नेपालको वैदेशिक पर्यटन ऋणात्मक

नेपाललाई प्रचुर पर्यटकीय संभावना भएको देशका रूपमा लिने गरिन्छ । धार्मिक तथा सांस्कृतिक धरोहर लुम्बिनी र पशुपतिनाथ नेपालमै छन् । विश्वका सबैभन्दा अग्ला १५ वटा शिखरमध्ये सर्वोच्च शिखर सगरमाथालगायत १० वटा शिखर नेपालमै छन् । नेपालको १ सय ५० किलोमिटर चौडाइभित्र समुन्द्रको सतहबाट ७० मिटर उचाइदेखि ८ हजार ८ सय मिटरभन्दा बढी उचाइसम्मको भौगोलिक विविधतामा थुप्रै प्राकृतिक विविधताहरू छन् । सांस्कृतिक विविधतामा पनि नेपाल अनुपम छ । लोपोन्मुख जंगली जनावर नेपालमै छन् । हिमाल आरोहण मात्रै होइन ¥याफ्टिङको क्षेत्रमा पनि नेपाल जत्तिको धनी अरू देश नरहेको भनिन्छ । तर, पर्यटकीय संभावनाको उपयोग भने हुन सकेको छैन । यतिधेरै संभावना भएको देशमा वार्षिक १०–१२ लाखभन्दा बढी विदेशी पर्यटक नआउनु भनेको नेपालको सामान्य कमजोरी होइन । पर्यटन व्यवसायको आम्दानी नगन्य छ । तथ्यांक हेर्ने हो भने यस्तोसम्म लज्जाजनक अवस्था छ कि, नेपाल घुम्न आउने विदेशी पर्र्यटकबाट जति रकम भित्रिन्छ त्यो भन्दा करिब दोब्बर रकम विदेश घुम्न जाने नेपालीबाट बाहिरिने गरेको छ ।

उदाहरणका लागि चालु आर्थिक वर्षको ६ महिनामा विदेशी पर्यटकबाट ३९ अर्ब ५६ करोड रुपैयाँ भित्रिएको छ । तर विदेश भ्रमणमा जाने नेपालीमार्फत ९२ अर्ब ८७ करोड रुपैयाँ बाहिरिएको छ । यो तथ्यांक स्वास्थ्य उपचारको नाममा बिदेसिएको रकम बाहेकको हो नेपाल राष्ट्र बैंकले हालसालै जारी गरेको तथ्यांक हो यो । सन् २०२३ मा घुम्नका लागि, पढ्नका लागि, आफन्त भेट्नका लागि र स्थायी बसोबासका लागि विदेश जाने नेपालीहरूको संख्या करिब सात लाख रहेको तथ्यांक छ । यता विदेशी पर्यटकको आगमन करिव ११ लाख रहेको तथ्यांक छ । तर, भित्रिने रकमभन्दा बाहिरिने रकम धेरै छ ।

गरिब नेपालीले खाडी, मलेसिया तथा कोरियामा रगत र पसिना बेचेर विदेशी मुद्रा पठाउने र त्यही विदेशी मुद्रा धनीहरूले बाहिर लैजाने डरलाग्दो सिलसिला नेपालमा विगत केही वर्षदेखि जारी छ । हुन त करिब १८ खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बचत रहेको तथ्यांक पनि नेपाल राष्ट्र बैंकले गत मंगलबार सार्वजनिक गरेको छ । यो भनेको करिब १४ महिनाको बस्तु आयात धान्ने रकम हो । विदेशी मुद्रा खर्चका लागि कन्जुस्याइँ गर्नुपर्ने अवस्था छैन । साँचेर राख्नु पनि देशको आर्थिक स्वास्थ्यका दृष्टिले उपयुक्त हुन्न । खर्च गर्नै पर्छ । तर, यस्तो खर्च अनुत्पादक क्षेत्रमा गर्ने कि उत्पादक क्षेत्रमा ? भन्ने विषयमा भने सरकारले निर्मम समीक्षा गर्नुपर्छ । विदेश घुम्न र स्थायी बसोबास गर्न जाने नेपालीहरूले लैजाने रकम भनेको बिलकुलै अनुत्पादक हो । कच्चा पदार्थ तथा निर्माण सामग्री आयातका लागि हुने खर्च भनेको उत्पादक हो । किनकी कच्चा पदार्थ तथा निर्माण सामग्री जति धेरै आयात भयो उति धेरै रोजगारी बढ्छ । भन्सार शुल्क घटाएरै भए पनि कच्चा पदार्थ तथा निर्माण सामग्री तथा प्रविधि आयातलाई प्रोत्साहन गर्नुपर्छ । तर विदेश भ्रमणलाई भने निरत्साहित पार्नै पर्छ । अत्यावश्यकीय र देशलाई हित हुनेबाहेक अरू प्रकारका विदेश भ्रमणलाई प्रतिबन्ध लगाउन नसकिएला तर विदेशी मुद्रा सटहीको सुविधामा भने अंकुश लगाउन सकिन्छ ।

एक वर्षमा ६ महिना विदेश भ्रमणमा बिताउने नेपालीहरूको संख्या पनि उल्लेख्य छ । एक वर्षमा दुईपटक थाइल्यान्ड र हङकङ, एकपटक अमेरिका, एकपटक युरोप भ्रमणको स्थायी क्यालेन्डर भएका नेपालीहरूको संख्या पनि उल्लेख्य छ । विभिन्न अबैध धन्दाबाट छिटो सम्पत्ति कमाएको यो वर्गले गरिब जनताले कमाएर पठाएको डलरमा मस्ती गरिरहेको छ । त्यो मस्ती पनि स्वदेशभित्रै गरिदिएको भए होटेल रेस्टुरेन्ट व्यवसाय फस्टाउँथ्यो । तर विदेशमा गएर मस्ती गरेका छन् । रोजगारीका लागि विदेश जानेलाई एयरपोर्टमै र्याखर्याख्दी पार्ने, फर्केर आउँदा चेकजाँचका नाममा अनेक सास्ती दिने गरिएका घटना थुप्रै छन् । तर, उनीहरूकै कमाई लिएर विदेशमा मस्ती गर्न जानेहरूले एयरपोर्टमा कर्मचारी तथा सुरक्षाकर्मीबाट लोभलाग्दो सत्कार पाउँछन् । अनि देशमा केही पनि भएन, लोकतन्त्रले देश सिध्यायो भनेर गाली गर्ने पनि उनीहरू नै हुन्छन् ।

प्रतिक्रिया