पोखरा महानगरपालिका–१५ का अध्यक्ष पुष्पेन्द्र पाण्डेले ‘मेरो रुख म काट्छु’ भन्ने अभियान तत्काल सुरु गर्न वडावासीहरूलाई लिखित आग्रह गरेका छन् । वाध्यताबस एउटा रुख काट्नु परे त्यसको बदलामा पाँच वटा रुख रोप्नुपर्ने सरकारको नीति छ । सरकारको यही नीतिका कारण कतिपय विकास आयोजना निर्माण अघि बढ्न सकेका छैनन् । रुखको महत्वलाई सर्वोपरी राखेर सरकारले यस्तो नीति ल्याएको हो । तर तृणमूल तहको सरकार प्रमुख मानिने वडाध्यक्षले भने रुख काट्ने अभियान यथासक्य छिटो सुरु गर्न लिखत निर्देशन नै दिए । यो निर्देशन दिए वापत वडाध्यक्ष पाण्डेविरुद्ध संरक्षणवादीहरू खनिएका छन् । सामाजिक सन्जालमा वडाध्यक्ष पाण्डेको चर्को आलोचना भएको छ । तर वडाध्यक्ष पाण्डेले अकारण यस्तो आह्वान गरेका भने होइनन् । बाँदर आतंक नियन्त्रणका लागि स्थानीय जनताको मागअनुसार नै वडाध्यक्ष पाण्डेले यस्तो आग्रह गरेका हुन् । बाँदर आतंकका कारण गाउँबाट मान्छेहरूको उठिबास हुन थालेकोले वाध्यताबस यस्तो अभियान चलाउनुपरेको वडाध्यक्ष पाण्डेको भनाइ छ । बाँदर आतंकको समस्या पोखराको पुरन्चौर गाउँको मात्रै होइन, पहाडी क्षेत्रका अधिकांश गाउँको को हो । पहाडी क्षेत्रका गाउँहरू रित्तिनुको मुख्य कारण बाँदर आतंक हो । केही वर्षअघि पर्वत र बागलुङ जिल्लाका केही गाउँपालिकाहरूले घोषित रूपमै रुख काट्ने अभियान चलाएका थिए । रुख काट्न अटेरी गर्नेलाई जरिवाना गर्नेसम्मको चेतावनी दिएका थिए ।
अत्यावश्यकीय अवस्थामा बाहेक रुख काट्नु कुनै पनि हालतमा राम्रो होइन । तर बाँदर तथा अन्य जंगली जनावरबाट बालिनाली जोगाउनका लागि रुख काट्ने प्रचलन पुरानै होे । पछिल्ला दशकहरूमा भने रुख संरक्षण गर्ने अभियान सुरु भयो । पहाडी क्षेत्रमा बस्ती पातलो हँुदै गएपछि जंगल बढ्यो । जग्गा बाँझो रहेपछि रुखहरू उम्रिए, बढ्न थाले । जसका कारण गाउँमै बसेर खेतीकिसानी गर्नेहरूलाई बाँदर तथा अन्य जंगली जनावरले सताउन थाल्यो । गाउँमा बस्नै नसक्ने अवस्था उत्पन्न भयो । तर, घर वरिपरिका रुख काटेर बाँदर आतंकको समस्या समाधान हुन्छ कि, हुन्न ? बाँदर आतंक नियन्त्रण गर्ने अरू विकल्पहरू पनि छन् कि ? भन्ने विषयमा अध्ययन हुनु जरुरी छ । बाँदरको बासस्थान भनेकै रुख हो । रुख नभएपछि बाँदर लखेट्न सजिलो हुने कुरा पक्कै हो । बाँदर आतंक नियन्त्रण गर्ने वैकल्पिक उपाय नअपनाउने हो भने कि त पहाडका गाउँका बाँकी घरहरू पनि रित्तिन्छन्, होइन भने गाउँलेहरूले आफैँ रुख काट्छन्, वडाध्यक्षले आग्रह गरिरहनु आवश्यक पर्दैन । सहरी क्षेत्रमा बसेका संरक्षणवादीहरू प्रकृतिको संरक्षण गर्ने भन्दै कुर्लनुको कुनै तुक छैन । पीडा भनेको भोग्नेलाई मात्रै थाहा हुने कुरा हो ।
एकातिर पहाडका गाउँहरू रित्तिएका छन्, मानिसहरू पलायन भएका छन्, गाउँमा उपलव्ध गराइएको स्कुल, स्वास्थ्यचौकी, बिजुली, खानेपानी लगायतको पूर्वाधार खेर गइरहेको छ, अर्कातिर सहरी क्षेत्र तथा बजार क्षेत्रमा बढ्दो बसाइँसराइका कारण पर्यवरणीय क्षति पुगेको छ । साविकका पूर्वाधारहरूले जनसंख्याको चाप धान्न सकेको छैन । जहाँजहाँ बाँदरको संख्या ठूलो छ, त्यहाँको जनसंख्या १० वर्ष अघिको तुलनामा ह्वात्तै घटेको छ । नेपालको पहाडी क्षेत्रका ३४ वटा जिल्लाको जनसंख्या १० वर्ष अघिको भन्दा घटेको तथ्यांक आएको छ । विगतमा विकासका पूर्वाधार शून्य हुँदा पनि पहाडी क्षेत्रको जनसंख्या घटेको थिएन, बरु बढेको थियो । तर अहिले यातायात, शिक्षा, बिजुली, स्वास्थ्य, खानेपानी, सञ्चारलगायत विकासका पूर्वाधार पुग्दासमेत पहाडी क्षेत्रका गाउँहरू धमाधम रित्तिन थालेका छन् । यसको कारणबारे विभिन्न थरीले विभिन्न तर्क प्रस्तुत गरे पनि मुख्य कारण भनेको बाँदर आतंक नै हो । बाँदर आतंकका कारण पहाडी क्षेत्रका गाउँहरू मान्छे बस्नै नसक्ने अवस्थामा पुगेका छन् । बाँदरका कारण किसानहरूको खेती समाप्त त भएकै छ, घरभित्र रहेको खानेकुरा समेत जोगिन सक्ने अवस्था छैन । त्यसैले पहिले मान्छेको संरक्षण गरौँ, त्यसपछि बाँदरको संक्षण गरौँला ।
प्रतिक्रिया