बारा । लामो समयदेखि अतिक्रमणको चपेटामा परेको पालिका क्षेत्र भित्रका सार्वजनिक जग्गालाई संरक्षण गर्न देवताल गाउँपालिकाले पहल सुरु गरेको छ । पालिकाभित्र छरिएर रहेको सार्वजनिक जग्गा यकिन गरी त्यसको लगत खडा गरेर संरक्षण गर्न थालिएको देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवले जानकारी दिए ।
‘जग्गा संरक्षण गर्ने कार्यलाई अहिले तीव्र बनाएका छौँ,’ उनले भने, ‘पालिकाले अलपत्र रहेका, अतिक्रमित भइसकेका सबै जग्गाको पहिचान गर्ने काम सुरु गरेको छ ।’ पहिचान भइसकेको जग्गालाई स्थानीय वासिन्दा, निर्वाचित जनप्रतिनिधि, भद्रभलादमी, कर्मचारी सबैको सहमतिमा नापजाँच गरेर संरक्षण गर्न थालिएको उनले जानकारी दिए ।
सार्वजनिक जग्गा संरक्षणमा गाउँपालिका अध्यक्ष उदयप्रसाद यादवले चासो देखाएपछि संरक्षण कार्यलाई तीव्र पारिएको उनले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष यादवकै नेतृत्वमा सार्वजनिक जग्गाको पहिचान र संरक्षण गर्ने कार्य भइरहेको देवताल गाउँपालिका–३ का वडाध्यक्ष रामकिशोर प्रसाद कुशवाहाले बताए ।
वडा–३ मा रहेको २२ कठ्ठा र आठ कठ्ठा ऐलानी जग्गा, दुई कठ्ठा रामजानकी मन्दिरको नाममा रहेको जग्गालाई संयुक्त गर्ने तयारी गरिएको छ । यकिन गरिएको यो जग्गालाई स्थानीय २६ जनाभन्दा बढी व्यक्तिले अतिक्रमण गरी भोगचलन गर्दै आएका थिए । ती सबै जग्गालाई एकै ठाउँमा ल्याएर संरक्षण गर्ने तयारी सुरु गरिएको उनले बताए ।
‘गाउँपालिका अध्यक्ष यादवकै अध्यक्षतामा आम्वामा सर्वपक्षीय भेलासमेत ग¥यौँ’, उनले भने, ‘भेलाले जग्गा संरक्षण गर्न सहमतिसमेत ग¥यो ।’ भेलामा भएको सहमतिअनुसार गाउँपालिकाले तोकेको समयसीमाभित्र कुनै पनि वाधा अवरोधविना अतिक्रमण हटाउने निर्णयसमेत गरिएको उनले जानकारी दिए ।
वडाध्यक्ष कुशवाहाका अनुसार ऐलानी जग्गा, रामजानकी मन्दिरको नाममा रहेको जग्गा र पोखरीको जग्गा संयुक्त गरी प्राविधिक खटाई एकमुष्ठ जग्गा यकिन गर्ने निर्णय भेलाले गरेको छ ।
ती जग्गामा रहेका सम्पूर्ण संरचनाहरू निर्वाध रूपमा हटाउने, जग्गाको चारैतिर बसेका व्यक्तिको आवतजावत गर्न गाउँपालिकाले उपयुक्त ठानेको स्थानबाट बाटोको व्यवस्था गर्ने र खाली भएको जग्गामा गाउँपालिकाले उचित ठाने अनुरूपको भौतिक संरचना निर्माण गर्न सक्ने सर्वसहमतिबाट भेलाले निर्णय गरेको उनले जानकारी दिए ।
देवताल गाउँपालिका अध्यक्ष उदयप्रसाद यादवको अध्यक्षतामा सोमबार आम्वामा भएको सर्वपक्षीय भेलाले यस्तो निर्णय गरेको हो । भेलामा देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तव, वडाध्यक्ष रामकिशोर प्रसाद कुशवाहा, भोलामिया मंसुर, नवलकिशोर प्रसाद यादव, रामपृत महतो, हरिन्द्र्र महतो, विजयकुमार कुशवाहा, बलिराम ठाकुर, दिनेश कुशवाहा, लवकुश कुशवाहा, जवाहिर साह लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया