‘मूर्तिकलाः आयामिक रुपान्तरण’ पुस्तक मूर्तिकार, कला लेखक र विद्यार्थीका लागि खँदिलो खुराक हो भने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको लागि बौद्धिक सम्पत्ति । यस पुस्तकमा प्रागऐतिहासिक कालदेखि आजसम्म आइपुग्दाको विकासक्रम र हाल चलिरहेको पक्षलाई जानकारीमूलक ढंगले चर्चा गरिएको छ । पुस्तकमा पूर्वीय र पश्चिमी कला सिद्धान्तको अध्ययनलाई कलात्मक तरिकाले उधिनिएको छ । नेपाली मूर्तिकला विधामा तीन दशकदेखि अनवरत रुपमा सक्रिय मूर्तिकार ताराप्रसाद ओझा (धनगढी) द्वारा लिखित् उक्त पुस्तकको आवरण पृष्ठबाहेक भूमिकादी खण्डगरी ९२ पृष्ठ रहेको छ । पुस्तकको आवरणमा लेखकद्वारा सिर्जना गरिएको मूर्तिको तस्बिर रहेको छ । झट्ट हेर्दा गाढा खैरो रङको सर्प देखिने मूर्तिको टाउको स्वयम् मूर्तिकारको रहेको छ भने दुवै हातमा पखेटा बनाएका छन् । कालकुट विष ओकल्ने सर्पको अग्रभाग शान्तिको प्रतीक भई विचरण गर्न खोजिरहेको आभास हुन्छ । तसर्थ यो भन्न सकिन्छ कि लेखक र सर्जक दुवै उनी आफै भएकाले उनको त्यस मूर्तिमा पुस्तकको शीर्षक ‘रुपान्तरण’ सँग मेलखाने खालको छ । आवरणको माथिल्लो भागमा सुनौलो अक्षरले पुस्तकको नाम ‘मूर्तिकला: आयामिक रुपान्तरण’ र तल्लो भागमा स्वत् अक्षरले लेखकको नाम ताराप्रसाद ओझा लेखिएको छ भने पुस्तकको पछिल्लो आवरणपृष्ठमा प्रकाशकको लोगोसहित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, मूर्तिकला विभाग, सीताभवन, नक्साल, काठमाडौं लेखिएको छ ।
पुस्तकको भित्रीपृष्ठमा प्रतिष्ठानका तत्कालीन कुलपति कान्छाकुमार कर्माचार्यलको शुभकामनामा ‘मूर्तिकला सिर्जनाको माध्यम हुँदै कलावस्तुमा रुपान्तरण के–कसरी हुन्छ र प्राविधिक, मानसिक, वैज्ञानिक, मनोवैज्ञानिक, दार्शनिक तथा स्वयम् कलाकार÷मूर्तिकारका विचारहरु के–कसरी मूर्ति सिर्जनाको क्रममा जोडिन पुग्छन् र एउटा पूर्ण कलाको स्वरुप तयार हुन जान्छ,’ भन्ने विषयलाई लेखकले उल्लेख गरेका छन् । प्रतिष्ठानका तत्कालीन सदस्य सचिव विपिनकुमार घिमिरेले आफ्नो शुभकामना सन्देशमा ‘मूर्तिकला क्षेत्रमा आएका परिवर्तनहरु र ती परिवर्तन सँगसँगै नेपाली मूर्तिकारहरुले नयाँ प्रविधिहरुको प्रयोग गर्दै आफ्नो सीप तथा कौशलको वृद्धि गरी नेपाली मूर्तिकलाको विकासका लागि काम गर्दै आइरहनु भएको यथार्थलाई चित्रण गर्ने प्रयास गर्नुभएको छ,’ भनी उल्लेख गरेका छन् ।
प्रकाशकीयमा तत्कालीन मूर्तिकला विभाग प्रमुख र हालका उपकुलपति लालकाजी लामाले कलामा रुपान्तरण स्वयम् माध्यमबाट मूर्तिको स्वरुपमा रुपान्तरण प्रक्रियागत र सैद्धान्तिक चिन्तन, ज्ञान र शैलीले विचार पक्षमा पार्ने प्रभावले थुप्रै आयाममा रुपान्तरणका सम्भावनाको उजागर गरिएकोे विषयमाथि अध्ययन गरिएको जनाएका छन् । त्यस्तै, समालोचकको भनाईमा डा. यामप्रसाद शर्माले ‘पुस्तकले मूर्तिकला सिर्जना सम्बन्धमा कलाकार, शोधकर्ता तथा कलापारखीहरुलाई एउटा नयाँ दृष्टिकोण दिनेछ । सिर्जना, अध्ययन र अध्यापनबाट सैद्धान्तिक रुपमा खारिएका लेखकले मूर्तिकला सिर्जनाको जटिलता र बहुआयामिक पक्षहरुको संयोजनको प्रक्रियालाई पस्कने जमर्को गरेका छन्,’ भनी चर्चा गरेका छन् । कृतज्ञता ज्ञापनमा लेखकले अध्ययन अनुसन्धान गर्दा सहयोग गर्ने व्यक्ति तथा संघसंस्थाहरुप्रति कृतज्ञता रहेको उल्लेख छ । त्यसपछि दुई पृष्ठमा विषयसूची राखिएको छ । त्यसपछि शोधपरिचयबाट पुस्तकको मूख्य भाग सुरु हुन्छ ।
लेखकले पुस्तकलाई पाँच परिच्छेदमा विभक्त गरी त्यसमा पनि शीर्षक, उपशीर्षक गरी विभाजन गर्दै व्याख्या गरेका छन् । पहिलोदेखि क्रमशः शोध परिचय, मूर्तिकलाका सैद्धान्तिक पक्ष, दार्शनिकहरुद्वारा स्थापितकलाको सैद्धान्तिक चिन्तन, कलाकार्यको आयामिक रुपान्तरणमा प्राविधिक विधि, प्रक्रियाको भूमिका र निष्कर्ष रहेका छन् ।
पुस्तकको सुरुदेखि अन्त्यसम्ममा लेखकले लेखेका शब्द, वाक्य, हरफहरु अत्यन्तै मार्मिक र सम्झनै पर्ने महत्वपूर्ण विषय जस्तो बोध हुन्छ । उनले यस पुस्तकमा कतै पनि आवश्यक तथा अनावश्यक कथा बुनेको भेटिँदैन । जे लेखेका छन्, तथ्य र अनुसन्धानमा केन्द्रित रहेर लेखेका छन् । पुस्तक पढिरहँदा कुनै परीक्षाको तयारीका लागि बसिरहेको जस्तो अनुभव हुन्छ । पुस्तक पढ्दै गर्दा पेन्सिलले रेजा लगाउन मन लाग्ने बनाउँछ । पुस्तक पढिरहँदा कतिबेला त लाग्थ्यो, यो पुस्तक पाठ्यक्रमको लागि पर्याप्त छ । जहाँ हे¥यो, त्यहीँ प्रश्न र जहाँ पढ्यो त्यहीँ जवाफ रहेको पाएँ । कहिँ त कलाका पुस्तक र विज्ञानका पुस्तक उस्तै जस्तो पनि लाग्यो । काल्पनिक कथा जस्तो रोमाञ्चक र मिठास नभेटिए पनि अध्येताले दिन खोजेको कुरामा कुनै कमी भेटिएन ।
लेखकले जुनसुकै शीर्षक वा उपशीर्षकहरुका बारेमा विभिन्न पुस्तक सङ्कलन गरी, निकै समय खर्चिएर खोज गरी त्यसको सारांशलाई चोटिलो पारामा उठान गरेका छन् । त्यस्तै मूर्तिकलाका पुस्तकहरु सीमित भएकोले चित्रकला, विज्ञान, वास्तुकला, साहित्यका पुस्तकहरुको अध्ययन गरेका छन् । वास्तुकारले सन्तुलनमा स्थानलाई जसरी व्याख्या गरेका छन्, त्यसरी नै मूर्तिमा पनि व्याख्या र अभ्यास गर्न सकिन्छ भन्ने हेतुले अमेरिकन वास्तुकार फेन्क्र ल्वाइडको विचार ‘स्थान कलाको श्वास हो,’ भनी उल्लेख गरेका छन् । यसरी नै धेरै फूलबाट मौरीले मह सङ्कलन गरेजस्तै लेखकले अन्य पुस्तकको गुदी यस पुस्तकमा साभार गरी त्यसको सरल व्याख्या गरेका छन् ।
लेखक स्वयम् मूर्तिकार भएकोले पुस्तकमा मूर्तिकलाको मिहिन अध्ययन झल्किन्छ । पुस्तकमा लेखकले मूर्तिकलाको सुरुवात मानव सभ्यतादेखि सुरु भएको कुरा उल्लेख गर्दै सौन्दर्य तत्वमा प्रमुख भूमिका ग्रीक शास्त्रीयकालीन युगदेखि विशेष महत्वका साथ लिएको पाइन्छ । नेपालको सन्दर्भमा नेपाली मूर्तिकलाको शास्त्रीय युग लिच्छविकाललाई मानिन्छ भनी उल्लेख गरेका छन् । उनले मूर्तिको स्वरुप, शैलीगत विचार, अवधारणा, सैद्धान्तिक, दार्शनिक, ऐतिहासिक श्रृंखला आदिले दृष्टिकोण, चिन्तन, सैद्धान्तिक परिवेश, माध्यम, शैली आदिमा पनि पर्ने प्रभावले आयामिक रुपान्तरणको श्रृंखला क्रमशः विकसित हुँदै जान्छ र सयमक्रम अनुसार मूल्याङ्कन पनि परिवर्तित हुँदै जान्छ भनेका छन् । पुस्तकमा उनी आफ्नो अध्ययन क्षेत्रभन्दा बाहिर नगई शीर्षकसँग जोड्दै–जोड्दै पुस्तकको बिट मारेका छन् ।
पुस्तकमा धेरै विषय गहन र घनिभूत हुँदाहुँदै पनि केही चिज अपुग जस्तो लाग्यो । जस्तो कि नेपाली परम्परागत मूर्तिकलाको विषय उठान र तस्बिर राखिएको छैन, हिजोको कला पक्ष गौण रहेको छ । आयामिक रुपान्तरण शीर्षक भई रहँदा नेपाली मूर्तिकलाको रुपान्तण कसरी भइरहेको छ भन्ने विषयमा व्याख्या र केही मूर्तिहरुको तस्बिर उल्लेख भएको भए पाठकलाई अझ स्पष्ट हुने थियो । पुस्तकमा विभिन्न आयाम, वाद, विधाका बारेमा बृहत् खोज अनुसन्धान भइरहँदा नेपाली मूर्तिकारहरुले यी विधि, वादलाई पछ्याएका छन् या छैनन् भन्ने पनि स्पष्ट रुपमा नलेखिएको जस्तो लाग्यो । जस्तै: सेरामिक्स (टेराकोटा) बाट मूर्ति निर्माणको विधिसहितको गहिरो अध्ययन भइरहँदा नेपालमा सेरामिक्सबाट मूर्ति सिर्जना गर्दै आएका केही कलाकारको नाम र कामको व्याख्या गरिदिएको भए सुनमा सुगन्ध हुन्थ्यो कि झैं महसुस हुन्छ । अन्त्यमा, यस पुस्तकले मूर्तिकला विधामा भएको गुणस्तरीय पाठ्यसामग्री अभावलाई केही हदसम्म भरथेग गर्नेछ । साथै आगामी दिनमा लेखकले नयाँ नयाँ कृतिहरु लेख्ने विश्वास लिन सकिन्छ ।
प्रतिक्रिया