परियोजना सिकाइ आदानप्रदान तथा समापन कार्यक्रम

चन्द्रनिगाहपुर । आरम्भ परियोजना सिकाइ आदानप्रदान तथा समापन कार्यक्रम जिल्लाको चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ । आसमान नेपाल र सामााजिक संस्था जिल्ला समन्वय समितिको संयुक्त साझेदारी र युके एडको गल्र्स एजुकेसन च्यालेन्जको आर्थिक सहयोगमा तथा पिपुलइन निड नेपालको नेतृत्वमा रौतहट जिल्लाको १० पालिकामा काम गरेको हो ।

त्यस्तै बारा जिल्लाको १२ पालिका विद्यालय बाहिर रहेका किशोरीहरूको सिकाइ अभिवृद्धि तथा शिक्षाको मूलधारमा समावेश गर्नका लागि आरम्भ परियोजना केन्द्रित रहेको थियो ।

सन् २०१८ देखि सुरु भएको यो परियोजना सन् २०२३ को डिसेम्बरमा औपचारिक रूपमा सकिएको हो । तथापि केही समयका लागि परियोजना अभिलेखहरू संकलन, परियोजनाद्वारा गरिएका गतिविधिलाई सम्बन्धित पालिकालाई औपचारिक रूपमा हस्तान्तरण गर्ने तथा दीर्घकालीन रूपमासमेत लाभान्वित विद्यार्थीलाई पालिकाबाट सहयोग भइरहोस् भन्ने उद्देश्यले विभिन्न कार्यक्रम गरिरहेको छ ।

१० देखि १९ वर्ष उमेर समूहका विवाहित तथा अविवाहित विद्यालय बाहिर रहेका किशोरीमा गणितीय शिक्षामा पहुँच र साक्षरता वृद्वि साथै जीवनोपयोगी सीपको विकास गरी जीवनस्तरमा सुधार गर्ने उद्देश्य बोकेको छ परियोजनाले । पाँच वर्षको अवधिमा विद्यालय बाहिर रहेका किशोरीहरूको सामुदायिक सिकाइ केन्द्रमार्फत साक्षरता र गणित सीप विकास गर्ने एवं भविष्यका लागि जीवन योजना बनाउने, जीवन उपयोगी सीपमार्फत किशोरीहरूको नेतृत्व, सञ्चार आदि सीपका साथै यौन तथा प्रजनन स्वास्थ्य, बालविवाह, आदिबारे ज्ञान दिने, सिकाइ केन्द्रको कक्षापश्चात किशोरीहरूलाई विद्यालयमा भर्ना वा सीप सिक्नका लागि सहयोग गर्ने, विद्यार्थीलाई विद्यालयमा सिक्नका लागि अनुकूल वातावरण सिर्जना गर्ने, किशोरीलाई उमेर पुगेर मात्रै विवाह गर्न समुदाय र सम्बन्धित निकायलाई सकारात्मक सामाजिक मान्यताका लागि प्रोत्साहन गर्ने र सीप सिकेका किशोरीलाई व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण निर्माण गर्ने, आदि महत्वपूर्ण कामहरू गरेको छ ।

परियोजना अवधिभरमा ४ सय ६२ सिकाइ केन्द्रमार्फत ९ हजार ४ सय ९७ विद्यालय बाहिर रहेका किशोरीलाई गणितीय शिक्षामा पहुँच, साक्षरता वृद्वि र जीवन उपयोगी सीपको विकासमा प्रत्यक्ष सहयोग गरेको छ । भने यस अवधिसम्म ४ हजार ९ सय ८६ किशोरीलाई विद्यालय भर्ना गराउन र २ हजार ३ सय ४७ किशोरीलाई सिलाइकटाइ, हाते कडाइ, डल कुसन, अगरबत्ती, पशुपालन आदि विधामा सीप सिकाउन सफल भएको छ ।

यसै बीचमा परियोजनाले २ सय ५२ किशोरीहरूको अपांगता पहिचान गर्न र त्यसमध्ये ७७ जनालाई उपचारमा सहयोग गर्न सफल भएको छ । त्यसैगरी परियोजनाले बालिका तथा किशोरीलाई विद्यालय भर्ना गराउन सहजीकरण÷प्रोत्साहन, जीविकोपार्जनका लागि विभिन्न क्षमता अभिवृद्धि तालिममा ७ सय ७३ जना सहजकर्ता, २ सय ९० चेन्ज च्याम्पियन, २ सय ९६ मेन्टरको परिचालनसमेत गरेको थियो ।

परियोजनाले विद्यालयस्तरमा लैंगिक रूपान्तरण कार्यशालामार्फत ८ हजार ७ सय ५१ विद्यालयका किशोरकिशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्य, महिनावारी सरसफाइ तथा स्वास्थ्य, विद्यालयभित्र सुरक्षा, लैंगिक हिंसा, बालविवाह, नेतृत्व विकास आदि विषयमा सचेत बनाई विद्यालयमा समावेशी र सुरक्षित वातावरण तथा समुदायमा सकारात्मक परिवर्तनका लागि पहल गरेको थियो ।

यस परियोजनाले नेपाल सरकार शिक्षा तथा मानव स्रोत विभागको नेतृत्वमा रहेको बालिका तथा समावेशी शिक्षा सञ्जाललाई केन्द्र, प्रदेश र पालिका स्तरमा लागू गर्न पनि महत्वपूर्ण भूमिका खेल्दै मधेस प्रदेशका ६२ सहित देशभरका ८२ स्थानीय निकायमा सञ्जाल गठन गर्न सफल भइसकेको छ ।

प्रतिक्रिया