लघुवित्त बैंकप्रति सर्वसाधारणको आक्रोश बढ्दै

रौतहट । लघुवित्त बैंकहरूप्रति सर्वसाधारणको आक्रोश बढ्दै गएको छ । ऋण तिर्नलाई अनावश्यक दबाब दिन थालेपछि सर्वसाधारणको आक्रोश बढेको हो । खासगरी लघुवित्त बैंकहरूले किस्ता तिर्न टर्चर गर्ने गरेको स्थानीयको गुनासो छ । किस्ता लिन आउँदा बैंकका कर्मचारीहरूले गाली बेइज्जती गर्ने, घरमा ताल्चा लगाउने, गाईभैँसी खोलेर लग्नेजस्ता दुुःख दिन थालेको उनीहरूको गुनासो छ ।

लघुवित्त बैंकहरूप्रति आक्रोशकै परिणाम हो रौतहटको कटहरिया बजारको घटना । मंगलबार जिल्लाको चर्चित बजार कटहरियामा लघुवित्त बैंकहरूको कार्यालयमा झुन्डयाइएको ब्यानर च्यात्ने र तालाबन्दीसम्म गरेका छन् ।

सम्पूर्ण वित्तीय शोषण र उत्पीडनविरुद्ध किसान मजदुर मोर्चाका मान्छेहरूले लघुवित्त खारेज, लघुुवित्तको मनोमानी चल्दैन, किस्ता माग्न बन्द गर लगायत नाराबाजी गर्दै कटहरिया बजारमा रहेको लघुवित्त बैंकहरूको ब्यानर नै च्यातिदिएका छन् । मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति रौतहट र लघुुवित्त वित्तीय संस्थाविरुद्ध संघर्ष समिति रौतहटको आयोजनामा जम्मा भएका स्थानीयले लघुवित्तविरुद्ध प्रदर्शन गरेका छन् ।

उनीहरूले कटहरियामा रहेको सात लघुवित्त बैंकहरूको कार्यालयमा तालाबन्दी गरिदिएका छन् । कटहरियामा रहेको मेरो माइक्रोफाइनान्स, डिप्रोक्स बैंक, समता लघुवित्त बैंक लगायतका बैंकहरूमा तालाबन्दी गरे । पछि केही बैंकहरूले ताल्चा फुुटाइ काम थाले । लघुवित्त बैंकको कारण धेरै मान्छेहरूले आत्महत्या गर्न बाध्य भएको उनीहरूको आरोप थियो । बैंक कर्मचारीहरू किस्ता माग्नजादा गाली, बेइज्जती, दुव्र्यवहार गर्ने गरेको प्रर्दशनकारीहरूको भनाइरहेको थियो ।

प्रदर्शनकारीहरूको झुण्ड आउने खबरले लघुवित्त बैंकका कर्मचारीहरू कार्यालय नै बन्द गरेर फरार भएका थिए । प्रदर्शनको क्रममा सयौं स्थानीयको सहभागिता थियो । आखिर किन लघुवित्त बैंकहरूप्रति सर्वसाधारण जाइलागेका छन् ? सम्बन्धित निकायले यस विषयप्रति गम्भीर रूपमा सोच्नुपर्ने बेला आएको सर्वसाधारणको भनाइ छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया