प्रभु बैंकका कर्मचारीद्वारा करोडौँ रुपैयाँ हिनामिना

बैंकको आन्तरिक अनुसन्धान सुरु

रुकुमपश्चिम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–९ राडी बजारमा रहेको प्रभु बैंकमा कार्यरत एक कर्मचारीले बचतकर्ताको १ करोड ३५ लाख रुपैयाँ हिनामिना गरेको भेटिएको छ । प्रभु बैंकको आठबिसकोट शाखामा अप्रेशन ईन्चार्ज पदमा कार्यरत निरजबिक्रम शाह (निराजन) ले बचतकर्ताको करोडौँ रुपैयाँ हिनामिना गरेको बैंकको पारम्भिक अनुसन्धानमा खुलेको छ ।

बचतकर्ताले बैंकमा आफ्नो खातामा जम्मा गरेको रकम नभेटिएको भनेर गुनासो गरेपछि बैंकले आन्तरिक छानबिन सुरु गरेको छ । सम्बन्धित खातावालाको कुनै पनि जानकारीबिनै बैंकमा जम्मा गरेको रकम अपचलन गरेको पाइएपछि उक्त घटना बाहिरिएको हो । बैंकका अनुसार आरोप लागेका ती कर्मचारी अहिलेसम्म बैंकको सम्पर्कमा नआएको बताइएको छ । शाखा प्रमुख डम्बर गौतम बिदामा बसेको मौका छोपेर उनी भागेको बताइएको छ । आठ दिनअगाडि शाहले बैंकमा १२ दिनको बिरामी बिदा माग गरेका थिए । शाखाप्रमुखसमेत बिदामा रहेकोले उनको बिदा स्वीकृत भएको थिएन । बचतकर्ताले आफ्नो खातामा रकम नभएको बताएपछि तत्काल बैंकले छानबिन सुरु गरेको छ ।

प्रभु बैंक कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख शरदराज तिमिल्सिनाका अनुसार केहीदिनपछि मात्रै कति रकम हिनामिना भएको भन्ने पुष्टि हुने बताइएको छ । उनका अनुसार उक्त घटनाको प्रारम्भिक छानबिन गरेर आरोपी कर्मचारीविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ । बैंकमा भने कारोबार सञ्चालन भइरहेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा गएको छानबिन टोलीले शाहले बैंकबाट करिब १ करोड ३५ लाख रुपैयाँ हिनामिना गरेको निष्कर्ष निकालेको छ । ती कर्मचारीविरुद्ध जिल्लामा मुद्दा नचल्ने देखिएपछि बैंकको टोली उच्च अदालतमा मुद्दा चलाउन गएको प्रहरीको भनाइ छ ।

बैंकका शाखा प्रमुख डम्बर गौतम बिदामा रहेको मौका छोपी शाहले उक्त योजना बनाएको देखिन्छ । केही महिना पहिलेदेखि शंकास्पद गतिविधि गरिरहेका शाहले एक महिना पहिलेदेखि नै पैसा हिनामिना गर्ने योजना बनाएको स्थानीयको भनाइ छ । बैंकमा पैसा जम्मा गर्न आएका सेवाग्राहीबाट विविध बहाना बनाएर उनीहरूको रकम आफूले प्रयोग गर्ने, बैंकको सिस्टमले काम नगरेको भन्दै आफूले पैसा जम्मा गरिदिने भनेर पैसा जम्मा नगरेको पाइएको छ । बैंकमा भिड बढी छ । भनेर विश्वासका आधारमा बैंकमा पैसा जम्मा गर्न दिएका आफन्तले समेत शाहबाट ठगिएको बताएका छन् ।

बेपत्ता शाहले बैंकको नाम लिएर व्यक्तिगत कारोबारसमेत गरेको पाइएको छ । उनले बैंकमा पैसा जम्मा गरिदिन्छु भन्दै धेरै आफन्तबाट नगद रकम र चेक लिएर पैसा जम्मा नगरेको र उल्टै चेकबाट पैसा निकालेको बताइन्छ । आठबिसकोट नगरपालिका–१३ का शंकर बहादुर पुन भन्छन्, ‘मोबाइल बैंकिङ बनाउने बहानामा आफ्नो खाताबाट शाहले १० लाख रुपैयाँ निकालेको बताए । गलत विवरण पेस गरेर उनले विभिन्न व्यक्तिको रकम निकालेको बुझिएको हो ।’

प्रभु बैंक आठबिसकोटमा कार्यरत कर्मचारीलाई जिम्मेवारीविहीन बनाइएको छ । आइतबार कर्णाली प्रदेशबाट खटिएको टोलीले कामकाज गर्नेगरी उनीहरूलाई जिम्मेवारीविहीन गरिएको हो । छानविन नसकुन्जेल बैंकका शाखाप्रमुखसहित अन्य कर्मचारीलाई निलम्बित गरेको बैंकले जनाएको छ । शाखामा कार्यरत नौ जना कर्मचारीहरूलाई अहिले जिम्मेवारविहीन बनाइएको छ । भने पाँच जना नयाँ कर्मचारीले कामकाज गरिरहेका छन् ।

शाहले आठविसकोट नगरपालिका–१३ का शंकर पुनको खाताबाट १० लाख, वडा–११ का नरसिङ ओलीको खाताबाट आठ लाख निकालेको, वडा–१० एक जनप्रतिनिधिको छोरीको जम्मा गरिदिन्छु भनेर लिएको नौ लाख र वडा–११ का नरेन्द्र बस्नेतको खाताबाट आठ लाख रुपैयाँ अन्तै ट्रान्सफर गरेको पाइएको छ । आफ्नो पदको गलत दुरुपयोग गरेर इन्चार्ज शाहले सरकारी तथा व्यक्तिगत करोडौँ पैसा हिनामिना गरेको पाइएको छ । शाहबाट व्यक्तिगत रकमसहित सरकारी रकम पनि हिनामिना भएको हुनसक्ने आशंका गरिएको छ ।

उक्त घटना बाहिरिएपछि थप चिन्तित बनेका बचतकर्ताको अहिले बैंक परिसरमा भिड बढेको छ । आफ्नो खाताबाट रकम हरायो कि भनेर एकिन गर्न बैंकमा आउने सेवाग्राहीको भिड बढेको हो । शाह एक्लैले उक्त कार्य असम्भव देखिएकोले यस घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने बचतकर्ताको भनाइ छ । घटनाको प्रकृति हेर्दा गहिरो अनुसन्धानपश्चात यथार्थ रहस्य खुल्ने देखिन्छ । बैंकले गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको १ करोड ३५ लाखबाहेक अरू थप रकमसमेत हिनामिना भएको स्थानीयहरूको भनाइ छ । शाहले धेरैजसो सेवाग्राहीबाट पैसा जम्मा गरिदिने भन्दै पैसा जम्मा नगरिदिएको गुनासो बढिरहेको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया