गोठालाहरूलाई आफ्नो गधा चिन्न बोलाए ।

खुईयाँस्थित प्रहरी थानाका अधिकारी वीरेन्द्र शर्माले भने, ‘गधा चोरीबारे उजुरीहरू आएपछि प्रहरी टोलीले केही गधा समातेर ल्याए । तिनीहरूलाई चिन्न गोठालाहरूले चिन्टु, पिकू, कालू लगायत नामले बोलाए । तर ती नामले बोलाउँदा गधाहरूले फर्केर हेरेनन् । गोठालाहरूले आफ्ना गधाबारे केही संकेत चिह्नबारे बताएका छन् । हामी खोजीको प्रयासमा छौँ ।’

एसपी विनोद कुमारले भने, ‘हामीले केही गधा भेटाएका पनि थियौँ । तर, गोठालाहरूलाई देखाउँदा ती आफ्नो नभएको उनीहरूले बताए ।’
पवन नाम गरेका देवासर गाउँका एक गोठालाले भने, ‘थानामा जुन गधाहरू देखाइयो तीमध्ये कुनै पनि हाम्रा थिएनन् । हामी जनावरलाई चिन्छौँ । ती गधाहरू इँटाभट्टीका थिए ।’

गोठालाका सहयोगी गधा

हनुमानगढ जिल्लामा कृषिपछि सबैभन्दा धेरै गरिने व्यवसाय भनेको पशुपालन हो । त्यहाँका अधिकांश गाउँमा गोठालाहरूसँग ठूलो संख्यामा पशु छन् । एक जनासँग तीन सय वटासम्म पशु छन् र एउटा गाउँमा हजारौँको संख्यामा पशुहरू हुन्छन् ।

ती गोठालाले भेडा, बाख्राबाख्री र गाईसँगै एउटादेखि दुइटा गधा पनि राख्ने गर्छन् । भेडा, बाख्रा र गाई चराउन जाँदा गोठालाहरूले आफ्नो लागि खाना, पानी, लत्ताकपडालगायत अत्यावश्यक सामान ढुवानीका लागि गधाको प्रयोग गर्छन् । ती गोठालाहरू विभिन्न जिल्लाका हुन्छन् र समूहमा एकचोटि निस्केपछि तीन–चार महिनापश्चात् घर फर्किन्छन् । अतः गधाहरू गोठाला सहयोगीसरह हुन्छन् । अहिले गधाहरू चोरिन थालेसँगै गोठालाहरू संकटमा परेका छन् ।
आफूसँग पाँच सय वटा भेडा भएको बताउने पवनले भने, ‘चार महिनापछि भेडाहरू लिएर फर्केको थिएँ । गधाहरू नै चोरी भएपछि अब कसरी जाने ?’

गधा चोरीका घटना बढ्न थालेपछि प्रहरीले मानिसहरूलाई आआफ्नो गधा घरभित्रै राख्न आग्रह गरेको छ ।

गधाको मूल्य

लगातार हुन थालेको गधा चोरीका घटनाले सो क्षेत्रका मानिसहरू पिरोलिएका छन् । अर्कोतर्फ गोठालाहरू आफ्ना भेडाबाख्राबारे चिन्तित बनेका छन् ।
एक जना गोठालासँग सयौँका संख्यामा भेडाबाख्रा छन् । गोठालाहरूका अनुसार एउटा गधाको मूल्य १३ हजारदेखि २० हजार भारुसम्म पर्छ ।
गोठाला राजेन्द्र सारणले भने, ‘एउटा गधाको मूल्य २० हजार रुपैयाँसम्म पर्छ । गधा चोरिनु हाम्रा लागि ठूलो चिन्ताको विषय हो । गधाबिना भेडाबाख्रा चराउन कसरी जाऊँ ?’

प्रतिक्रिया