गत शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत छायालाल मोक्तानले प्रहरीद्वारा निर्घात कुटाई खाएको समाचार भिडियोसहित बाहिर आएको छ । विमानस्थलमा राखिएको सिसिटिभी क्यामरामा कैद भएको भिडियोको दृश्यअनुसार प्रहरीले अध्यागमन अधिकृत मोक्तानको शरीर खानतलासी गर्न खोजेको देखिन्छ । अधिकृत मोक्तानले शरीर खानतलासी गर्न सहजै नदिएपछि प्रहरीले जबरजस्ती गरेको देखिन्छ । जबरजस्ती गर्न खोजेपछि मोक्तानले प्रतिवाद गर्दै प्रहरीलाई लात्ती हानेको भिडियोमा देखिन्छ । त्यसपछि भने अन्य प्रहरीसमेत आएर अधिकृत मोक्तानलाई निर्घात कुटपिट गरी नियन्त्रणमा लिएको पनि भिडियोमा देखिन्छ । यो घटनाले प्रहरी संगठन तथा अध्यागमन विभागबीच निकै ठूलो तनाव सिर्जना भएको छ । भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । प्रहरी संगठन र अध्यागमन विभाग अत्यन्तै संवेदनशील जिम्मेवारी पाएका राज्यका संयन्त्र हुन् । त्यसमाथि पनि यी दुवै संयन्त्र गृह मन्त्रालय मातहतका हुन् । यी दुवै संयन्त्रमा रहनेहरूले एकअर्काका परिपूरकका रूपमा इमानदार भएर काम गरिदिए भने मात्रै त्रिभुवन विमानस्थलमार्फत हुने तस्करीका घटना रोक्न सकिन्छ । तर, यी संयन्त्रमा काम गर्नेहरू एकअर्कालाई दुश्मनजस्तो ठान्दा रहेछन्, त्यसैले त्रिभुवन विमानस्थलमार्फत हुने गरेको तस्करी फस्टाएको रहेछ भन्ने कुरा यो घटनाले पुष्टि गरेको छ । प्रहरी र अध्यागमनका कर्मचारीबीच यस्तो द्वन्द्व लामो समयदेखि चल्दै आएको दुवै पक्षले स्वीकार गरेका छन् ।
नेपाल प्रहरी भनेको कसैमाथि शारीरिक बल प्रयोग गर्न पाउने आधिकारिक संयन्त्र हो । तर शारीरिक बल प्रयोग गर्दा त्यसको औचित्य पुष्टि गर्न सक्नुपर्छ । औचित्य पुष्टि नगरे सजायको भागिदार हुनुपर्छ । तर निजामति कर्मचारी भनेको कसैमाथि शारीरिक बल प्रयोग गर्न नपाउने निकाय हो । कसैका विरुद्ध शारीरिक बल प्रयोग गर्ने निजामति कर्मचारी स्वतः सजायको भागिदार हुन्छ । त्यसमाथि अध्यागमन अधिकृत मोक्तानले बर्दी लगाएर ड्युटीमा बसेको प्रहरीलाई लात्ताले हानेको सिसिटिभी क्यामराको फुटेज बाहिरिएको छ । यो घटना छानविन गर्न गृह मन्त्रालयले समिति पनि गठन गरिसकेको छ । समितिले छिट्टै प्रतिवेदन ल्याउनेछ । भित्रभित्रै मिलिभगत भएन भने घटनाका दोषीहरू कारबाहीमा पर्नेछन् । तर यो घटनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गिरेको साख पुनस्र्थापित हुन भने वर्षौं लाग्नेछ । किनकी नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाको दृष्टिकोणले ज्यादै नै संवेदनशील रहेको सन्देश यो घटनाले विश्वव्यापी फैलाएको छ ।
प्रहरी र अध्यागमन विभागका कर्मचारीबीच ड्युटीकै अवस्थामा भएको यो घम्साघम्सी क्रिया र प्रतिक्रिया मात्रै हो । हरेक क्रियाको प्रतिक्रिया हुन्छ । क्रिया नभई प्रतिक्रिया पनि हुँदैन । अध्यागमनका कर्मचारीको शरीर खानतलासी गर्नु क्रिया हो । अध्यागमनका कर्मचारीले प्रतिवाद गर्दै लात्ताले हान्नु प्रतिक्रिया हो । साथै धेरै प्रहरी जम्मा भएर अध्यामन विभागका कर्मचारीहरूलाई दनादन कुट्न थाल्नु पनि प्रतिक्रिया हो । कुनै पनि क्रियाका लागि कारण चाहिन्छ । किनकी कारणविना क्रिया हुँदैन । त्यसैले गत शुक्रबारको घटनाको खास कारण के हो त ? भन्ने कुरा एकीन गरी यसको उपचार गर्नु जरुरी छ । यो घटनाको मुख्य कारण भनेकै भ्रष्टाचार हो । केही अपवादबाहेक निजामति कर्मचारीहरू ठूलै सोर्स फोर्स लगाएर र घुससमेत खुवाएर विमानस्थलको अध्यागमनमा पोस्टिङ हुने गर्छन् । विमानस्थलको अध्यागमनमा पोस्टिङ भएको छोटो अवधिमै उनीहरूले निकै धेरै सम्पत्ति आर्जन गर्ने गरेको देखिन्छ । नेपाल प्रहरीको हकमा पनि त्यही हो । कि ठूलो सोर्स फोर्स, नभए घुस खुवाएर नै अधिकांश प्रहरीहरूले विमानस्थलको सुरक्षामा खटिने जिम्मेवारी पाउने गरेको कुरा ‘ओपन सेक्रेट’ जस्तै छ । त्यसैले एकैचोटी दुई सय किलो सुन भित्रिँदा पनि न भन्सारका कर्मचारीले थाहा पाउँछन्, न अध्यागमनका कर्मचारीले थाहा पाउँछन्, न ड्युटीमा खटिएका प्रहरीले थाहा पाउँछन् ।
किनकी थाहा नपाउनुमा नै उनीहरूको आर्थिक हित छ । यो प्रकरणमा पनि कुरा स्पष्ट छ । ‘आफ्नो शरीर कसैले खानतलासी गर्न पाउनु हुन्न’ भन्ने कुरा अध्यागमनका कर्मचारीहरूले स्पष्ट रूपमै भनेका छन् । यसको अर्थ अत्यन्तै संवेदनशील छ । अध्यागमनका कतिपय कर्मचारीहरू यात्रुहरूले ल्याएको सुन आफ्नो खल्तीमा हालेर सरासर बाहिर निस्कने गरेको सूचनाका आधारमा प्रहरीले उनीहरूको शरीर खानतलासी गर्न थालेको हो । भन्सार तथा अध्यागमनका कर्मचारीलाई पनि विदेशबाट आउने यात्रुसरह चेकजाँचको प्रबन्ध नगरेसम्म सुन तस्करी नियन्त्रण संभव छैन । किनकी आधा ग्राम सुन भित्रिँदासमेत थाहा पाउने प्रविधि विमानस्थलमा राखिएको छ । तर, दुई सय किलो सुन भित्रिँदा पनि थाहा हुँदैन । किनकी तस्करसँग कर्मचारीहरूको मिलिभगत छ । यो कुराको थप पुष्टि अध्यागमन विभागका कर्मचारीहरूको गत शुक्रबारको गतिविधिले गरेको छ । विदेशबाट आएका यात्रुसँग भौतिक सम्पर्क गरेका कर्मचारीहरूको शरीर खानतलासी नगर्ने हो भने विमानस्थलमा भन्सार तथा चेकजाँच कार्यालय नराखे पनि हुन्छ ।
प्रतिक्रिया