बारा । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१३, १४ र १५ वडाका किसान मकैबालीमा लागेको रोगका कारण हैरान भएका बेला गाउँमै कृषि प्राविधिक पुगेपछि उनीहरूलाई राहत भएको छ ।
गाउँमै बाली उपचार शिविर सञ्चालन गरेर कृषि प्राविधिकले दिएको सुझावअनुसार किसान आफ्नो बारीका मकै जोगाउन लागेका छन् । ‘मकैमा ब्लाइट रोग लागेर हैरान भएका थियौँ । गाउँमै बाली उपचार शिविर आएपछि हामीलाई धेरै फाइदा भयो ।’ स्थानीय किसाम रेखा रिमालले भनिन्, ‘जैविक विषादीको प्रयोग गरेर रोग नियन्त्रणका उपायका बारेमा जानकारी पायौँ ।’
खेतमा लगाएको मकैमा विभिन्न रोगकीरा लागेकै अवस्थामा गाउँमै बाली उपचार शिविर सञ्चालनमा आएपछि सहज भएको जीतपुरसिमरा उपमहानगरपालिका–१५ का किसान कमदास तामाङले बताए । उनले गाउँमै कृषि प्राविधिक आएर बालीमा लागेको रोगका बारेमा सोधपुछ गरी उपचार पद्दतिका बारेमा जानकारी दिँदा धेरै राहत मिलेको बताए ।
जीतपुरसिमरा उपमहानगरपालिकाको रजघट्टा, पोताहा, डुमरवाना बाली उपचार शिविरमार्फत किसानले सेवा लिएका छन् । शिविरमा करिब पाँच सय किसानलाई मकै बालीमा लागेको रोगकीराको निदानका विषयमा जानकारी गराइएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा कार्यपालिका बैठकबाट नै जीतपुरसिमराका तीन वटा वडालाई मकै प्याकेट जोन घोषणा गरेर मकै बाली उपचार शिविर आयोजना गर्दै आइरहेको छ ।
जीतपुरसिमरा उपमहानगरको कृषि शाखाले आयोजना गरेको मकैबाली उपचार शिविरमा किसानले ल्याएको मकैमा रोग पहिचान गरेर जैविक विषादी र बाली वैज्ञानिक बोलाएर रोगको पहिचान गरी औषधि बताएको कृषि शाखा प्रमुख अनिश प्याकुरेलले बताए ।
किसानले ल्याएको मकैबालीमा पोटासियम, म्याग्नेसियमको कमी देखिएको थियो भने रोगतर्फ सबैभन्दा बढी ब्लाइट रोग र कीरातर्फ गवारो र फौजी किराले पातमा आक्रमण गर्ने गरेका कारण किसानको मकैमा विभिन्न रोग देखापरेको कृषि शाखा प्रमुख प्याकुरेलले बताए ।
शिविरमा जैविक विषादीको प्रकोप, बत्ती पासोलगायतका प्रविधिका बारेमा जानकारी दिएको थियो । उपमहानगरले आगामी वर्षदेखि जनताको मागअनुसार तरकारी बाली शिविरसमेत सञ्चालन गर्ने जनाएको छ ।
प्रतिक्रिया