विद्युतबाट चल्ने सवारी साधन आयातमा व्यापक वृद्धि हुन थालेको छ । नेपालमा आयात हुने सवारी साधनमध्ये विद्युत्बाट चल्ने सवारी साधनको हिस्सा गत आर्थिक वर्षमा ३२ प्रतिशत पुगेको थियो । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा यो प्रतिशत ४० पुगेको छ । पेट्रोलियमबाट चल्ने सवारी साधनको तुलनामा विद्युत्बाट चल्ने सवारी साधन आयात बढ्नुका मुख्य दुई वटा कारण छन् । पहिलो कारण हो, ‘सरकारले पेट्रोलियमबाट चल्ने सवारी साधनमा तीन सय प्रतिशत कर लिँदै आएको छ भने विद्युत्बाट चल्ने सवारी साधनमा ६० प्रतिशतको हाराहारीमा मात्रै कर लिँदै आएको छ । त्यसैले उपभोक्ताका लागि पेट्रोलियमबाट चल्ने सवारी साधनको तुलनामा विद्युत्बाट चल्ने सवारी साधन खासै धेरै महँगो छैन ।’ दोस्रो कारण हो, ‘पेट्रोलियमबाट चल्ने सवारी साधनको तुलनामा विद्युत्बाट चल्ने सवारी साधनको सञ्चालन लागत धेरै नै कम छ । पेट्रोलियमबाट चल्ने कार सय किलोमिटर गुडाउन करिब एक हजार रुपैयाँको इन्धन खर्च हुन्छ भने विद्युत्बाट चल्ने कार एक सय किलोमिटर गुडाउन १ सय १० रुपैयाँको इन्धन भए पुग्छ । विदेशबाट आयातित पेट्रोलियम प्रयोग हुने सवारी साधन आयातलाई भन्दा स्वदेशमै उत्पादन हुने विद्युत्बाट चल्ने सवारी साधन आयातलाई प्रोत्साहन गर्ने नीति सरकारले विगत केही वर्षदेखि अवलम्वन गर्दै आएको छ । सवारी साधनमा हुने गरेको पेट्रोलियम पदार्थ खपतमा आउने कमीले वातावरण प्रदुषण नियन्त्रणमा धेरै नै ठूलो मद्दत पुर्याउँछ ।
पेट्रोलियमबाट चल्ने सवारी साधनको संख्या कटौती गर्दै जाने सरकारको यो नीति प्रभावकारी देखिए पनि राज्यको आम्दानीमा भने तत्कालका लागि संकट देखिएको छ । सवारी साधन आयात वापत राज्यलाई प्राप्त हुने राजस्वमा ज्यादै ठूलो कमी आएको छ । त्यसैगरी पेट्रोलियम पदार्थ बिक्री वापतको आम्दानीमा पनि कमी आएको छ । चालु आर्थिक वर्षमा मात्रै सवारी साधन आयात तथा पेट्रोलियम आयात वापतको राज्यको आम्दानी करिव एक खर्ब रुपैयाँ कमी हुने अनुमान गरिएको छ । उता सवारी साधन आयात बापत बिदेसिने रकम भने बढेको छ । किनकी पेट्रोलियमबाट चल्ने सवारी साधनको तुलनामा विद्युत्बाट चल्ने सवारी साधनको मूल्य दोब्बरभन्दा पनि धेरै पर्छ । त्यसैले पेट्रोलियमको आयात तथा प्रयोग कटौतीका लागि अझै पाँच–सात वर्ष पर्खने हो कि ? वैकल्पिक उपाय प्रयोग गर्ने हो कि ? भन्ने सुझाव पनि विज्ञहरूले दिन थालेका छन् । यो सुझावलाई पनि मनन गर्नु जरुरी छ ।
विद्युत्बाट चल्ने सवारी साधनको आयातलाई भन्दा विद्युत्बाट खाना पकाउने इन्डक्सन चुलोको प्रयोगलाई प्राथमिकता दिनुपर्ने सुझाव विज्ञहरूको छ । नेपालमा वार्षिक ५० अर्ब रुपैयाँ बराबरको खाना पकाउने एलपी ग्याँसको आयात हुने गरेको छ । एलपी ग्याँसको सट्टा बिजुली प्रयोग गर्ने हो भने वार्षिक ५० अर्ब रुपैयाँ बिदेसिनबाट जोगिन्छ । अर्कोतिर तत्कालका लागि जलविद्युत्को बजार खोज्न छिमेकी देशहरूसँग हारगुहार गर्नु पर्दैन । यसैगरी स्वदेशभित्रै चलिरहेका पुराना सवारी साधनमा पेट्रोलबाट चल्ने इन्जिनको सट्टा विद्युत्बाट चल्ने इन्जिन राख्ने उद्योगहरू खोल्न प्रोत्साहन गर्न सकिन्छ वा सकिन्न भन्ने विषयमा छलफल हुनु जरुरी छ । दीर्घकालीन लाभको शुभ संकेत देखिए पनि तत्कालै देखिएको आर्थिक संकट समाधान गर्न के कस्तो वैकल्पिक उपाय अवलम्वन गर्न सकिन्छ ? भन्नेतर्फ पनि सरकारले ध्यान दिनु जरुरी छ । किनकी बस्तु आयात वापत प्राप्त हुने राजस्वमा मात्रै भरपर्ने देशको आर्थिक समृद्धि कुनै पनि हालतमा संभव हुँदैन ।
प्रतिक्रिया