जग्गा अधिग्रहण प्रक्रिया रोकियो

विमानस्थल विस्तार गर्न मुआब्जा मात्रै ४८ करोड लाग्ने अनुमान गरिए पनि ४ करोड ४२ लाख मात्रै बजेट विनियोजन

जुम्ला । बजेट अभावमा जुम्ला विमानस्थलको जग्गा अधिग्रहण प्रक्रिया रोकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जग्गा अधिग्रहण प्रक्रियाअघि बढाउन परिपत्र गरेपछि जिल्लाको नापी र मालपोत कार्यालयमा जग्गा कित्ताकाटको काम थाले पनि बजेट अभावले उक्त कार्य रोकिएको हो ।

विमानस्थल विस्तारका लागि १८३.८० रोपनी जग्गा अधिग्रहण गर्नु पर्ने छ । जसका लागि मुआब्जा मात्रै ४८ करोड लाग्ने अनुमान गरिएको छ । तर विस्तारका लागि ४ करोड ४२ लाख बजेट पठाएको सरकारले मुआब्जाका लागि हालसम्म बजेट नपठाउँदा जग्गा अधिग्रहण गर्ने कार्य रोकिएको जुम्ला विमानस्थल प्रमुख सन्तोष अधिकारीले बताए ।

उनले भने,‘बजेटको टुंगो नलागेकोले जग्गा अधिग्रहणको काम रोकिएको छ । कहिले बजेट सुनिश्चित हुने, कहिले काम अघि बढ्ने टुंगो छैन । आएकै बजेट फिर्ता होला भन्ने चिन्ता छ । बजेट विनियोजन हुन मुस्किल छ । एयरपोर्ट विस्तारको विषय फलामको चिउरा चपाउनु जस्तै कठिन बनेको छ ।’
जग्गा अधिग्रहण बिना विमानस्थल विस्तार असम्भव जस्तै भएपछि विनियोजित ४ करोड ४२ लाख बजेट नागरिक उड्डयन प्राधिकरण जुम्लालाई निल्नु न ओकल्नु जस्तो भएको छ ।

अतिनै आवश्यक भएको टर्मिनल भवन निर्माण पनि बजेट अभावले अघि बढ्न सकेको छैन । ढिलो चाडो एयरपोर्ट विस्तार भए पनि साढे दुई दशक पुरानो भवनबाटै काम चलाउनु पर्ने अवस्था विद्यमान छ । जग्गा अधिग्रहण तथा जग्गा प्राप्ति सम्बन्धी प्रारम्भिक चरणको कामअघि बढेको सार्वजनिक सूचना प्रकाशित भएको थियो । तर बजेट नभएपछि अहिले काम रोकिएको हो ।

जुम्ला विमानस्थल विस्तारका लागि कुल १८३.८० रोपनी जग्गा अधिग्रहण गर्नु पर्ने छ । हाल जुम्ला विमानस्थल धावनमार्गको लम्बाई ६७० र चौडाइ २० मिटर रहेको छ । विमानस्थल विस्तारका लागि धावन मार्गको ३५० मिटर पूर्वतिर र ९२ मिटर पश्चिमतिर जग्गा अधिग्रहण गर्नु पर्ने देखिएको छ ।

हरेक वर्ष विमानस्थल विस्तार भनेर धेर थोर बजेट आए पनि टर्मिनल भवन निर्माण भनेर छुट्टै बजेट आउने गरेको छैन । जुम्ला विमानस्थलको जग्गा अधिग्रहण गर्नका लागि प्राधिकरणलाई स्वीकृति प्रदान गर्नेबारे गत जेठ २ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । त्यसयता बजेट व्यवस्थापनमा कसैले पनि चासो राखेका छैनन् । विनियोजित चार करोड ४२ लाख बजेटबाट धावनमार्ग विस्तार, जहाज पार्किङ गर्ने ठाउँ निर्माण र जहाजसम्म जाने बाटोलगायतका संरचना निर्माण हुने छन् ।

जग्गा अधिग्रहण गर्दा सरकारी रेटमै मुआब्जा दिन पनि करिब ४८ करोड बजेट आवश्यक पर्छ । तर, यति ठुलो बजेट सरकारले सहजै दिने स्थिति देखिदैन् । जुम्लाकी सांसद बिनिता कठायतले टर्मिनल भवन निर्माणका लागि आवश्यक बजेट जुटाउन पहल गर्ने बताईन् । जुम्ला विमानस्थल प्रमुखसँग छलफल गर्दै अत्यावश्यक रहेको टर्मिनल भवन पुनर्निर्माणका लागि पहल गर्ने उनले बताइन् ।
उनले भनिन,‘विमानस्थल पनि पुरै विस्तार हुनुपर्छ,तर वर्तमान आवश्यकता जे हो त्यसलाई बढी प्राथमिकता दिनु पर्छ । मुआब्जाको बजेट र टर्मिनल भवन निर्माणका लागि प्राधिकरण हुँदै अर्थमन्त्रालयमा आवश्यक समन्वय गर्छु । सबैको साथ हुन जरुरी छ ।’

जीर्ण बन्दै टर्मिनल भवन

जुम्ला विमानस्थलको टर्मिनल भवन जीर्ण हुँदै गएको छ । साढे दुई दशक पुरानो टर्मिनल भवनको पुनर्निर्माण नहुँदा जीर्ण बन्दै गएको हो । जुम्ला विमानस्थल कर्णाली प्रदेशको सबैभन्दा बढी व्यस्त र यात्रु चाप हुने विमानस्थल हो ।

विमानस्थलमा मैत्रीपूर्ण सुविधायुक्त शौचालय, खानेपानी धारा, इन्टरनेट, गार्डेन, प्रतिक्षालयलगायतका सबै सुविधा हुनु पर्छ । जुम्लाभन्दा विकट हिमाली जिल्लाका विमानस्थलमा समेत यी पूर्वाधारको उचित प्रबन्ध छ ।

तर जुम्लामा यात्रुको बढी चाप हुने भए पनि टर्मिनल भवन नागरिक मैत्री नभएको जुम्ला विमानस्थलका प्रमुख अधिकारीले बताए । उनले भने,‘टर्मिनल भवन प्रयोग गरे बापत हरेक यात्रुले तीन सय रुपैयाँ कर तिर्छन् । तर यात्रुले नागरिक मैत्री सेवा पाएका छैनन् । जीर्ण टर्मिनल भवनले यात्रुलाइ सास्ती छ । अहिलेको आवश्यकता टर्मिनल भवन बनाउनु हो । तर राज्यको ध्यान त्यसतर्फ छैन् ।’

जुम्ला विमानस्थलको टर्मिनल भवन २०५५ सालमा निर्माण भएको हो । साढे दुई दशक बितिसक्दा पनि पुरानो जीर्ण टर्मिनल भवनबाट सेवा दिनु पर्ने अवस्था कायमै छ । जुम्ला विमानस्थलको आवश्यकता टर्मिनल भवन बनाउनु हो । तर यहाँका माननीयदेखि राजनीतिक दल विमानस्थल विस्तारकै पछि लागेका छन् । जग्गा अधिग्रहण र मुआब्जा वितरण बिना विमानस्थल विस्तार सम्भव छैन । जग्गा अधिग्रहण हुन नसेकै कारण विगतमा आउने बजेट पनि खर्च नभएरै फिर्ता भएको थियो ।

चालु आर्थिक वर्षमा पनि धावन मार्ग विस्तारका लागि ४ करोड ४२ लाख बजेट विनियोजन भएको थियो । विमानस्थल प्रमुख अधिकारीले भने,‘ विनियोजित बजेट जग्गा अधिग्रहण बिना खर्च हुने स्थिति छैन । विनियोजित बजेटलाई टर्मिनल भवन पुनर्निर्माणको लागि खर्च गर्न प्राधिकरणले अनुमति दिदैन् ।

टर्मिनल भवनभन्दा पनि सबैको जोडतोड विमानस्थल विस्तारमा रहेको छ ।’
अधिकारीका अनुसार टर्मिनल भवन प्रयोग गरे बापत प्रत्येक यात्रुका तर्फबाट ३ सय रुपैयाँ कर लिने गरिएको छ । तर सरकारले टर्मिनल भवन निर्माणका लागि बजेट नदिँदा नागरिकले पाउनु पर्ने सेवा समेत पाउन सकेका छैनन् । एक हजार ५० मिटर मिटर लामो धावन मार्ग बनाए पनि सो दुरीमा उडान तथा अवतरण गर्ने जहाज छैन । अझै १५÷२० वर्षसम्म अहिलेकै १६ सिटे जहाजले उडान भर्नु पर्नेे अवस्था छ । जुम्लामा समिट र तारा एयरले नियमित उडान गरिरहेका छन् । नेपाल एयरलाईन्सले हप्तामा दुई उडान गरिरहेको छ ।

प्रतिक्रिया