चिराइतोको मूल्य बढ्दै, उत्पादन घढ्दै

ताप्लेजुङ । पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रूपमा बढ्दै गएको छ । तर उत्पादन भने घढ्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन । किसानले लगाएको चिराइतोको मूल्य समेत पाउँन मुस्किल भएपछि किसानले खेती गर्न छोडेका थिए । तर अहिले बजार मूल्य बढ्दै गएको छ, तर उत्पादन भने विगतको तुलनामा घट्दै गएको छ ।

फक्ताङलुङ गाउँपालिका–४ सुङसाबुका अमर लिम्बूले विगतमा ३५ मनसम्म चिराइतो उत्पादन गर्थे । उनले चिराइतो भरियामार्फत ढुवानी गरेर बिक्रीका लागि ओलाङचुङगोलासम्म पुर्‍याउँथे । ओलाङचुङगोला नजिकै रहेको टिप्ताला नाका हुँदै चिराइतो चीनमा निर्यात हुन्थ्यो । तेह्रथुम, पाँचथर, इलाम र ताप्लेजुङमा उत्पादन हुने चिराइतो ओलाङचुङगोला हुँदै चीनमा निर्यात हुने गरेको थियो । तर कोभिड–१९ का कारणले टिप्ताला नाका बन्द भएसँगै अहिलेसम्म नाका खुलेको छैन । नाका बन्द हुँदा किसानले उत्पादन गरेको चिराइतो लामो समय बजार पाउन सकेन । किसानले उत्पादन गरेको चिराइतोको बजार नपाएसँगै धेरै किसानले चिराइतोखेती गर्न समेत छोडेर अन्य पेसा अँगाल्न पुगेका छन् ।

लिम्बूले गत वर्ष सात मन मात्र चिराइतो बिक्री गरे । प्रतिमन ३६ हजारमा गाउँमा नै व्यापारी आएर खरिद गरेको लिम्बूले बताए । ‘अहिले गाउँमा चिराइतो खेती छोडी सक्यो । लामो समय बजार मूल्य बढ्न नसकेको कारणले चिराइतो खेती गर्न छोडेर केही वैदेशिक रोजगारीमा गइसकेका छन् । हामी थोरैले मात्र यसो औषधिका लागि खेती गर्दै आएका छौँ,’ उनले भने । उनका अनुसार सुङसाबु गाउँमा विगतमा एक सय मनभन्दा बढी चिराइतो उत्पादन हुन्थो । तर यस वर्ष भने ४५ मनको हाराहारीमा चिराइतो उत्पादान भएको छ ।

फुङलिङ नगरपालिका–१० टेकमान भट्टराईले यस वर्ष अहिलेसम्मकै उच्च मूल्यमा चिरोइतो बेचे । कोभिड महामारीका बेला ६० रोपनी जग्गामा सात किलो चिराइतो छरेका उनले प्रतिकेजी १ हजार एक सय २५ का दरले सात क्विन्टल चिराइतो घरबाटै बिक्री गरे । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका- ७ का चिराइतो खरिद बिक्री गर्दै आएको चिराइतो व्यापारी टाँसी शेर्पाले यस वर्ष ५० मन चिराइतो सङ्कलन गरेर झापाको विर्तामोडमा लगेर बिक्री गरे । उनका अनुसार अहिले ताप्लेजुङमा प्रतिमन ४५ हजारमा खरिद बिक्री हुँदै आएको छ ।

गाउँमा उत्पादित चिराइतो बजारसम्म लैजान डिभिजन वन कार्यालयमा प्रतिकिलो १५ रुपैयाँ राजस्व बुझाउनुपर्छ । चालु आर्थिक वर्षमा ताप्लेजुङबाट पाँच हजार आठ सय २० केजी चिराइतो निकासी भएको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ । सो बापत ८७ हजार तीन सय राजस्व सङ्कलन भएको छ । गत वर्ष पाँच हजार आठ सय केजी ताप्लेजुङ चिराइतो उत्पादन भएको थियो भने चिराइतोबाट ८७ हजार राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालय ताप्लेजुङको तथ्याङ्क छ ।

वन कार्यालयको तथ्याङ्कअनुसार ताप्लेजुङमा २०७७/७८ मा १६ हजार तीन सय केजी चिराइतो सङ्कलन भएको र यसबाट दुई लाख ४४ हजार पाँच सय राजस्व सङ्कलन भएको थियो । विगतका तुलानामा चिराइतो उत्पादनमा क्रमिक घट्दै गएको देखिन्छ । चिराइतो सङ्कलन गरेर जिल्लाबाहिर लैजान अनेक प्रक्रियागत झन्झट रहेको चिराइतो सङ्कलक व्यापारी बताउँछन् ।

झार वर्गको यो वनस्पति सङ्कलनका लागि २८ महिनामा मात्रै योग्य हुने गरेको छ । तर एक पटक लगाएपछि बर्सेनि लगाउनु भने पर्दैन । पाकेको फूल आफैँ झर्छ र त्यहीँ उम्रन्छ । पहिलो वर्ष काण्डवृद्धि नभई त्यसबाट पात पलाई मूलाजस्तो हुने, दोस्रो वर्ष जमिनमाथि काण्ड विकास भई हरेक आँख्लामा हाँगा र पात पलाएर आउने र यसमा फूल फुल्ने र बीउ लाग्ने किसान बताउँछन् । दुई वर्षमा सप्रेको बोट १.५ मिटरसम्म अग्लो हुने किसानहरूको भनाइ छ । – रासस

प्रतिक्रिया