एकीकृत नमुना बस्ती निर्माणमा कैफियत

२०७२ सालको भूकम्पका कारण गोरखादेखि दोलखासम्मका ६ वटा हिमाली जिल्लाका अधिकांश घरहरू ध्वस्त भए । कतिपय गाउँका त एउटा घर पनि सग्लो रहेन । घर मात्रै होइन कतिपय गाउँको जमिनमा नै धाँजा फाट्यो । कतिपय गाउँहरू पहिरोमा बग्ने जोखिममा पुगे । कतिपय गाउँहरू पहिरो आएर पुरिने जोखिममा पुगे । ससाना गाउँबस्तीको त खासै ठूलो चर्चा भएन, तर पाँच सयभन्दा बढी घरधुरी रहेका गोरखाका बारपाक, लाप्राकजस्ता इतिहास बोकेका ठूला गाउँहरू ध्वस्त भएको घटना अन्तर्राष्ट्रिय समाचार बन्यो । यसमध्ये पनि लाप्राक गाउँ त स्थानान्तरण नै गर्नुपर्ने गरी पहिरोको जोखिममा पुगेको निष्कर्ष विज्ञहरूले निकाले । सरकार तथा विभिन्न दाताहरूको सहयोगमा सविकको लाप्राक गाउँभन्दा तीन किलोमिटर उत्तरतर्फ गुप्सीपाखामा एकीकृत नमुना बस्ती निर्माण गरियो । यो एकीकृत नमुना बस्तीका ५ सय ७३ घर निर्माण गर्न, स्कुल भवन निर्माण गर्न खानेपानी सडक र बिजुली पु¥याउन ६० करोड रुपैयाँभन्दा बढी खर्च भएको अनुमान गरिएको छ । तर मान्छेहरू सर्न मानेनन् । ५ सय ७३ मध्ये करिब ५० घरमा अस्थायी बसोबास भएको समाचार आएको छ । बाँकी घर रित्ता छन् । लाप्राकको मात्रै यो समस्या होइन, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले तेम्वाथानमा निर्माण गरेको एकीकृत नमुनाबस्तीमा करिब ९३ घरको हालत पनि यस्तै छ । पछिल्लो समय कर्णाली प्रदेशले पनि पहिरोको जोखिममा रहेका गाउँहरू स्थानान्तरण गर्ने भन्दै उच्च पहाडी क्षेत्रका धेरै ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गर्यो, तर मान्छेहरू नयाँ बस्तीमा सर्न चाहेनन् ।

भूकम्प प्रभावित तथा बस्ती विकास कार्यक्रम थालिएका समेत गरी २२ जिल्लामा ७९ वटा नमुना बस्ती निर्माण गरिसकिएको छ । यी बस्ती निर्माणका लागि धेरै ठूलो बजेट खर्च गरिएको छ । तर यो खर्च बालुवामा पानी हालेजस्तै भएको छ । तै पनि यो काम रोकिएको छैन । बाहिरबाट हेर्दा यी बस्ती निकै आकर्षक देखिन्छन्, तर यी बस्तीका घरमा बस्न मानिसहरू बिकर्षिक भएका छन् । आफ्ना पुराना घर छाडेर एकीकृत नमुना बस्तीका नयाँ घरमा सर्न मानिसहरू किन चाहिरहेका छैनन् ? अपायक तथा जीविकोपार्जनका लागि असहज हुने ठाउँमा पो एकीकृत नयाँ बस्ती निर्माण भएका छन् कि ? भन्ने अध्ययन तथा समीक्षा गरिएको छैन । एकीकृत बस्ती निर्माण गर्नुअघि नै यस्तो अध्ययन र समीक्षा गरिनुपर्ने थियो । तर हचुवाका आधरमा केही बस्तीहरू बने । यी बस्तीमा मान्छे बस्न नगएपछि त्यसबाट पाठ सिक्नुपथ्र्यो । तर, पाठ सिक्नुको सट्टा विनाअध्ययन यो शीर्षकमा बजेट खर्च गर्ने क्रम जारी छ । किनकी घर निर्माणमा खर्च गरिएको बजेटबाट निकै आकर्षक कमिसन आउने गर्छ ।
पहाडका अधिकांश गाउँहरूको इतिहास सयौं तथा हजारौं वर्षको छ । गाउँसँग अनेक खालका संस्कृति तथा परम्परा जोडिएका हुन्छन् ।

जीविकोपार्जन संभव भएसम्म मानिसहरूले हतपत आफ्नो गाउँ छाड्दैनन् । छाड्नै परे जीविकोपार्जन सहज हुने ठाउँ या सहर बजारतिर बसाई सर्छन् । तर, यो यथार्थलाई ख्यालै नगरी एकीकृत नमुना बस्ती भन्दै जीविकोपार्जनका लागि कठिनाइ हुने अपायक क्षेत्रमा घरहरू निर्माण गरियो । साविकको बस्तीबाट भन्दा खेतबारी टाढा, घाँस दाउरा गर्ने जंगल टाढा, चरिचरन टाढा, सिमेभुमेको पूजा गर्ने स्थान टाढा भएका ठाउँमा एकीकृत नयाँ बस्ती निर्माण गर्नु भनेको आफैँमा भ्रष्टाचार हो । अधिकांश एकीकृत नमुना बस्ती असफल बन्नुको कारण यही हो । नेपालमा बसाइँसराइको ‘ट्रेन’ कस्तो छ ? भन्ने कुराको पनि हेक्का राखिएन । नदीको विपरीत धारमा डुंगा चलाउने प्रयास निरर्थक हुन्छ ।

प्रतिक्रिया