नेपालसँग किन खुसी भएन चीन ?

नेपाल र चीनबीचको सम्बन्ध चिसिँदै गएको अनुमान केही वर्षदेखि गरिएको थियो । त्यो अनुमानलाई नेपालका लागि चिनियाँ राजदूत छन सोङले थप पुष्टि गरेका छन् । नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानको उपस्थितिमा आइतबार आयोजित एक सार्वजनिक कार्यक्रममा राजदूत छनले प्रश्न गरे, ‘चीनले अन्य मुलुकमा पनि भौतिक पूर्वाधार परियोजना निर्माण गरेको छ । अरू देशमा चिनियाँ लगानीका परियोजना समयै पूरा हुन्छन्, तर नेपालमा मात्र किन हुन्न ?’ राजदूत छनले समयै परियोजनाहरू पूरा गर्न आवश्यक स्रोत र साधनबारे उजागर गर्न जरुरी भएको उल्लेख गर्दै नेपालमा चिनियाँ लगानीका आयोजना निर्माणमा ढिलो हुँदा आफूले भन्दा नेपालका व्यक्तिहरूले सोध्नुपर्ने बताए । उपमन्त्री सुन हाइयानको नेपाल भ्रमणको अवसर पारेर आइतबार काठमाडौंमा चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका राजनीतिक दलहरूबीच संयुक्त परामर्श सम्मेलन आयोजना गरिएको थियो । कार्यक्रममा नेपालका कांग्रेस, एमाले, माओवादी, नेकपा एस, जनता समाजवादी पार्टी, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका नेता उपस्थित थिए । उक्त सम्मेलनमा उपप्रधानमन्त्री हाइयानले नयाँ परिस्थितिअनुरूप द्विपक्षीय सम्बन्ध अघि बढाउन नेपाललाई आग्रह गरिन् । पछिल्ला केही वर्षदेखि चीनले नेपालसँगका हरेक वार्तामा नयाँ परिस्थिति अनुरूपमा सम्बन्ध अघि बढाउने भनिरहेको छ । तर पुरानो परिस्थिति कस्तो थियो ? नयाँ परिस्थिति भनेको के हो ? र नयाँ परिस्थितिमा अघि बढाउनुपर्ने संबन्धहरू कस्ता कस्ता हुन् ? भन्ने कुरा नेपाली जनताले स्पष्ट बुझ्ने गरी चीनले राख्न नसकेको महसुस गरिएको छ ।
चीन भनेको नेपालको असल छिमेकी मात्रै होइन, विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको वैभवशाली र प्रभावशाली देश हो । यस्तो देशसँग सम्बन्ध सुमधुर बनाउन नेपालले नचाहने भन्ने प्रश्न नै हुँदैन । त्यसमाथि पनि चीनसँगको सम्बन्ध बिस्तारका मामिलामा नेपालभित्र कुनै मतभेद छैन । लोकतान्त्रिक कित्ताको नेपाली कांग्रेसदेखि बामपन्थी कित्ताका कम्युनिस्ट पार्टीहरूबीच चीनसँग असल सम्बन्ध राख्नुपर्छ भन्ने कुरामा कहीँ कतै मतभिन्नता देखिन्न । दुवै देशबीच राजनीतिक स्तरमा निकै बाक्लो भ्रमण हुने गरेको छ । चिनियाँ प्रतिनिधि मण्डल नेपाल नआएको र नेपाली प्रतिनिधि मण्डल चीन नगएको कुनै महिना छैन । चीन र नेपालबीच भइरहेको बाक्लो राजनीतिक तहको भ्रमणले किन उपलव्धी दिन सकिरहेको छैन ? भन्ने प्रश्न निकै पेचिलो बनेको छ ।

‘अरू देशमा चिनियाँ लगानी तथा सहभागिताका परयोजनाहरू समयमै निर्माण सम्पन्न भएका छन्, तर नेपालमा किन समयमै निर्माण सम्पन्न हुन सकिरहेका छैनन् ?’ भन्ने राजदूत छनको प्रश्न यथार्थतामा आधारित छ । हुन पनि चिनियाँ कम्पनीले ठेक्का लिएका नारायणगढ–बुटवल सडकखण्ड बिस्तार, तराई÷मधेस द्रुतमार्गमा सुरुङ निर्माण, कञ्चनपुर–कमला सडक निर्माण, स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड, चक्रपथ विस्तार, टोखा–छहरे सुरुङमार्ग, पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडकखण्ड स्तरोन्नति, रसुवागढी–केरुङ प्रसारण लाइन लगायतको भौतिक प्रगति ज्यादै नै निराशाजनक छ । लगभग पाँच खर्ब रुपैयाँ लागत स्टमेटका परियोजनाहरू चिनियाँ लगानी तथा चिनियाँ ठेकेदारहरूको सहभागितामा निर्माणाधीन छन् । यी परियोजनाहरू निर्धारित समयमै निर्माण सम्पन्न हुने हो भने नेपालको समृद्धि टाढा छैन भन्ने देखिन्छ, तर वर्षौंदेखि अल्झेका छन् ।

नेपालको राज्य संयन्त्रले नै यो उल्झन निकालेको भन्दै चीनले मुख खोलिसकेको छ । हुन पनि राजधानी काठमाडौंको चक्रपथको कलंकीदेखि चाबहिल खण्ड चीनले अनुदानमै ६ लेन फराकिलो बनाउने संझौता भएको वर्षाैं बितिसकेको छ । संझौताअनुसार अहिलेसम्म निर्माण भइसक्नुपर्ने थियो, तर थालनी नै भएको छैन । नेपालका तर्फबाट ‘साइड क्लियर’ नभएका कारण चीनले निर्माणको काम थालनी गर्न नपाएको हो । ‘चिनियाँ कम्पनीले लिएका ठेक्का परियोजनामा अनेक झमेला निकालिदिने र समयमै काम सम्पन्न भएन भन्दै मिडियाबाजी गर्ने’ गिरोह नेपालको राज्य संयन्त्रमा हावी भएको महसुस चीनले गरेको हो कि, जस्तो देखिएको छ । किनकी जुनबेला चीन आफँै नेपालजस्तै विकासोन्मुख देश थियो, त्यो बेला चीनले नेपालको विकासका लागि धेरै नै ठूला परियोजनाहरू द्रुतगतिमा निर्माण सम्पन्न गरेको थियो । अहिले चीन आफैँ धेरै धनी र अतिविकसित देश बनिसकेको छ, तर नेपालमा चिनियाँ सहयोग खुम्चिरहेको छ । राजदूत छनको अभिव्यक्तिलाई विश्लेषण गर्ने हो भने नेपालले सहयोग लिनै नचाहेको महसुस चीनले गरेको पो हो कि, जस्तो देखिन्छ ।

प्रतिक्रिया