प्यालेस्टाइनलाई एकतर्फीरूपमा अन्तर्राष्ट्रिय मान्यता नदिन इजरायली प्रधानमन्त्रीको आग्रह

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्यालेस्टाइनी राज्यलाई एकतर्फीरूपमा अन्तर्राष्ट्रिय मान्यता दिने योजनालाई आफूले अस्वीकार गरेको बताएका छन् ।

इजरायलको सरकारमा रहेका प्रभावशाली अति दक्षिणपन्थी मन्त्रीहरू इटामार बेन–गिभर र बेजालेल स्मोटरिचले शान्तिका लागि विस्तृत योजना विषयमा द वासिङ्टन पोस्टमा प्रकाशित समाचारबारे राखेको धारणापछि प्रधानमन्त्री नेतन्याहूको भनाइ आएको हो ।

केही अमेरिकी र अरब कूटनीतिज्ञहरूलाई उद्धृत गर्दै उक्त पत्रिकामा इजरायलको मुख्य सहयोगी संयुक्त राज्य अमेरिकाले इजरायल र प्यालेस्टाइनबीच दीर्घकालीन शान्तिका लागि विस्तृत योजनाबारे धेरै अरब देशहरूसँग मिलेर काम गरिरहेको उल्लेख गरिएको छ ।

उक्त योजनामा प्यालेस्टिनी राज्यको स्थापनाको लागि एक निश्चित समय सीमा समावेश रहेको थियो । नेतन्याहूले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा हिब्रु भाषामा लेखेका छन्, ‘इजरायलले प्यालेस्टाइनी राज्यलाई एकतर्फी मान्यता दिने कुरामा विरोध जारी राख्नेछ ।’

उनले भने, ‘अक्टोबर ७ मा भएको नरसंहारपछि यस्तो मान्यताले अकल्पनीय आतंकवादलाई ठूलो इनाम दिनेछ र भविष्यमा हुने कुनै पनि शान्ति सम्झौतालाई रोक्नेछ ।’ ‘इजरायलले प्यालेस्टाइनसँग स्थायी समाधानसम्बन्धी अन्तर्राष्ट्रिय निर्देशनलाई स्पष्ट रूपमा अस्वीकार गर्दछ’, उनले भने, ‘शान्ति सम्झौता केवल पूर्वशर्त बिना प्रत्यक्ष वार्ताबाट मात्र हुन सक्छ ।’

वासिङ्टन पोस्टका अनुसार यो योजना कम्तीमा ६ हप्तासम्म चल्ने युद्धविरामबाट सुरु हुनेछ र अधिकारीहरूले मार्च १० मा मुस्लिमहरूको पवित्र महिना रमजान सुरु हुनुअघि नै सम्झौतामा पुग्न सक्ने आशा व्यक्त गरेका छन् ।

सम्झौतामा युद्धमा रोक लगाउने, अक्टोबर ७ मा गाजामा हमासले कब्जामा लिएका बन्धकहरूको रिहाई र प्यालेिस्टनी राज्यको स्थापनाको लागि एक समय तालिका समावेश हुनेछ ।

प्यालेस्टाइनलाई इजरायलको लागि अस्तित्वको खतरा’ को रूपमा वर्णन गर्दै स्मोट्रिचले एक्समा लखेका छन्, ‘बास्तवमा हामी प्यालेस्टाइनीहरूले गरेको भयानक इनामको हकदार छन् भनेर भन्ने योजनामा कहिल्यै सहमत हुनेछैनौँ ।’– रासस, एएफपी

प्रतिक्रिया