बारा । तौलमा भइरहेको ठगीबाट बारा÷पर्साका उखु किसानलाई जोगाउन रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालि श्रीपुर बाराले स्थानीय प्रशासनसँग आग्रह गरेको छ । उखु ढुवानी गर्ने चालक तथा ट्रयाक्टरधनीलाई आर्थिक प्रलोभनमा पारी बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालि कटहरिया–९ डुमरियाले बारा र पर्साका उखु किसानलाई ठगिरहेको आरोप रिलायन्स सुगर मिलले लगाएको छ । बाबा बैजुनाथका व्यवस्थापकले ठुलो संख्यामा बिचौलियाहरू बारा र पर्सामा परिचालन गरी यहाँका किसानलाई ठगी गरिरहेको भन्दै रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज श्रीपुर बाराका कार्यकारी निर्देशक शैलेन्द्र कुमारले गुनासो गरे ।
‘बाराका किसान उखुको तौलमा ठगिँदै गरेको तथ्य विभिन्न सञ्चार माध्यमबाट प्रमाणित भइसकेको छ’, उनले भने, ‘बाबा बैजुनाथले चिनीमिलमा राखेको तौल काँटामा हेरेफेर गरी किसानलाई ठगी गरिरहेको छ ।’ किसानले चिनीमिलमा ल्याएको उखुको तौलमा ठगी गरिरहेको उनले जानकारी दिए । बारा र पर्साका किसान बाबा बैजुनाथ चिनीमिलबाट ठगिएको तथ्य फेला परेपछि त्यसलाई नियन्त्रण गर्न बारा र पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारीलाई गत वर्ष नै ध्यानाकर्षण गराउँदा पनि कारबाही नहँुदा यस्तो अवस्था आएको रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्री प्रालिकै प्रशासन प्रमुख मनोहर झाले बताए ।
यस वर्ष पनि दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउने तयारीसमेत गरिएको उनले जानकारी दिए । बाबा बैजुनाथले बारा र पर्साबाट चिनीमिलमा पु¥याएको ट्रयाक्टर चालकलाई प्रतिटिप पाँच सय रुपैयाँ नगद, बेलुकाको खाजामा मदिरा र मासु तथा ट्रयाक्टरमा १० लिटर तेलको व्यवस्था गरी ठगी धन्दा चलाइरहेको आरोप छ । तौल गर्ने क्रममा प्रति ट्रयाक्टरलाई १० देखि ३० क्विन्टल उखु बाबा बैजुनाथले ठगी गरिरहेको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले आरोप लगाए ।
‘आफ्नै सामुने उखु लोड भएको ट्रयाक्टर तौल गर्दा उखुको वास्तविक तौल घटेको पाइयो’, उनले भने, ‘हाम्रो अनुपस्थितिमा के होला सहजै अनुमान लगाउन सकिन्छ नि ।’ सो चिनीमिलका सञ्चालक बैजु बाबरालाईसँगै राखेर तौल गर्दा घटी प्रमाणित भएको उनले बताए । आफ्नो ठगी प्रकरणलाई लुकाउन बैजुले आफ्ना लठैत लगाई समाचार संकलन गर्न आएका रौतहटका एक सञ्चारकर्मीलाई निर्घात कुटपिट गरेको उनले जानकारी दिए ।
पत्रकार कुटने र उखु उत्पादक संघका पदाधीकारीलाई धम्काउने ठग चिनीमिल सञ्चालकलाई कानुनी कारबाही गर्न उनले स्थानीय प्रशासनसँग मागसमेत गरेका छन् । पत्रकार कुटेको, पत्रकारको मोबाइल फुटाइदिएको स्वीकार गर्दा पनि बैजु बाबरालाई स्थानीय प्रहरी प्रशासनले कुनै कानुनी कारबाही नगर्दा यहाँका उखु किसान त्रसित बनेका छन् ।
करिब नौ लाख क्विन्टल बढी उखु क्रसिङ गरिसकेको बाबा बैजुनाथले अहिलेसम्म कति क्विन्टल उखु ठगी गरेको होला सहजै अनुमान गर्न सकिन्छ । पैसाको बलमा बैजु बाबराले स्थानीय प्रशासन, नापतौल विभागका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारी आफ्नो ठगी धन्दा सञ्चालन गरेको उखु उत्पादक संघ रौतहटका अध्यक्ष यादवले आरोप लगाए । सम्बन्धित निकायले समयमै ठगी धन्दा गर्ने चिनीमिल सञ्चालकलाई कानुनी दायरामा नल्याए आफूहरू आन्दोलनमा उत्रन वाध्य हुने उनले चेतावनी दिए ।
प्रतिक्रिया