जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव एक साताभित्र मधेस प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा रहेका छन् ।
सरकारमा रहेको जनमत पार्टी माघ ९ गते सरकारबाट बाहिरिएपछि संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री यादव छन् ।
मुख्यमन्त्री यादवले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेर फागुन ९ गतेभित्र विश्वासको मत लिने जानकारी दिए । मधेस प्रदेशसभामा सत्ता गठबन्धनमा रहेका दलहरूको साथ रहेकाले मुख्यमन्त्री यादवले सहज किसिमले विश्वासको मत पाउने विश्वासमा छन् । १ सय ७ प्रदेशसभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ ।
मधेस प्रदेशसभामा सबैभन्दा ठूलो दलको रूपमा रहेको नेकपा एमालेको २३ सिट, नेपाली कांग्रेसका २२ सिट र जनता समाजवादी पार्टी नेपालका १८ सिट रहेको छ । सभामा जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको नौ, नेकपा माओवादी केन्द्रको नौ र नेकपा एकीकृत समाजवादी पार्टीको नौ सिट रहेको छ ।
मधेस प्रदेश सरकारमा जसपा नेतृत्वमा नेपाली कांग्रेस, लोसपा, नेकपा माओवादी केन्द्र र नेकपा एस सरकारमा नै रहेका छन् । चार दल मिलाउँदा अहिले ६५ जनाको समर्थन रहेको छ ।
प्रतिक्रिया