काठमाडौं । नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कप क्रिकटमा लगातार दोस्रो जित हात पारेको छ ।
मलेसियाको बायोमास ओभल मैदानमा आइतबार भएको खेलमा नेपालले भुटानलाई आठ विकेटले हराएको हो । पहिलो खेलमा पनि नेपालले हङकङलाई आठ विकेटले नै पराजित गरेको थियो ।
जितका लागि भुटानले दिएको ६६ रनको लक्ष्य नेपालले ११.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि अविजित रहँदै सीता रानामगर ३२ र रुविना क्षेत्रीले १७ रन बनाए । बलिङमा भुटानका अञ्जु गुरुङ र अञ्जुली घलेले समान एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा ६५ रन बनाएको थियो । भुटानका लागि नवाङ छोडेनले २५, कप्तान डिचेन वाङ्गमोले १७ र छिङि जाङ्गमोले १६ रन बनाए । बलिङमा नेपालका कविता कुँवर, सीता रानामगर, कविता जोशी र कप्तान इन्दु बर्माले एक एक विकेट लिए ।
दोस्रो जितसँगै नेपालले क्वार्टरफाइनलमा पुग्ने सम्भावना बढाएको छ । नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल मंगलबार माल्दिभ्ससँग खेल्नेछ ।
नेपालसहित १६ सहभागी टोली चार समूहमा छन् । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । सेमिफाइनल हुँदै फाइनलमा पुग्ने दुई टोलीले यसै वर्ष हुने महिला एसिया कप खेल्न पाउनेछन् ।
प्रतिक्रिया