कालिकामाई गाउँपालिकामा पूर्ण खोप घोषणा

पर्सा । पर्साको कालिकामाई गाउँपालिकाको पूर्ण खोप घोषणा गरिएको छ । गाउँपालिकाबाट खटाइएका स्वास्थ्यकर्मीहरुले घर–घरमा पुगेर गाउँपालिकाका १६ सय ५६ जना ५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाएपछि सोमबार गाउँपालिका पूर्ण खोप घोषणा गरिएको हो ।

‘स्थानीय स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चित्ता हाम्रो प्रतिबद्धता’ को नारासाथ कालिकामाई गाउँपालिका कार्यालय हरिहरपुर बिर्तामा रहेको नेराप्रावीको प्रांगणमा कार्यक्रम भएको थियो । पूर्ण खोप घोषणा जिल्ला समन्वय समिति पर्साका उपसभापति पुरण प्रसाद कुर्मीको प्रमुख अतिथ्यमा भएको हो । उक्त कार्यक्रममा बोल्दै कुर्मीले पूर्ण खोप घोषणालगायत स्वास्थ्य समबन्धी कार्यक्रममा महिला स्वयमसेविकाहरुको योगदान तथा सहयोग महत्वपूर्ण रहेको बताए ।

महिला स्वयमसेविकाहरुले दिनरात खटेर सेवाको भावनाले निस्वार्थ सहयोग गरिरहेको उनले बताए । कुर्मीले भने, ‘उनीहरुका योगदानको कदर हुँदैन, उनीहरुले बधाई तथा प्रशंसापत्र बाहेक केही पाएका छैनन् ।’ साथै कुर्मीले उनीहरुलाई गाउँपालिकाले जिवकोपर्जनलाई केही आर्थिक सहयोग गर्न जरुरी रहेको बताए । गाउँपालिका पूर्ण खोप अझै जिम्मेवार स्वास्थ्यकर्मीहरुलाई बढेको उपसभापति कुर्मीले बताए ।

पूर्ण खोप घोषणा सभामा विशिष्ट अतिथि रहेका वरिष्ठ जनस्वास्थ्य अधिकृत मुक्तिनारायण साहले मानीस स्वस्थ रहनको लागि खोप जरुरी रहेको बताए । ५ वर्ष मुनिका बालबालिकाहरुलाई १३ वटा नियमित खोप, समयमा खोप लगाएपछि स्वस्थ रहने उनले बताए । गाउँपालिका पूर्ण खोप घोषणामा सहयोग गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी, गाउँपालिका अध्यक्षलागायत जनप्रतिनिधि, कर्मचारीलगायत लाई बधाई दिँदै उनले भौतिक विकास निर्माणभन्दा बढी मानव स्वास्थ्य सेवा पनि जरुरी रहेको बताए ।

आजको पूर्ण खोप घोषणाबाट अब स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुलाई विशेष जिम्मेवारी थपिएको उनको भनाइ थियो । जन्मिने प्रत्येक बालबालिकाहरुलाई निगरानी नियमित खोप लगाउनुपर्ने उनले बताए । नियमित खोपलगायत स्वास्थ्यसमबन्धी अन्य कार्यहरुमा आफ्नो सहयोग रहने जनस्वास्थ्य प्रमुख साहले प्रतिबद्धता जनाए । कालिकामाई गाउँपालिका पूर्ण खोप घोषणा जिल्लाको अन्तिम गाउँपालिका हो ।

अब छिटै जिल्लालाई पूर्ण खोप गरिने उनले बताए । पूर्ण खोप घोषणा कार्यक्रममा अध्यक्ष बशिष्ठ गुप्ताले पूर्ण खोपयुक्त वडा घोषणा गरेका थिए । उनले पूर्ण खोप घोषणापत्र पढेर पूर्ण रुपमा खोपयुक्त वडा र गाउँपालिका घोषणा भएको सबैलाई जानकारी गराएका थिए । पूर्ण खोप कार्यक्रम गाउँपालिकाका अध्यक्ष गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष गुप्ताले गाउँपालिका पूर्ण खोप घोषणा गर्दै स्वास्थ्यकर्मीहरुले गरेको कामलाई सराहनिय रहेको बताए । उनले स्वास्थ्यकर्मीहरुले आफ्नो सेवामा दिनरात खटेर सबैको मन जितेको बताए ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नमोनाथ यादवले गाउँपालिकाका महिलाहरुलाई खोपको महत्वका बारे जनचेतना अभिवृद्धि गर्ने आवश्यकता अहिलेपनि रहेको बताए । खोप नपाउँदा पाँच वर्ष मुनिका बालबालिकाहरुमा विभिन्न किसिमको रोग लाग्ने भएको हुँदा बच्चा जन्मिने बित्तिकै चिकित्सकको सल्लहा अनुसार प्रत्येक खोप समयमा लगाउनुपर्ने सुझाव दिए ।

अधिकृत यादवले महिला स्वास्थ्यकर्मी र स्वयमसेविकाहरुको प्रशंसा गर्दै गाउँपालिकालाई पूर्ण खोप घोषणा भएको बताए । कार्यक्रममा उपाध्यक्ष राजमती देबी बरैन, खोप सुपर्वाजर प्रमुख जयमोद ठाकुर युनिसेफका बेबी प्रसाईं, रानराज राणा, वडा अध्यक्ष लालबाबु चौरसिया, संजय पटेल, सोनालाल चौरसिया, जयनारायण कुर्मी, कार्यपालिका सदस्य चनरज्योती देबी,मालती देबी,ललिता देबी,अकलिया खातुन, गाउँपालिका सदस्य, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको सहभागिता रहेको थियो ।

पूर्ण खोप घोषणा गराउनमा सहयोग गर्ने स्वास्थ्यकर्मीहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मानित गरिएको थियो । पूर्ण खोप घोषणा कार्यक्रममा पत्रकार लालबाबु बानिया समेत सम्मानित भएका थिए । साथै कार्यक्रममा विद्यालयका विद्यार्थी र कर्मचारीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।कार्यक्रम सञ्चालन गाउँपालिका स्वास्थ्य संयोजक योगेन्द्र चौरसियाले गरेका थिए ।

प्रतिक्रिया