नाग निस्केको ठाउँमा मन्दिर निर्माण गर्ने मेयर साहको घोषणा

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–३ मा मन्दिर निर्माण गरिने भएको छ ।
मौलापुर नगरपालिकाकी प्रमुख रिना कुमारी साहले फतुवा विजयपुर नगरपालिका–३ मेवा गाउँमा उक्त मन्दिर निर्माण गर्ने भएकी हुन् ।

फतुवा विजयपुर– ३ मेवा गाउँ र टेंग्राहाको बीचमा सो नाग देखिएको हो । सितलपुर र मेवाको सिमानामा केही दिनदेखि अदभूत नाग देखापरेपछि त्यहाँ मन्दिर बनाउनुपर्ने आम जनअपेक्षा एवं मागबमोजिम मेयर साहले यस्तो घोषणा गरेको आजपाका केन्द्रिय सदस्य एवं फतुवा विजयपुर नगरपालिकाका मेयर प्रत्यासी विजय यादव निर्विजले जानकारी दिए ।

वडाध्यक्ष सञ्जय यादव लगायतका जनप्रतिनिधिहरुसहित दर्शन गर्न पुगेका मेयर साहले हाम्रो मौलिक धर्म संस्कृति र पर्यटन प्रवर्द्धनमा विशेष योगदान पुग्ने उद्देश्यले गरेको घोषणाप्रति आजपा नेता यादवले हार्दिक आभारसहित विशेष धन्यवाद दिए ।

नाग निस्केको स्थानमा बिहानैदेखि दर्शन गर्नेहरूको भीड लाग्ने गरेको स्थानीय वीरेन्द्र यादवले बताए । पछिल्लो केही दिनदेखि उक्त स्थान नहरको छेउमा नाग देखिने गरेको समाजसेवी यादवले जानकारी दिए । नाग नहर छेउको खेतको दुलोबाट बिहान १० बजे निस्केर दिउँसो ३ बजेसम्म एउटै स्थानमा बस्ने गरेको गाउँलेहरुले बताएका छन् ।

नाग देवता भनिएको उक्त सर्प जस्तै केही समयअघि कटहरियामा पनि देखिएको थियो । उक्त सर्पलाई ब्लेक कोबरा भनिएको थियो । यसअघि जिल्लाको उत्तरी भेग गुजरा नगरपालिकाअन्तर्गत जंगलमा नाग देवता देखिएको भन्दै दैनिक हजारौँ मानिस हेर्न जाने गरेका थिए ।

स्थानीयको अनुरोधमा मेयर सन्तलाल चौधरीले नाग निस्कने स्थान पुलको छेउ जंगलमा मन्दिर निर्माणको लागि शिलान्यास गरेका थिए । शिलान्यासको केही दिनपछि उक्त स्थानमा बिगत एक महिनादेखि आउँदै गरेको सर्प आउन छोडेपछि मन्दिर निर्माण हुन सकेको थिएन ।

प्रतिक्रिया