एक वर्ष भित्रै नेपालको भाग्य फैसला

नेपालमा अहिलेसम्म पेट्रोलियम पदार्थको उत्पादन हुन सकेको छैन । राणाकालपछि नेपालका सबै फलाम खानी बन्द छन् । फलाम र पेट्रोलियम पदार्थ आयातका लागि मात्रै नेपालले वार्षिक पाँच खर्ब रुपैयाँभन्दा बढी रकम खर्च गर्दै आएको छ । यो रकम भनेको कुल आयातको २५ प्रतिशतभन्दा बढी हो । त्यसमा पनि फलाम र पेट्रोलियम भनेको अत्यावश्यकीय बस्तु हो । जसको प्रयोगविना देशको समृद्धि असंभव छ । यदि फलाम र पेट्रोलियम स्वदेशमै उत्पादन हुने हो भने नेपालको समृद्धिको ढोका खुल्न धेरै वर्ष पर्खनै पर्दैन । केही वर्षअघि गरिएको प्रारम्भिक अध्ययनले फलाम र पेट्रोलियम स्वदेशमै उत्पादन हुने संभावना बढाएको छ । नवलपरासी जिल्लाको धौवादी क्षेत्रबाट फलाम उत्पादन व्यावसायिक रूपले संभव हुन्छ या हुँदैन ? भन्ने प्रतिवेदन अबको एक महिनापछि आउँदै छ । त्यसैगरी दैलेखमा रहेको पेट्रोलियम उत्खनन् व्यावसायिक रूपमा संभव छ वा छैन ? भन्ने कुराको टुंगो पनि अबको केही महिना भित्रै लाग्नेछ । विगत पाँच वर्षदेखि गरिएको अध्ययन अनुसन्धानले धौवादी क्षेत्रमा १५ करोड मेट्रिकटन फलाम छ भन्ने कुरा पत्ता लागिसकेको छ । व्यावसायिक रूपमा उत्पादन संभव छ कि छैन ? भन्ने अध्ययन गर्न गत असोजदेखि विज्ञहरू खटाइएको छ । उनीहरूले आगामी फागुनभित्र प्रतिवेदन दिनेछन् । यसैगरी दैलेखको पेट्रोलियम खानीको अन्तिम ड्रिलिङ गर्नका लागि चीनबाट मेसिन झिकाई सकिएको छ । फागुनभित्र उक्त मेसिन खानी क्षेत्रमा पुग्नेछ । कति परिमाणमा पेट्रोलियम छ ? व्यावसायिक उत्पादन संभव छ कि छैन ? भन्ने कुरा उक्त ड्रिलिङपछि पत्ता लाग्नेछ । ड्रिलिङको काम तीन महिनाभित्र सम्पन्न हुने जनाइएको छ ।

आठ दशक अघिसम्म नेपालमा स्थानीय स्तरमै विभिन्न ठाउँमा फलाम उत्पादन हुन्थ्यो । तर यातायाताको सुविधा बढेसँगै भारतबाट आधुनिक प्रविधि प्रयोग गरी उत्खनन् गरिएको फलाम सस्तो मूल्यमा आउन थाल्यो । स्वदेशमा उत्पादिन फलामभन्दा भारतबाट आयतित फलामको मूल्य तीन गुणा सस्तो पर्न थालेपछि नेपालका फलाम खानीहरू बन्द भए । भारतको जस्तै उच्च प्रविधि प्रयोग गरियो भने नेपालकै फलाम खानीहरू पुनः सञ्चालन गर्न सकिने अनुमान विज्ञहरूले गरेका छन् । पेट्रोलियमको हकमा भने नेपालको पहिलो प्रयास हो । किनकी नेपालमा पेट्रोलियम इन्धनको प्रयोग हुन थालेको इतिहास लामो छैन । विदेशबाट आयातित बस्तुको तुलनामा स्वदेशी उत्पादन धेरै नै महँगो भयो भने त्यसले व्यावसायिक रूप लिन संभव हुँदैन । तर थोरै मात्रै मूल्यमा फरक पर्ने अवस्था आयो भने स्वदेशी उत्पादनले विदेशी आयात प्रतिस्थापन गर्ने नीति राज्यले अवलम्वन गर्ने गर्छ । तर फलामका लागि अब एक महिना र पेट्रोलियमका लागि अब करिव ६ महिना प्रतिक्षा गरे पुग्ने देखिएको छ । अध्ययनमा संलग्न विज्ञहरू परिणाम सकरात्मक आउने आशामा छन् ।

विश्वको इतिहास हेर्दा कुनै पनि देश समृद्ध हुनका लागि पहिलो सर्त खानीजन्य प्राकृतिक स्रोतको प्रचुरता हो भन्ने कुरा पुष्टि हुन्छ । जुन देशमा खानीजन्य प्राकृतिक स्रोत प्रचुर छन् ती देश धनी छन् । उदाहरणका लागि रुस, साउदी अरब, कतार, दुबई, भेनेजुयला लगायतका देशलाई लिन सकिन्छ । यसैगरी जुन देशहरूले अरूलाई कुनै कालखण्डमा उपनिवेश बनाएर त्यहाँको स्रोत जम्मा गरेका थिए, ती देश पनि धनी छन् । उदाहरणका लागि अमेरिका, जापान तथा युरोपका विभिन्न देशहरूलाई लिन सकिन्छ । तेस्रो कुरा जुन देश व्यापारिक दृष्टिले विश्वको पायक पर्ने स्थानमा छन्, ती देश पनि समृद्ध भएको देखिन्छ । उदाहरणका लागि सिंगापुर, संयुक्त अरब इमिरेड्स, हङकङ, थाइल्यान्ड लगायतलाई लिन सकिन्छ । यसैगरी जुन मुलुकले ठूला तथा धनी देशसँग आफ्नो सार्वभौमकता संझौता गरेका छन्, ती देश पनि धनी छन् । उदाहरणका लागि दक्षिण कोरिया, भूटान, अस्ट्रेलिया, क्यानडा लगायतका देशलाई लिन सकिन्छ । तर, नेपालसँग यी कुनै पनि कुरा छैनन् । त्यसमाथि नेपाल भूपरिवेष्टित छ । त्यसैले नेपालको समृद्धि असंभव ठानेरै युवाहरू विदेश पलायन भइरहेका छन् । यदि धौवादीको फलाम खानी र दैलेखको पेट्रोलखानीको अनुसन्धान परिणाम सकरात्मक आयो भने नेपालको भविष्य उज्ज्वल हुने कुरामा शंका गर्नु पर्दैन ।

प्रतिक्रिया