बारा । दोस्रो चरणको मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको काम तोकिएको समयभित्रै पूरा नहुने देखिएको छ । डिसेम्बरमा सम्पन्न हुने भनिएको दोस्रो चरणको पाइपलाइनको काम मार्चमासमेत सम्पन्न नहुने देखिएको छ । डिसेम्बरभित्र पूर्वाधार निर्माणको काम सम्पन्न गरेर जनवरी २४ भित्र पाइपलाइनबाट पेट्रोल आयात गर्ने भनिएको सो परियोजनाको म्याद मार्चसम्म थपिए पनि अहिलेसम्म ५० देखि ५५ प्रतिशत मात्रै काम भएपछि पाइपलाइनबाट समयमै पेट्रोल आयात हुनेमा आशंका उब्जिएको हो । मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम तोकिएको समयमै सम्पन्न हुने सम्भावना कम भएको निगमले जनाएको छ ।
जनवरीमा सञ्चालनमा आउनुपर्ने पाइपलाइनको काम अहिले ५० देखि ५५ प्रतिशतसम्म मात्र सम्पन्न भएकोले गर्दा मार्चसम्म पनि दोस्रो पाइपलाइनको काम सम्पन्न नहुने नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अम्लेखगञ्जका डिपो प्रमुख बिनितमनि उपाध्यायले बताए ।
भारतीय आयल निगमसँगको सम्झौता अनुसार पाइपलाइनको दोस्रो चरणको सम्पूर्ण काम लिखिता इन्फ्रास्ट्रक्चरले गरिरहेको छ । ‘डिजल, पेट्रोल र पानीको ट्यांकी निर्माणको काम धमाधम भइरहेको भए पनि ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण मार्चसम्म पनि दोस्रो चरणको मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको काम सम्पन्न नहुने देखिएको छ ।
डिपोमा पेट्रोल भण्डारणका लागि ४ हजार १ सय किलोलिटर क्षमताका दुई वटा भण्डारण ट्यांक तथा डिपो सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताका दुई वटा पानीट्यांकी तथा २ सय ५० किलोलिटर क्षमताका दुई वटा ‘ट्रान्समिक्स ट्यांक’ निर्माण भइरहेको छ । एउटै पाइपलाइनबाट क्रमशः डिजल, मट्टितेल र पेट्रोल एकपछि अर्को ल्याउँदा मिसिएको पेट्रोलियम पदार्थको छुट्टै भण्डारण गर्न ट्रान्समिक्स ट्यांक निर्माण गरिएको निगमका इञ्जिनियर प्रशान्त भट्टराईले जानकारी दिए ।
निगमले मोतीहारी–अमलेखगन्ज पाइपलाइनमार्फत २०७६ भदौदेखि डिजेल आयात गरिरहेको छ । मोतीहारी–अमलेखगन्ज पाइपलाइन परियोजना डिजेल र पेट्रोल दुवै ल्याउने भए पनि पेट्रोल भण्डार गर्न ट्यांकी नहुँदा डिजेल मात्रै आयात भइरहको थियो । दोस्रो चरणको परियोजनाका लागि निगम र आइओसीले संयुक्तरूपमा लगानी गर्नेगरी सम्झौता भएको थियो । जसअन्तर्गत दुई वटा पेट्रोल ट्यांकमध्ये निगम र आइओसीले एक÷एक वटा ट्यांकको लागत बेहोर्नेछन् । मिश्रित इन्धन राख्नका लागि दुई वटा ट्रान्समिक्स ट्यांक र डिपोभित्रको सुरक्षाका लागि ‘फायरवाटर’ ट्यांक भारतीय पक्षबाट निर्माण हुनेछ । आइओसीले करिब ७५ करोड भारतीय रुपैयाँ खर्च गर्नेछ ।
निगमले भने एउटा पेट्रोल ट्यांक, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टमलगायत पूर्वधार निर्माण गर्नेछ । निगमको १ अर्ब ५४ करोड भारतीय रुपैयाँ बराबरको खर्च हुने अनुमान छ । सिभिल संरचनाअन्तर्गत विभिन्न उपकरण जडानका लागि भवन तथा पेट्रोलियम पदार्थको शुद्धता परीक्षणका लागि अत्याधुनिक प्रयोगशाला पनि निर्माण भइरहेको छ । परियोजनाको हालसम्मको प्रगति करिब ५५ प्रतिशत रहेको छ । २०७६ भदौ २४ गते परियोजनाको औपचारिकरूपमा नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गरेका थिए ।
पाइपलाइन नहुँदा डिजल लिनका लागि भारतको बरौनीसम्म ट्यांकर पठाउनुपथ्र्यो । ट्यांकरबाट ढुवानी गर्दा सीमा क्षेत्रमा हुने अवरोध, सडक जाम, बन्द, हड्ताल लगायतले समस्या पार्दै आएको थियो । ‘अब ती समस्या सधैँका लागि समाधान भएका छन्, पाइपलाइन निर्माण सम्पन्न भएपछि सहजरूपमा आफ्नै देशमा निगमको डिपोमा पेट्रोलिमय पदार्थ आयात भइरहेको छ’, डिपो प्रमुख बिनितमनि उपाध्यायले भने । पाइपलाइनबाट आयात भएको डिजल अहिले लुम्बिनीको भैरहवा, बाग्मतीको थानकोट, गण्डकीको पोखरा, कोसीको विराटनगर र मधेस प्रदेशको जनकपुरमा आपूर्ति भइरहेको छ । देशभरको मागको करिब ७० प्रतिशत डिजल अमलेखगञ्ज डिपोले आपूर्ति गरिरहेको डिपो प्रमुख उपाध्यायले बताए ।
प्रतिक्रिया