संकटमा नेपाल–रुस संवन्ध

रुस र युक्रेन बीच निरन्तर लडाँइ भएको अगामी फागुन १२ गतेदेखि दुई वर्ष पुरा भएर तीन वर्षमा प्रवेश गर्दैछ । २०७८ साल फागुन १२ गते रुसले युक्रेन माथि आक्रमण गरेपछि युक्रेनले पनि प्रतिकार गर्यो । त्यस यता निरन्तर आक्रमण तथा प्रत्याक्रमण जारी छ । युद्ध सुरु हुँदै गर्दा रुसले सजिलै युक्रेनलाई आत्मासमर्पण गर्न वाध्य बनाउने र एक डेढ साता भित्रै युद्ध टुंगिने अनुमान गरिएको थियो । किनकी युक्रेनको तुलनामा रुस कयौं गुणा ठूलो सैन्य शक्ति हो । तर अनुमान गरे जस्तो भएन , युक्रेनले आफ्ना छिमेकी तथा महाशक्ति राष्ट्र अमेरिकाबाट सहयोग पायो । साथै विश्वका धेरै देशहरुले युक्रेनलाई नैतिक समर्थन दिए । कमजोर छिमेकीको भूमी हडप्न खोजेको भन्दै धेरैले रुसको अर्घेल्याँइ ठहर्याए । हाम्रो देश नेपालले पनि रुसी आक्रमणको विरोध गर्यो । दुई देशबीचको लडाँइको मुल्य निकै चर्को हुन्छ । यो दुई वर्षको अवधीमा रुस र युक्रेनले बेहोर्नु परेको क्षति सानो छैन । रुस र युक्रेन खाद्यान्न , तेलहन तथा पेट्रोलियम पदार्थ निर्यातक देश हुन् । त्यसैले यो लडाँइले विश्वलाई नै महंगीको मारमा धकेलेको छ । यो युद्ध सँग कुनै स्वार्थ नभएको नेपालले महंगीको मार मात्रै बोहोर्नु परेको छैन , आफ्ना नौजवान नागरिकहरु समेत गुुमाउनु परेको छ । रुस र युक्रेन दुवै देशका सेनामा हजारौं नेपालीहरु अवैध रुपमा भर्ती भएको र सयौं नागरिक मारिएको समाचार पुष्टि भइसकेको छ ।
रुसी सेनामा भर्ती गर्नका लागि नेपालमा शक्तिशाली गिरोह सक्रीय रहेको रहस्य नेपाल प्रहरीको अनुसन्धान टोलीले उजागर गरिसकेको छ । तर कति संख्यामा नेपालीहरु रुसी सेनामा भर्ती भएका छन् ? त्यसमध्ये कति जना मारिइसके ? कति जना घाइते तथा बेपत्ता भए ? भन्ने तथ्यांक आउने अवस्था छैन । अधिकारकर्मीहरुले १५ देखि २५ हजार जना भर्ती भइसकेको र त्यसमध्ये २५ प्रतिशत जति युद्धको प्रतक्ष मारमा परेको बताई रहेका छन् । तर सरकारले भने करिव एक हजार जति मात्रै भर्ना भएको मोटा मोटी आँकडा निकालेको छ । करिव दुई दर्जन जति मृतकको नाम सार्वजनिक भइसकेको छ । बास्तविक अवस्था के हो ? अधिकारकर्मीहरुको भनाई पत्याउने हो भने

यो युद्ध नेपालका निम्ति निकै भयावह बनेको पुष्टि हुन्छ । तर रुस विरोधी देशहरुको आर्थिक सहयोगमा एनजीओ खोलेर व्यवसाय चलाएकाहरुको भनाई पत्याई हाल्ने अवस्था पनि छैन । किनकी युद्धमा यस्ता ‘प्रोपोगण्डा’ सामान्य मानिन्छन् ।
रुसी सेनामा भर्ती हुन नेपालीहरु जाने क्रम जारी रहेको भन्दै राजधानी काठमाडौंमा विरोध प्रदर्शन हुन थालिसकेको छ । मृतक , घाइते तथा वेपत्ता भएका व्याक्तिका परिवार विरोध प्रदर्शनमा उत्रेका छन् । भर्ना भएकालाई फिर्ताको माग गर्दै सरकारलाई ज्ञापनपत्र पनि दिइएको छ । यति ठूलो ‘प्रोपगण्डा’ भइसके पछि रुसी सेनामा कार्यरत नेपालीका परिवारजनलाई भोक न निन्द्रा हुनु स्वभाविकै हो । जुन सुकै उद्देस्यले यो ‘प्रोपगण्डा’ भए पनि नेपालीहरु रुसी सेनामा भर्ती भएको र हताहत समेत भएको कुरा सत्य हो । तर यति ठूलो चर्चा भइ रहँदा नेपाल र रुस वीच संवाद हिनताको अवस्था छ । नेपाल सरकारले पठाएको पत्रको जवाफ रुसले नदिएको समाचार समेत आएको छ । त्यति मात्रै होइन , परराष्ट्र मन्त्री एनपी साउदले रुस भ्रमणका लागि पहल गरेको तर रुसबाट अनुमाति प्राप्त हुन नसकेको समाचार पनि आएको छ । यो समाचार यदी सत्य हो भने नेपालका लागि ज्यादै गम्भीर मामिला हो । रुस सँग संवन्ध राम्रो हुँदा नेपालले निकै ठूलो लाभ प्राप्त गरेको र रुस सँग संवन्ध नराम्रो हुँदा नेपालले ठूलो नोक्सानी बोहोर्नु परेको विगतको नजीरलाई स्मरण गर्नै पर्ने हुन्छ ।

प्रतिक्रिया