१५ दिनभित्रमा नपाए काम छाड्ने चेतावनी

निर्माण कम्पनीले काम अनुसारको पाएनन् भुक्तानी

रुकुमपश्चिम । लामो समयदेखि सडक कालोपत्रे निर्माण जिम्मा लिएका निर्माण कम्पनीले समयमै भुक्तानी नपाउँदा समस्यामा परेका छन् । रुकुमपश्चिमको आठबिसकोट–९ राडी बजारस्थित बजार क्षेत्र, क्याम्पस रोड र पसाने सडक कालोपत्रे गर्ने जिम्मेवारी पाएको गोर्खा मंगलदिप जेभीले पाँच महिनादेखि भुक्तानी नपाउँदा समस्यामा परेको हो । उक्त निर्माण कम्पनीले अबको १५ दिनभित्र कार्य अनुसारको रकम भुक्तानी नभए काम ठप्प पारेर निर्माण स्थलबाट फर्किने जनाएको छ ।

निर्माण कम्पनीले ८० प्रतिशत काम सम्पन्न गरिसकेको तर सो काम अनुसारको भुक्तानी नपाएका कारण पाँच महिनादेखि कार्यरत कर्मचारी र मजदुरलाई पारिश्रमिकसमेत दिन नपाएको भन्दै १५ दिनमा भुक्तानी नदिए काम छोड्ने बताएको हो । मंगलदीपको उक्त साइडमा १५ जना कर्मचारी र ५० जना कामदारले पैसा नपाएको कम्पनीले जनाएको छ । सरकारले पाँच महिनादेखि भुक्तानी नदिएपछि कार्यरत कर्मचारी, कामदारलाई पारिश्रमिक नदिँदा उनीहरू काम छोड्न बाध्य भएका छन् ।

२०८० वैशाखमा सम्झौता भएको उक्त सडक खण्डमा १२ करोड बराबरको काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ । पाँच महिनादेखि मजदुर र कर्मचारीलाई पारिश्रमिक दिन नसकिएको कम्पनीका निर्देशक राज शाहीले बताए । ‘मजदुरले तलब नपाएको पाँच महिना भयो । काम अन्तिम चरणमा पुगिसक्यो । सरकाले भुक्तानीमा झुलाइरहेको छ । कार्यप्रगतिको आधारमा भुक्तानी दिनुपर्ने हामीले ८० प्रतिशत कार्य सकाएका छौँ’, शाही भन्छन्, ‘अब काम अगाडि बढ्ने अवस्था छैन । १५ दिनभित्र कार्यप्रगतिअनुसार भुक्तानी नभए साइड छोड्ने तयारी गरेका छौँ ।’

रकम भुक्तानी अभावका कारण काम अघि बढ्न नसक्ने कम्पनीका साइट इन्चार्ज सूर्य शाहीले बताए । ‘चार किलोमिटर कालोपत्रे गर्नुपर्नेमा सबै तयारी पूरा भइसकेको छ ग्राबेल राखिसकेको छ । केहिदिनमै कालोपत्रेको काम सुरु होला भनेको रकम भुक्तानी नहुँदा अब साइड छोड्नुपर्ने दुःखद् अवस्था आयो’, इन्चार्ज शाही भन्छन, ‘रकम भुक्तानी नहुँदा घरभाडा र खाना खाएको समेत पैसा तिर्न नसक्ने अवस्था छ । कसरी सडक कालोपत्रे गर्न सकिन्छ । सरकाले काम गरे वापत समयमै भुक्तानी नदिँदा आफूहरूले घरभाडा र खाना खाएको रकम समेत तिर्न सकेका छैनौँ ।’ कार्य प्रगतिका आधारमा आफूहरूले रकम भुक्तानीका लागि करिब पाँच करोड रुपैयाँ बराबरको बिल नियमक निकायसँग पेस गरेको उनले बताए ।

‘बिल प्राप्त भएकोले भुक्तानीका लागि रकम माग गरेका छौँ’, संघीय आयोजना कार्यन्वयन इकाइ सुर्खेतका प्रमुख रामकृष्ण आचार्यले भने, ‘हामीले मंगलदीपले पेस गरेको बिल संघमा पठाएका छौँ । चाँडै भुक्तानी हुन्छ । कम्पनीका अनुसार ८० प्रतिशत भौतिक प्रगतिको कार्य गरेको छ । भुक्तानी भने ३५ प्रतिशत हाराहारी मात्र पाएको उनले बताए । चार किलोमिटर दुरीको सडक कालोपत्रे गर्नुपर्ने उक्त सडकखण्डमा नाली र ढल, ग्राबेल र ढलानको काम सम्पन्न भइसकेको बताइएको छ ।

निर्माण सामग्री खरिद गर्दा व्यवसायीबाट ल्याएको सामानको समेत रकम नहुँदा भुक्तानी दिन नसकेपछि बैंकमा चेक क्लिन भएको जनाइएको छ । व्यवसायीलाई चेक दिएर ल्याएको सामानको समेत भुक्तानी हुननसक्दा निर्माण कम्पनीलाई थप समस्या परेको बताइन्छ । निर्माण सामग्रीको समयमै भुक्तानी दिननसक्दा सामग्री खरिद गरे वापत कम्पनीले पेस गरेको धरौटीसमेत जफन हुने अवस्था आएको निर्देशक शाहीले बताए । त्यति मात्रै नभएर बैंकले कम्पनीलाई कालो सूचीमा राख्न सक्ने अवस्था आएको उनले बताए ।

चार किलोमिटर सडक कालोपत्रेसँगै बसपार्क पनि निर्माण गरिरहेको छ । बसपार्कको करिब ९० प्रतिशत काम सम्पन्न भएको उक्त कामको समेत भुक्तानी नहुँदा निर्माण कम्पनीलाई थप समस्या पैदा भएको जानकारी दिइएको छ ।

स्थानीय धुव्र खत्रीले सडकमा काम तीव्र गतिमा काम गरेर स्थानीय बासिन्दा समेतलाई सन्तुष्ट पार्ने निर्माण कम्पनी रकम नपाएर कार्यस्थलबाट फिर्ता जाने तयारी गरिरहेको सुन्दा दुःख लागेको बताए । उनले सरकार यस विषयमा गम्भीर हुनुपर्ने र जनप्रतिनिधिसमेत लागेर कम्पनीलाई काम गर्न सहज पार्नुपर्ने बताए । अर्का स्थानीयले पालिकाको गौरवको आयोजनाको रूपमा रहेको उक्त आयोजनालाई निरन्तरता दिएर कालोपत्रे गर्न स्थानीय सरकारले समेत चासो दिनुपर्ने बताए ।

उक्त सडक कालोपत्रे गर्नका लागि २०८० वैशाख १४ गते भ्याटसहित कुल २० करोड ७९ लाख ४६ हजार रुपैयाँमा मंगलदीप कम्पनीले सम्झौता गरेको थियो । कम्पनीले अहिलेसम्म कामबापत ६ करोड रुपैयाँ मात्र प्राप्त भएको जनाएको छ । कम्पनीका लागि काम सक्ने अन्तिम अवधि २०८१ भदौ १४सम्म रहेको छ । निर्धारित मितिभन्दा धेरै छिटो काम सकेर योजना बुझाउने तयारीका साथ काममा खटिएको निर्माण कम्पनीले काम गरे बापतको रकम भुक्तानी पाउन संघर्ष गर्नुपर्दा दुःख लागेको बताएको छ । आठविसकोट नगरपालिकाको केन्द्रसमेत रहेको उक्त सडक खण्डमा कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया