शिक्षामा प्रोत्साहन गर्न १ सय ४ छात्रालाई साइकल वितरण

बारा । शिक्षामा प्रोत्साहन गर्न कलैया उपमहानगरपालिका–१६ ले आफ्नो वडाका १ सय ४ जना छात्रालाई साइकल वितरण गरेको छ ।

विद्यालय तथा कलेज आवतजावत गर्न छात्राहरूलाई सहज होस् भन्दै प्रतिछात्रा एक थान साइकल वडा कार्यालयले आफ्नै बजेटबाट उपलब्ध गराएको हो ।
आवतजावतमा कठिनाइ भएकै कारण धेरै छात्राहरूले अधुरैमा पढाइ छोड्ने प्रवृत्ति बढ्दै गएपछि उनीहरूलाई पढाइप्रति आकर्षित गर्न प्रोत्साहन स्वरूप साइकल वितरण गरिएको वडाध्यक्ष शेषनाथप्रसाद साहले जानकारी दिए ।

‘यस उपरान्त साइकल पाउने लोभका कारण अभिभावकले छोरीलाई विद्यालय तथा कलेज पठाउँछन्’, उनले भने, ‘आवतजावतमा समस्या भएकै कारण बीचमा पढाइ छाड्ने प्रवृत्ति हट्ने विश्वास छ ।’ पढाइलाई निरन्तरता दिँदै विद्यालय शिक्षा पूरा गरेर समाज परिवर्तनको जिम्मेवारीमा छात्राहरूलाई अब्बल भएर अगाडि बढ्न साइकलले ठूलो योगदान पुग्ने विश्वास लिइएको वडाध्यक्ष साहले बताए ।

कलैया उपमहानगरपालिका–१६ को मझौलिया, दोहरी, विद्यानगर, सोनरनिया गाउँका किशोरीहरूलाई शनिबार वडा कार्यालयबाट र उत्तरझिटकैया गाउँका छात्राहरूलाई आइतबार गाउँमै पुगेर साइकल वितरण गरिएको उनले जानकारी दिए ।

पुँजीगत योजनाको बजेटबाट खरिद गरिएको साइकल वडाभरीकै कक्षा ९ मा पढ्ने ७० जना र कक्षा ११ मा पढ्ने ३४ जना गरी १ सय ४ जना छात्रालाई वितरण गरिएको वडासचिव हरिदेव साहले जानकारी दिए ।

साइकल वितरण समारोहका प्रमुखअतिथि एवं कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, नेपाली कांग्रेसका नेताहरू मुकेश कुशवाहा, धर्मजित महतो, एमालेका नेताहरू पुन्देव साह, वीरेन्द्र कुशवाहा, जनता समाजवादी पार्टीका मधेस प्रदेश उपाध्यक्ष सुशील यादव, उम्रावतीदेवी यादव, छविलाल प्रसाद यादव, श्यामबाबु प्रसाद यादव लगायतले छात्राहरूलाई साइकल हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया