३७ वर्ष अगाडिको भ्रष्टाचार प्रकरण

बाँसबारी छाला जुत्ता कारखानाको ३७ वर्ष अगाडिको भ्रष्टाचार प्रकरण यतिबेला फेरि चर्चामा आएको छ । यो प्रकरणमा मुछिएका व्यवसायी अरुण चौधरी र तत्कालीन महाप्रबन्धक अजितनारायण सिंह थापालाई नेपाल प्रहरीको केन्द्रप्य अनुसन्धान ब्युरो ( सिबिआई) ले थप छानविनका लागि बिहीबार पक्राउ गरेको छ । उनीहरूमाथि छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा अपचलन गरेको आरोप लागेको छ । अभियुक्त अरुण चौधरी नेपाली कांग्रेसका नेतासमेत रहेका अर्बपति व्यापारी विनोद चौधरीका भाइ हुन् । तत्कालीन समयमा जग्गा अपचलनमा मुख्य भूमिका विनोद चौधरीको रहेको केही वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनले पुष्टि गरेको थियो । विनोद चौधरी स्वयंले पनि आफ्नो आत्मवृतान्त पुस्तकमा कतिपय कानुनी तगरा नाघ्न सफल भएको भन्दै गर्व गरेका छन् । दाई विनोद चौधरीले गरेको अपचलन प्रकरणमा भाइ अरुण चौधरीलाई किन छानविनका लागि पक्राउ गरियो ? भन्ने प्रश्न सामाजिक सन्जालमा धेरैले उठाएका छन् । तर उनीहरूको अधिकांश सम्पत्ति साझा छ । बाँसबारी छाला जुत्ता कारखानाको अपचलन भएको १० रोपनी जग्गा मध्ये अधिकांश अरुण चौधरीको नाममा छ । त्यहाँ सञ्चालित चाँदबाग स्कुल भने विनोद चौधरीको नाममा छ ।

उद्योगको नाममा रहेको सरकारी जग्गा व्यक्तिको नाममा बेचेर निजीकरण गर्न सकिने प्रावधान पञ्चायतकालको कानुनमा थिएन, तर राजदरबारको आदेश भने कानुनभन्दा माथि थियो । त्यतिबेला राजदरबारको तर्फबाट उद्योग हेर्ने जिम्मा पाएका थिए, ‘कान्छा अधिकारकुमार धीरेन्द्र शाहले ।’ धीरेन्द्र शाहसँग विनोद चौधरीको राम्रो दोस्ती थियो । त्यतिबेला बाँसबारी छाला जुत्ता कारखानाका लागि पैसा आवश्यक भएको बहाना बनाइयो । अर्को जुत्ता कारखाना खोलेर चलाउने प्रयोजनका लागि विनोद चौधरीलाई १० रोपनी जग्गा बिक्री गरियो । चौधरीले उक्त जग्गामा केही समय जुत्ता कारखाना पनि चलाए । तर केही समयपछि भने जग्गाको लालपुर्जासमेत आफ्नो निजी स्वामित्वमा ल्याए । अरू नै प्रयोजनका लागि प्रयोग गर्न थाले । चाँदबाग स्कुल तथा आवास भवनहरू त्यसैका उदाहरण हुन् । त्यसैले ललिता निवास जग्गा प्रकरणभन्दा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणलाई झन् बढी पेचिलो भ्रष्टाचारका रूपमा लिने गरिएको छ ।

राजदरबार हत्याकाण्ड छानविन गर्न पूर्वराजा ज्ञानेन्द्र शाहले चुनौती दिनु, त्यसको जवाफमा प्रधानमन्त्री प्रचण्डले ‘छानविन गर्छु भन्नु’ र सिआइबीले राजपरिवार जोडिएको ३७ वर्ष पुरानो भ्रष्टाचार मुद्दाका अभियुक्तलाई पक्राउ गर्नु संयोग मात्रै पनि नहुन सक्छ । तर, यो प्रकरणको सत्यतथ्य बाहिर आउनु कुनै पनि हालतमा अनिवार्य छ । किनकी ‘मकै चोर्ने कालु, चोट पाउने भालु’ भनेजस्तै भएको छ बाँसबारी छाला जुत्ता कारखाना प्रकरण । राजावादीहरूले हरेक कार्यक्रममा राजाले खोलेको बाँसबारी छाला जुत्ता कारखाना दलका नेताहरूले बेचेर खाएको आरोप लगाउने गरेका छन् । तर यथार्थता भने बिलकुल भिन्न हो । बाँसबारी छाला जुत्ता उद्योग कारखाना २०२२ सालमा स्थापना भएको थियो । चीन सरकारको सहयोगमा स्थापना भएको सो जुत्ता कारखाना निजीकरण गर्ने सरकारको नीतिअनुरूप २०५० सालमा निजीकरण गरिएको थियो । तर २०४३ सालमा विनोद चौधरीलाई दिइएको १० रोपनीबाहेक बाँसबारी छालाजुत्ता कारखानाको एक आना पनि जग्गा अपचलन भएको छैन । २०४९ सालमा पुराना मेसिनहरू बिक्री गरिएको हो । चौधरीको नाममा गएको बाहेक बाँकी जग्गामा अहिले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, नेपाल मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल लगायतका सरकारी कार्यालय तथा भवन छन् । २०४३ भदौ १० गते बाँसबारी छाला तथा जुत्ता कारखाना सञ्चालक समितिको ४०१औँ बैठकले १० रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा नामसारी गरिदिने निर्णय गरेको थियो । त्यसबापत लिमिटेडमा २५ सय कित्ता सेयर स्वामित्व हुने निर्णय गरिएको थियो । त्यस बमोजिम कुल १० रोपनीमध्ये पहिले ६ र पछि चार रोपनी जमिन चौधरीले हात पारेको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया