वर्षातको याम, चिप्लो बाटो, उसमाथि काँस घाँसको घारी बाटोमा । कतिपल्ट लडेर उठाए दिनानाथ सरले गनिसाध्य भएन । कतै बास पाइएन । कतै केही खान पाइएन । हामी १२ घण्टा विना खाना, पानी हिँडिरह्यौँ । कतै उकालोमा पसिना पुछ्दै त कतै ओरालोमा चिप्लेटी खेल्दै । एक ठाउँमा दुई–तीन घरमा हामीले मकै एकघान भुटेर खान दिनुस् हामी पैसा दिन्छौँ भन्दा पनि कोही मनुवा हाम्रो भोक मेटाउन तयार नभएको दुःखद् यथार्थ हाम्रोसामु आइलागेको थियोे । कतै मान्छे हामी आँगनमा पुग्दा दैलो बन्द गर्थे । कोही बोल्न अनकनाउँथे । अनि कतैचाहिँ सत्यकुरा भन्दैनथे । सायद सशस्त्र द्वन्द्वको मारमा परेर होला । कोही हामीलाई सरकारी सुराकी ठान्थे । कतैचाहिँ विद्रोही पक्ष । सायद हामी कोहीकसैसँग परिचित नभएर होला । बास्तबमै वडो विषम परिस्थिति थियो ।
यात्राको रहर जहिल्यै तीव्ररूपमा मनभित्रदेखि उर्लिन्छ । तर चाहँदैमा नहुने । तर बागलुङका केही गाउँहरू मज्जैले घुम्ने अवसर जुटाइदियो जागिरले । यस क्रममा विशेषतः पटकपटक यात्रा गरेको ठाउँ गल्कोट, हुग्दिशिर र सिंगाना हो । त्यहाँका दुई समुदायमा संस्थाले कार्यक्रम लागू गरेको थियो । यही क्रममा नरेठाँटीको कैयन्पटक यात्रा गरियो । त्यहाँको आत्मीयताले मलाई मेरो ठाउँ बिसाइदिएको थियो । अन्तिम पटकको यात्रा तय भयो २०६० मंसिरको अन्तिम सातातिर । कार्यक्रममा अन्तिम पुनर्ताजगी कार्यक्रम र समग्र कार्यक्रमको मूल्यांकन गर्ने सिलसिलामा म त्यहाँ पुगेको थिएँ । जान गाह्रो लागे पनि गइसकेपछिको अत्यन्तै आत्मीयभाव कहिल्यै बिर्सिनसक्नु छ । बुलबहादुर केसी महेन्द्र माविका शिक्षक, सामाजिक अभियन्ता पनि । यसपटक जाँदा थाहा भयो उनलाई विद्रोही माओवादीले अपहरण गरेर लगेछन् । यसअघि उनको घरमा केहीदिन बसेको थिएँ म । उनको जोडीको आत्मीय आतिथ्य सत्कारलाई कुनै शब्दमा लेख्न सक्दिनँ । ती भाउजुले आफ्नै छोरो ठान्थिन् मलाई । बुलबहादुर सरसँग यसपटक भेट भएन । अग्ला बलिष्ट ज्यान र मिजासका धनी बुलबहादुर सर । कति अमिलो भयो यो मन । अरू प्रायः सबैसँग भेट भयो । केयरसिंह दाइ र भाउजूको आत्मीयता उस्तै । यो पटक पनि उनीहरूसँग एकरात बसेँ । अत्यन्तै व्यस्त छन् उनीहरू । पसल यति धेरै चल्छ कि दुई जना मात्र छन् र त खाना खान पालो गर्नुपर्ने अवस्था छ । समाजसेवामा पनि उत्तिकै व्यस्त रहने बानी छ उनको । यहीकारण पनि प्रभावित छु यो जोडीसँग ।
दुर्गाबहादुर कुँवर निवर्तमान नरेठाँटीका गाविस अध्यक्ष उनले जनमोर्चाबाट चुनाव जितेका रे । उनको सहयोगी भाव बिर्सिनसक्नु छ । उनको घर पुगेको थिएँ म । गोपाल शर्मा दाइ हुलाकमा काम गर्छन् । बजार छेउमा सानो पसल पनि छ । उनी पनि समाजसेवामा रुची राख्छन् । शिव पाण्डे सर, घर अलिक पर्तिरको गाविस हरिचौर, महेन्द्र्र माविका शिक्षक, रेडक्रसको जिल्लामा पदाधिकारी पनि छन् । दिनेश पन्त पनि त्यहि स्कुलका सर हुन । रेडक्रस र क्लबतिर पनि सक्रिय छन् । हिरा श्रीस उनको पनि बजारमा सानो पसल छ । पसलमा उनकी जीवनसंगिनीले साथ दिन्छिन् । उनी त्यहि स्कुलमा पढाउँछन् । उनी गीत गाउने रहर गर्छन् । मीठो र सुरिलो छ उनको स्वर । मैले धेरै गीत सुनेको छु । रत्ना भण्डारी दिदी उनी सामाजिक रूपमा विभिन्न ठाउँमा आवद्ध छिन्, उनले मलाई ठूलो दुर्घटनाबाट जोगाएकी कहाँ बिर्सनु । दिदीअम्बिका खत्रीले छुट्टिने बेलामा आँखाभरी बलिन्द्र आँसुका धारा बगाएर रुमाल चिनो दिएकी थिइन् । ‘भाइ सायद अब भेट हुन्न होला है ? म पनि इन्डिया भिनाजु भएको ठाउँमा जान्छु छिट्टै । रुमाल चिनो दिएकी छु । यहि रुमाल हेरेर दिदीलाई सम्झनु है ।’ मैले धेरै वर्षसम्म रुमाल जतन गरी राखेको थिएँ । पछि कोठा सर्ने क्रममा कता हरायो कुन्नी । मन दुःखित बन्यो । यसैगरी दिदी दुर्गा विक पढाइलेखाइ कम भए पनि चेतनाको स्तर उपल्लो थियो । उनी पनि मलाई देखेर उनको भाइ बिर्सेको बताउँथिन् । उनले पनि मलाई आफैँले कुुँदेको चाँदीको औँठी उपहार दिएकी थिइन् । त्यो मसँग अद्यापि छँदै छ । मलाई अहिले पनि त्यो दृष्य याद छ, महेन्द्र मावि नरेठाँटी बजारबाट मलाई बिदाइ गर्दाको क्षण कति नरमाइलो भएको थियो । मेरा आँखा मात्रै होइन धेरैका आँखा रसाएर टिलपिलाएको देखेको थिएँ । दुर्गा दिदी कति टोलाएकी थिइन् । अम्बिका दिदी उस्तै निन्याउरी देखिइन् । केयर सिंह दाइले पनि मेरो प्रशंसामा धेरै समय खर्च गर्नुभएको थियो । मलाई अबिर र मालाले रंग्याइएको थियो । भर्खर कलेज सुरु गरेका बहिनीहरूले डायरी उपहार दिएका थिए । सबैले मलाई टीका लगाइदिए । भावुक बनेँ त्यहाँको माहोलले म । तर छिट्टै सम्हालिएँ । दुनियाँको दस्तुर यस्तै हो मिलनपछि बिछोड । बिछोडपछि मिलन त हुन्छ हुन्न कुन्नी, एकछिन सबैतिर नजर डुलाएँ । सबैजसो अध्याँरो मुहार पारेर बसेका छन् । म पनि बोल्नसक्ने परिस्थितिमा थिइनँ र पनि बलजफ्ती बोलेँ ।
‘आत्मीयजनहरू, मिल्नु र छुट्टिनु त जीवनको चक्र न हो । हामी बिछोडपछि फेरी मिल्नेछौँ । यो नेपाल उतिसाह्रो ठूलो छैन ताकि फेरी कहिँ न कहिँ भेट नहोस् । त्यसैले बिछोडको सन्त्रासबाट हामी सबै मुक्त हुनुपर्दछ । काभ्रे जिल्लाको फुच्चे केटा म । यहाँ आएर आफ्नो परिवारसँग बिछोडिएको महसुस गर्नुपरेन । यहाँहरूको मायाप्रेम, सहयोग, सद्भाव र आत्मीयताप्रति अनुगृहित छु । मेरो मनको अनुभूति शब्दमा पोख्न सम्भव छैन ।’ मैले भनिरहँदा गला अवरुद्ध भयो । हामीले अन्त्यमा सामूहिक फोटो सेसन ग¥यौँ जुन अद्यापि मसँग छँदै छ । दुर्गा, अम्बिका र रत्ना दिदीहरू घसघसाको उकालोसम्म पु¥याउन आए । छुट्टिने बेलामा दुर्गा र अम्बिका दिदी छाँद हालेर रोए । रत्ना दिदीले मन अमिलो पारिन् । ‘लाउनुस भाइ, गरिब दिदीले केही दिन सकिनँ । अलिकति खट्टे र भटमास भुटेर राखिदिएकी छु, बाटोमा खाजा खानु । सुन्तोलाका दाना टिपेर राखिदिएकी छु । यसो मुख सुक्दा खाँदै जानु है ।’ दुर्गादिदीको माया बोल्यो । मैले हार्दिकताकासाथ त्यो पोको समाएँ र झोलामा हाले ।
‘प्रदीप भाइ, नभुल्नु है दिदीलाई । याद आउँदा रुमाल हेर्नु, त्यसमा यो दिदी देखिन्छे ।’ अम्बिका दिदीले आँसु झार्दै भनिन् । ‘सर, हजुरसँग चिनापर्ची भो । जिन्दगीप्रतिका धेरै सकारात्मक सोचाइहरू सिकेँ । आत्मीयता गाँसियो । यो नादान केटीलाई केही भनी बिझाएकी भए माफ दिनुहोला आफ्नै बहिनी सम्झेर ।’ अमृतामा पहिलेको कुराले पश्चात्तापको भाव देखिन्थ्यो । उनले मसँग प्रेम प्रस्ताव राखेकी थिइन् । मैले सिधासिधि आफू विवाहित भएकोले यस्तो कुरा नगर्न भनेको थिएँ । उनले एउटा डायरी दिइन् । मैले हार्दिकतासाथ स्वीकारेँ । यो डायरी अद्यापि मेरो दराजमा भेटिन्छ । ‘सर, म बाग्लुङ बजार आउँदा हजुरसँग भेट अवश्य हुनेछ हजुरको अफिसमा ।’ रत्ना दिदीले केही दिनमै भेट हुने बताइन् । म अझै १५ दिनजति बस्नेवाला थिएँ बाग्लुङ ।
सबैलाई हात जोडेर आँखाभरी बिछोडका आँसु पारेर उक्लिएँ म घसघसाको उकालो घोडाबाँधेको लागि । उनीहरूको सामिप्यतामा मैले आफ्नो कार्यक्रमलाई सफल पारेको हुँ । यता घसातिरका अग्लाकदका व्यक्तित्व, शीतलपाटी प्राविका हेडसर तुलसीराम भण्डारी सर, उनीसँग मेरो सामिप्यता अलिबढी नै भयो । ममाथि आक्रमणको प्रयास भएको दिन मलाई बाग्लुङबजार पु¥याउन आउने उनी नै थिए । उनका दाजु भारतीय फौजीबाट रिटायर्ड डम्बरसिंह भण्डारी दाई मेरो मष्तिष्कमा अनुहार आइरहने नाम हो । मेरो जीवन जोखिम हुनबाट बचाएका थिए उनले । यसरी नै त्यहिँका पसले दाजु याविन्द्रसिंह भण्डारी जहाँ मैले छोराकै रूपमा माया पाएँ । धेरैसमय ब्यतित गरेको परिवार हो त्यो । धनबहादुर भण्डारी दाइको नि याद आउँछ । उहाँकोमा पनि बास बसेको थिएँ । ज्योतिष गुरु बलराम शर्मापौडेल जसले मेरो भविष्यबारे बताएका थिए । संयोग हो कि यथार्थ हो कुन्नी धेरै कुराहरू मेरो जीवनमा मेल खायो । उनले केही दिनमै तपाईंको जिन्दगीमा अनिष्ट हुनसक्छ भनेका थिए । उनले भनेको पर्सिपल्टै ममाथि असफल खुकुरी प्रहार भएको थियो । उनले मेरो अनुरोधविना नै चिनाटिपन पनि बनाइदिएका थिए । चिनाटिपन सुरक्षित छ मसँग । उनी जजमानी गर्न एकाबिहानै घरबाट बाहिर निस्कन लाग्दा तत्कालीन द्वन्द्वरत पक्ष र सेना बीचको भिडन्तमा मझेरीमै ढलेका थिए । पछि सेनाको हेलिकोप्टरले काठमाडौं ल्याएर उपचार गरेको थियो । उनी शरीरभरी द्वन्द्वकालीन गोलीका छर्रा बोकेर जिइरहेका मान्छे हुन् । मेरो मानसपटलमा यादगर बनेका छन् सबैजना । यसैगरी नरबहादुर श्रीस जो गाविस पूर्वउपाध्यक्ष थिए, हाम्रो कार्यक्रमका संयोजक उनी पनि रमाइला मान्छे । उनको कमजोरी मात्र रक्सी पिउँथे धेरै र प्रायः । तर भलादमी उत्तिक्कै । अरूलाई भनी नबिझाउने स्वभाव ।
पवित्रा श्रीस आमा, उमेरले त्यतिबेलै तीन बीस कटेकी थिइन् । होचो कदकी हँसिलो मुहारकासाथ सदा प्रस्तुत हुने उनी शीतलपाटीमुनि कोदोखोरियाकी थिइन् । महिला स्वास्थ्य स्वयंसेविका पवित्रा आमामा भएको जोशजाँगर सम्मानलायक थियो । मलाई संकटपर्दा दर्बिलो ढंगले उत्साह भरेकी थिइन् उनले । सायद उनले भूमिका नखेलेकी भए मलाई साँझको बेला जंगलको बाटो एक्लै यात्रा गर्नुपर्ने अवस्था आउँथ्यो, जुन कम्ती गाह्रो कुरा थिएन ।
गाजाको लेक कटेर फेरी ओरालो अनि फेरी तेर्साे । बल्ल आइपुग्छ बरेँङ । त्यहाँ नरबहादुर विकसँगको मित्रता झाँगियो अनायासै । पहिलोपटक जाँदा त्यहाँको गाउँले होटलमा बास बसेको म । दोस्रो पटकदेखि उनकैमा बसेँ । धन बहादुर विक नरबहादुरको दाइ र उनकी श्रीमती कालीदिदीलाई कहाँ बिर्सन सक्छु र यसैगरी नरबहादुरको बुबा हुलाकमा कार्यरत थिए । नरबहादुरजी जनमोर्चाको स्थानीय नेता । उनको घर उनका राजनीतिक दलका नेताहरू आँउदा बास बस्ने थलो रहेछ । जनताका चर्चित जनगायक जीवन शर्मालाई त्यहाँ पनि भेटे मैले । एकपटक नरबहादुरकोमा बस्दा एउटा घट्ना घटेको थियो । स्थानीय जनमोर्चा (चित्र बहादुर केसी)का कार्यकर्तालाई विद्रोही माओवादीहरूले अपहरण गरी लगेका रहेछन् । उनलाई छुटाउन त्यहाँका जनमोर्चाहरूले माओवादी कार्यकर्ता आफ्नो कब्जामा लिएका थिए । त्यो दिन नरबहादुरको सपरिवार मलाई मात्र घरमा छोडेर माओवादी लखेट्न गएका थिए । राती आए उनीहरू । म भनेँ नर्भस थिएँ । त्यो घर साँझमा मैले एक्लै रुग्नुपरेको थियो ।
त्यस्तै काशिराम पौडेल सर, देवबहादुर पुन हेडसर हरेक कुरालाई सकारात्मक रूपमा हेर्ने स्वभावका थिए । धनिश्वर पौडेल सर, थानेश्वर पौडेल सर जो बरेङको महेन्द्र माविका शिक्षकहरू कहाँ बिर्सनु । मेरो कार्यक्रमकी सामाजिक कार्यकर्ता दीपा रानामगर, म उनलाई मोटी भनेर जिस्क्याउँथे । अत्यन्तै सरल स्वभाव उनको । उनी निजीस्रोतमा बरेङको हाइस्कुलमा पढाउँथिन् । उनका मावलीका हजुरबासँग भलाकुसारी गर्न खुब मन पराउँथे म । उनीबाट पुराना धेरैकुरा जानेको थिएँ । त्यहाँ पटकपटक खाजा खाएको छु । उहाँहरूको आत्मीय मन । आफ्नोपन । भुलिनसक्नु उनीहरूसँग बिताएका पलहरू । गमबहादुर सर बरेङ बजार नपुग्दै हेल्थपोस्टभन्दा केहीमाथि घर थियो उनको । मज्जा लाग्थ्यो उनीसँग गफिन । मधुर मुस्कानका धनी गमबहादुर सर जहिल्यै बिस्तारै बोल्थे । अर्काे बिर्सन नसकिने नाम दिलमाया दिदी उनको सामाजिक कार्यमा समर्पित भएर लाग्ने स्वभाव । हँसिली तथा फरासिली । सबैसँग सहजै घुलमिल हुने स्वभाव थियो । पटकपटकको आवागमनमा त्यहाँको समुदायमा घुलमिल भएर बसेँ । उसो त नयाँ वर्षको उपलक्ष्यमा वनभोज पनि गयौँ हामी । नाचगान, दोहोरीको मज्जा लिई गजब रमाइलो गरियो । खसी मार हानियो ।
त्यस्तै यादगर छ । हुग्दिशीरको डाँडाकटेरी गाउँ । जयलाल शर्मा स्थानीय प्राविका शिक्षक । उनको घरमा धेरैपटक बसेको छु । पहिलोपटक आँटो खाएँ त्यहाँ । बुढा बा, जयलालको जोडी र दुई छोरा सानो परिवार तर सरल परिवार । उहाँको भन्दा केहीमाथि श्यामलाल दाइको परिवार । चिसो याममा त्यो घरको मकै भटमास आहा ! पूर्व वडा अध्यक्ष जनमोर्चाबाट जितेका । तर जातीयताका कट्टर समर्थक । उनको बुढीआमा पनि छिन् । छोरा र छोरी पनि । श्यामलाल दाइकोमा पनि एक छाक खाना खाएको छु । जयलालजीको घरभन्दा अलिक तल मुनिश्वर शर्माको घर छ । उनकी बहिनी विष्णु अत्यन्तै सज्जन लाग्छिन् । त्यो परिवारसँग पनि समय बिताएको छु । भाँगो र उवाको खाजा खाएको छु । डाँडाकटेरी गाउँको तल कलकल बग्ने ठाडो भण्डारखोला । जुकालाई रक्तदान धेरै गरेको थिएँ मैले त्यहाँ । सबै सबैको सम्झनाका तरेलीमा तरेलिन्छ मेरो मन ।
सिंगाना गाविसका दिनानाथ गौतम सर । नेरेसो बाग्लुङका दैवीप्रकोप समितिका संयोजक, सिगाना माविका शिक्षक । सदैव मेरो निर्णयमा सहमत हुन्थे । कैयन्पटक हामीसँगै फिल्ड घुमेका थियौँ । हराएको मान्छेको खोजी कार्य गर्न बाग्लुङको छिस्ती र जैदीसम्म पुगेका थियौँ हामी । वर्षातको याम, चिप्लो बाटो, उसमाथि काँस घाँसको घारी बाटोमा । कतिपल्ट लडेर उठाए दिनानाथ सरले गनिसाध्य भएन । कतै बास पाइएन । कतै केही खान पाइएन । हामी १२ घण्टा विना खाना, पानी हिँडिरह्यौँ । कतै उकालोमा पसिना पुछ्दै त कतै ओरालोमा चिप्लेटी खेल्दै । एक ठाउँमा दुई–तीन घरमा हामीले मकै एकघान भुटेर खान दिनुस् हामी पैसा दिन्छौँ भन्दा पनि कोही मनुवा हाम्रो भोक मेटाउन तयार नभएको दुःखद् यथार्थ हाम्रोसामु आइलागेको थियोे । कतै मान्छे हामी आँगनमा पुग्दा दैलो बन्द गर्थे । कोही बोल्न अनकनाउँथे । अनि कतैचाहिँ सत्यकुरा भन्दैनथे । सायद सशस्त्र द्वन्द्वको मारमा परेर होला । कोही हामीलाई सरकारी सुराकी ठान्थे । कतैचाहिँ विद्रोही पक्ष । सायद हामी कोहीकसैसँग परिचित नभएर होला । बास्तबमै वडो विषम परिस्थिति थियो । सर्वसाधारणहरू भयभित र आतंकित देखिन्थे । यस्ता धेरै स्मरणहरू जीवन्त बनेर बसेका छन् मनमा । टिकाराज पौडेल मेरो सहकर्मी । घर तित्याँङ उनको । कैयनपटक बास बसेको छु त्यहाँ आमाको छत्रछाँयाको अभाव भएन । उनले मेरो धेरै कुराहरू सहजीकरण गर्थे । मलाई जिल्लाका विभिन्न गाउँहरूमा उनले नै परिचित गराएका हुन् । पहिलोपल्ट परियोजना लागूभएका हुग्दिशिर, सिँगाना, नरेठाँटीका समुदायमा उनैले लगेका हुन् । उनीसँगका धेरै पलहरू मेरो हृदयमा रेकर्ड भएर रहेका छन् ।
बागलुङ बसाइको अर्काे भुल्न नहुने नाम हो रक्तसञ्चार सेवामा कार्यरत गुरुप्रसाद शर्मा भाइ । उनीसँग बसउठ भयो । उनले बनाएको खाना धेरैपटक खाएको छु । नाचगान गर्न असाध्यै सिपालु गुरु । भन्थे उनी रक्तिम सांस्कृतिक परिवारमा पनि आवद्ध थिएँ भनेर । होटल हिल भ्यू र त्यसका सञ्चालक राज थापा गल्कोटका । उनकी श्रीमती आदरणीय दिदी । करिब पाँच महिना त्यहीँ होटलमै बसेको म । उहाँहरूको आत्मीयता कहाँ विर्सन सकुँला र ! सानासाना नानीहरू पनि सम्झिरहेको छु । उनको भतिज राम भाइ प्रायः सँगै बस्थ्यौँ हामी । अर्की पात्र हुन भकुण्डेकी प्रमिला थापामगर उनको घरमा लोकल भाले र कोदोको ढिँडोको मज्जा जिब्रोमै झुन्डिरहन्छ । मलाई अति खातिरदारी गर्थिन् उनी । उनको होचो कद, गोरो मुहार र लामो केशराशि याद आउँछ ।
यस्ता थुप्रै नाम छन् । सहकर्मी सुशीलराज रेग्मी, कार्यालय सहयोगी लक्ष्मी गौतम दिदी, मैले खाना खाने गरेको दुर्गा दाइ र उनकी आमा । परिवार नियोजन संघका शाखा प्रबन्धक क्षत्रबहादुर क्षेत्री, पियन बेलबहादुर विष्ट, होटलबाला श्याम दाइ थुप्रै नामसँग यादगर भएर जोडिएको छु म । संकटकाल लागेको थियो मुलुकमा । सशस्त्र द्वन्द्वको चपेटामा सलहजस्तै फैलिएको ‘क’ श्रेणीको जिल्ला बागलुङ । प्रायः फिल्डको कार्य । बहुत कठीन थियो । संकटले आँगन भरिएको थियो । मेरा कैयन् खतरनाक कहरपूर्ण पलहरू गुज्रिएर गए । तर माथिका असल मनहरूको कारण मेरो यहाँको बसाई र अफिसियल कार्य सहज बनेको थियो । ती असली पात्रहरूको कारण संकटका घोच्ने काँडा पनि सजिलै पोल्न सकेँ मैले ।
पुराना कुरा यादमा नियाल्छु । मनको ढोका ऐतिहासिक बनेर खुल्छ । धवलागिरि हिमालको काखमा बसेर, कालीगण्डकीको कञ्चन पानीका असला माछा । छाप्राहरूमा खाएका माछाका स्वाद आहा ! करिब साढे दुई वर्षको बसाइमा खेपेका, भोगेका दर्दनाक दृष्यहरू तथा रमाइला पलहरू मनमा उदाउँछन् अहिले पनि आक्कलझुक्कल । बागलुङ कालिका भगवती मन्दिर जहाँ म प्रायः पुग्थेँ र दृष्यपान गर्थें, कालीगण्डकी, नजिकैको खोच र जंगलको आनन्द लिन्थेँ । वर्षात्मा कालीगण्डकी नदीमा आउने छालजस्तै खुसीका उत्ताल छालहरू आउँथे मनमा । आतंककारीको बिल्ला भिराएर तत्कालीन शाही सेनाले समातेर लानखोज्दा छुटाउने आदरणीय गौतम बा र टीकाराम सापकोटाबालाई सम्झन्छु । त्यहीँ बागलुङको नरेठाँटीको शीतलपाटी स्कुलमा म माथि खुकुरी प्रहार गर्ने नारायण भण्डारीको मुहार पनि याद आउँछ । यस्तै विभिन्नताका परिवेशहरूसँग साक्षात्कार भएको बागलुङ तिम्रो मलाई सम्झना आउँछ । बिहुँबाट घोडाबाँधे जाँदा बाटोभरी सुनौला, कालालगायत अनेकौँ रङका कालिजहरू बाटोमा चरिरहेको देख्दा आनन्द महसुस गरेको छु मैले । नेपालभित्रको नेपाल भनेर चिनिने त्यो पहाडी परिवेश कहाँ चाहेर भुल्नु ।
यात्रा र त्यसको संस्मरण सबैले गर्छन् । कसैले सुखद पलका मात्र स्मरण गर्छन् त कसैले अप्ठ्यारो समयको । तर मेरा बागलुङ बसाईका ती सबै पलहरू यादगर बनेका छन् । गाजाको लेकमा भयभित हुँदै एक्लै यात्रा गर्दा होस्, जुकालाई टोकाउँदै हिँड्नुपर्दा किन नहोस् । अथवा ‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको’ का गायक जीवन शर्माको जोडीसँग उनीहरूका गीत सुन्दै बाटो काटेको पल । कतै बास घरभित्र नपाएर पिँढीमा सुतेर आकाशका तारा गन्दै गरेको समयलाई पनि साथ दिएको थिएँ मैले । देश बुझ्ने, आम भुइँमान्छेका दर्दनाक पीडासँग साक्षात्कार गर्ने अवसर पनि दिएको थियो उतिबेला बागलुङले । सदरमुकामको गर्मी, अनि लेकको चिसो, आँटो र गिठ्ठा भ्याकुर तथा भाँगोको स्वाद चखाएकै हो बागलुङले मलाई । लाहुरेका सुन्दर सफा बस्ती, सेताम्मे केश फुलेको हिमाल, झोलुंगे पुलहरू, गाजाको धुरीमा फैलिएको कपास जस्तै हुस्सु, अत्यासलाग्दो त्यो वन, मनै लोभ्याउने गाजाको दह ।
विचित्रको सामाजिक सद्भाव र संरचना बोकेको जिल्ला । बलेवाको सुचारु नभएको एयरपोर्ट, उर्वरयोग्य गल्कोट एरिया, भकुन्डेबाट देखिने रमणीय दृष्य आदिले जहिल्यै खिच्छन् बाबै मलाई । सिँगानाको लामाचौरको दलित बस्तीमा कथित दलितको आरोप खेप्नुपरेको अनुभव, जातीय समानताको लागि मैले त्यहाँ गरेको सहभोज र त्यसको सकारात्मक प्रभाव सम्झँदा निःसन्देह मन आल्हादित छ । अहिले पनि आफ्नाहरू रोएर सुक्सुकाएको देख्छु । विछोडको पीडामा मुहारको नीलीमा अध्याँरो भएको पाउँछु । अहिले पनि फनफनी घुमिरहेछु, यसरी घुम्दा कहिले पुग्छु जिप चढेर मुटु काँप्ने बाटो घोडाबाँधे, कहिले जुकाले टोकेर रगताम्मे हुँदै गाजाको लेक चढ्छु । कहिले डाँडाकटेरीमा कुहिरो चुम्न पुग्छु त कहिले पैयौँपाटाका उकालो चढ्छु । बिहुँकोट हेर्दै गल्कोटका मलिला फाँटहरू चाहार्छु । अनि कहिले गल्कोटे मल्लराजाको दरबार मेरै आँखाको समीपमा पाउँछु । यादैयादमा मनले अहिले पनि पढिरहेछ त्यहाँको समग्र भूगोल ।
प्रतिक्रिया